Advertisement

मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेको चर्चा चलिरहँदा साना किसान विकास लघुवित्त वित्तीय संस्था २२औं वार्षिक साधारण सभाको तयारीमा छ । यो संस्थाले साना किसानहरुले उत्पादन गर्ने कृषि उपार्जनको क्षमता वृद्धिको काम गरिरहेको छ । यो संस्थालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवराम प्रसाद कोइरालाले विगत साढे ५ वर्षदेखी हाँकिरहेका छन् । संस्थालाई व्यस्थित तरिकाले अघि बढाइरहेका सीईओ कोइरालासँग कर्पोरेटनेपालका खेमराज श्रेष्ठले गरेको कुराकानीः 
 
बैंक तथा वित्तीय संस्थाहरु संकटमा देखिन्छन्, यहाँलाई के लाग्छ ? 
– पहिलो कुरा यो संकट आएको होइन, संकट ल्याइएको हो । कुनै व्यक्तिले कुनै समूहले आफ्ना निहीत स्वार्थ पूरा गर्नका लागि सृजना गरिएको संकट हो । संकट भनेको त विश्वमा आर्थिक मन्दी देखियो । यसबाट नेपाल पनि अछुतो रहन सकेन, नेपालका बैंक तथा वित्तीय संस्थाहरु पनि प्रभावित भए । विश्वव्यापी रुपमा ब्याजदर बृद्धि भएको छ । नेपाली बैंकहरुले पनि ब्याजदर बढाएका छन् । यो स्वाभाविक हो । १९९७ मा पनि समस्या आएको थियो । २००७÷८ पनि आएको हो । जुन बेला ठूला बैंकहरु कोल्याप्स भएका उदाहरण पनि छन् । अहिले पनि बैंक कोल्यप्सका समाचारहरु आइरहेका छन् । उतार चढाव हुने गर्दछ । सहकारी क्षेत्रमा लघुवित्त क्षेत्रमा जुन संकट देखिएको छ । यो संकट आएको होइन बनाइएको हो । के लघुवित्तको औचित्य छैन त ? कि त औचित्य छैन भन्नु पर्यो । छैन भनौं भने साना किसान लघुवित्तमा ११ लाख घरपरिवार आवद्ध छन् । ७९ प्रतिशत महिला छन् । ११ प्रतिशत दलित जनजाती जो बैंकिङ सेवाको पहुँचभन्दा बाहिरका छन् । जसको धितो राख्ने केही छैन । उनीहरुले वित्तीय साक्षरता प्राप्त गरेका छन् । हिजो एउटा गाई पाल्न नसक्नेले ६ वटा गाई पाल्छु भनेर ऋण लिएका छन् । यसपछि गोठ कसरी बनाउने भनेर प्राविधिक सहयोग लिएका छन् । आज एक कठ्ठामा तरकारी खेति गर्नेहरु ५ कठ्ठामा खेति गर्छु भनिरहेका छन् ।

कृषि सहकारी संस्थाहरु हाम्रो स्थानमा पनि बनाइदिनुहोस् भन्ने कुराहरु आइरहेका छन् । आखिर हाम्रो संस्थाले पनि लघुवित्तकै काम गरिरहेको छ । यसरी हामीले ग्रामीण अर्थतन्त्रको संरचनात्मक रुपान्तरणका लागि अर्थात सामाजिक र आर्थिक रुपान्तरणका लागि आज झन्डै ९० अर्ब रुपियाँ समुदायको ग्रास रुटमा प्रवाह गरिरहेका छौं । हामीले नेपाल सरकारबाट कृषि तरकारी खेती पशुपालनको लागि ल्याएको सहुलियत कर्जा प्रवाह गरेको कारणले आज दशैंको लागि चाहिने खसीबोका पर्याप्त उत्पादन गर्न सक्ने भएका छौं । सप्लाई गर्न सक्छौं भनेर हाम्रा किसानहरु तयार भएका छन् । अस्ति मात्रै महिला सहकारीका साथिहरु आउनु भएको थियो । उहाँहरुले भन्दै हुनुहुन्थ्यो हामीले दूध यति धेरै उत्पादन गर्यौं कि डीडीसीले किनिरहेको छैन । 

Advertisement

बाहिरबाट हेर्दा साना किसान सधैं साना नै भइरहे। बीचमा बसेर काम गरेकाहरु धेरै माथी पुगिसके । साना किसान चाही जहाँको त्यहि छन् । यस्तो किन भइरहेको छ ? 
- यहाँले बिचौलियाको कुरा उठाउनु भयो । मिडिल म्यानहरु सर्टेन केसमा राम्रै कामहरु पनि गरिरहेका छन् । तर उत्पादकले थोरै मूल्य पाउने र उपभोक्ताले धेरै मुल्य तिर्नुपर्ने । यसरी बीचमा बस्नेले धेरैलाभ उठाउने कुरा गर्नु भो । त्यहि भएर अहिले  हामीले समग्र देशभरी सेवा दिन त सकेका छैनौं । हाम्रो संजालभित्र जुन ११ लाख सानाकिसान परिवार छौं । उहाँहरुलाई हामीले के भन्यौं भने तपाईँहरुले उत्पादन मात्रै होइन त्यसको भ्यालु एड गर्ने र मूल्य श्रृंखलामै आवद्ध हुनुपर्छ । यसको उदाहरण हामी हेर्न सक्छौं । हाम्रा किसानहरुले हिजो चिया उत्पादन गर्थे डोकोमा लिएर कुनै प्राइभेट उद्योगमा लैजानु पर्ने थियो । समयमै उद्योगले नकिनिदिने चियाको पात सुक्ने । सुकेपछि एकदमै सस्तो मूल्यमा दिनेभए देउ नभए फेरी उठाएर लैजाउ भन्ने अनि किसानले आँखाबाट आँसु चुहाएर जति मूल्य पाउँछ । त्यतिमै फाल्नुपर्ने बाध्यता थियो । यसमा हामीले के गर्यौँ भने एशियाली विकास बैंक (एडीबी) बाट ऋण सहयोग ल्यायौं । नेपाल सरकारको यसमा सहयोग रह्यो । अब किसानले उत्पादन मात्रै गर्ने होइन । वस्तुलाई प्रशोधन पनि गर्ने भनेर प्रशोधन गर्ने मिल स्थापना गर्यौं । सहुलियत कर्जा उपलब्ध गरायौं । अहिले पहिले जस्तो प्रशोधन गर्न समस्या छैन । हिजो २५ रुपियाँ किलो पात नबिक्ने समस्या थियो । आज चिया बनाएर बेचिरहका छन् । 

संस्थाले पहिले उत्पादनमा मात्रै ध्यान दिने गरेको थियो । अहिले समग्र ‘चेन’मै ध्यान दिन थालेको हो ? 
–हामी चेनमै सुधार गर्न लागिरहेका छौं । बजारीकरणको कुरा गर्छौं । बजारीकरणको पुरै समस्या समाधान भएको छैन । यो साझेदारी सानाकिसान सहकारी केद्रीय संघसँग रहेको छ। बजारीकरणमा सहकार्य गरेका छौं । संघले उनीहरुले उत्पादन गरेको सामग्री काठमाडौं ल्याउने स्थानीय बजारहरुसम्म पुर्याउने काम गरिरहेको छ । 

हाल देखिरहेको वित्तीय संकट तपाईँको संस्था जोडिएका सहकारीहरुमा देखिएका छन् कि छैनन् ? 
–निश्चित रुपमा देखिन थालेको छ । छिमेकमा झगडा भयो भने, छिमेकमा आगो लाग्यो भने आफूमा पनि असर त पार्छ नै । यसैले समग्र अर्थतन्त्रमा परेको समस्याले हाम्रो सानाकिसान सहकारीहरु अछुत छैनन् । असर त पक्कै परिहाल्छ । एकदम राम्रा किसानहरु जो हामीसँग समय समयमा ऋणको किस्ता तिर्ने उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेका किसानहरु पनि फलानो छिमेकीले त अब अब ऋण तिर्न पर्दैन भन्याछन् अब हामी के गरौं ? भन्ने कुरा गर्न सुरु भएको छ । अब ऋणको किस्ता आउन ढिलो हुन थालिसकेको छ । समयमै तिर्नुपर्ने तर ढिलो तिर्न सुरु भएको छ । भाका नाघ्ने प्रवृति देखिएको छ । तर अरु क्षेत्रमा जसरी देखिएको छ । त्यति भयानक रुपमा त देखिएको छैन । किनभने हामीले बिना प्रयोजन ऋण दिएका छैनौं । उत्पादनमुलक क्षेत्रमै प्रयोग गर्नेगरी दिएका छौं । यसको अनुगमन र निरीक्षण पनि हामीले गरेका छौं । केही असर देखिए पनि अरु लघुवित्तमा परेको जस्तो असर देखिएको छैन । 

यो संस्था एउटा रोल मोडेल संस्थापनि हो, कृषिमा लगानी लगाउनुपर्छ । सस्तो ब्याजदरमा साना किसानले ऋण पाउनुपर्छ । २२ वर्षदेखी यहि क्षेत्रमा मात्रै फोकस गरिरहनु भएको छ । अरु बैंक तथा वित्तीय संस्थालाई पनि कृषि क्षेत्रमा लगानी सुरक्षित भन्ने आधार कसरी बनाउनु भएको छ ?  
– हामीले उत्प्रेरित गरिरहेका छौं । त्यो कसरी भन्दा कामले । किसानहरुले व्यावसायिक कृषि गर्छन् । हामीले ३२ सय जनालाई पढ्न पठायौं । उनीहरु फर्केर आए । उनीहरुले इजरायली प्रविधि अपनाएर व्यावसायिक रुपमा कृषि गरिरहेका छन् । त्यसरी व्यावसायिक रुपमा कृषि गरिरहेका उनीहरुलाई देखेर कृषिमा प्रविधि अपनायो भने यान्त्रिकरण गर्यो भने यसको उत्पादन र उत्पादकत्व बढ्दो रहेछ । हिजो थोरै जमिनमा खेति गर्नेले आज धेरै खेति गरिरहेका छन् । थोरै पशु पाल्नेले धेरै पशु पालिरहेका छन् । हामीले पनि किन नगर्ने । भनेर गरिरहेका छन् । यसमा अन्य बैंक तथा वित्तीय संस्थाले पनि सहयोग गरिरहेका छन् । यो पक्ष देखेर अरुले पनि लगानी गरिरहेका छन् । 

संस्थाको कार्यक्षेत्रलाई बढाएर नीतिगत सुधारमै असर पुग्ने खालको काम गर्न सकिन्छ कि सकिदैन ? जस्तो कृषि उत्पादनले बजार नपाउने, बाटो भरी तरकारी फालिरहेका देखेका छौं । विदेशी तरकारीले बजार पाउँदा स्वदेशी तरकारीले भाउ पाएन भन्ने छ । नेपाली कृषकको पक्षमा लविङ गर्न सकिदैन ?
– हामीले विगत देखी नै लविङ गरिरहेका छौं। हामीले लविङ गरिरहँदा सुनुवाई पनि नभएको भन्ने होइन । नेपाल सरकारले बर्षेनि बजेट विनियोजन नै गरेको छ । तर तरकारी खेती, पशुपालन दुग्धजन्य र मासुजन्य भनेर । पशुको बीमा गर्न केहि अनुदान दिएको छ । यद्यपी सो अनुदान पर्याप्त छैन। यस्तै सामाजिक र सामुदायिक विकास भनेर रकम छुट्याएको छ । यसले गर्दा वित्तीय साक्षरता र सिपमूलक तालिमहरु पनि सञ्चालन गरिरहेका छौं । नेपाल सरकारकै सहजीकरणबाट कृषि उद्योग, ग्रामीण उद्योग स्थापना गर्न सहुलित कर्जा प्राप्त गरेका छौं । हामीले ८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेका छौं । सेवा शुल्क लिने गरेका छैनौं । हामीले लविङ गरेका छौं । सबै समस्याहरु आजको भोलि समाधान हुँदैन विस्तारै सुधार हुँदै जानेछ । 

संस्थाको खराब कर्जाको अवस्था कस्तो रहेको छ ? 
– खराब कर्जा एकदम न्युन छ । हामीले वित्तीय संस्थाहरुलाई ऋण दिन्छौं । १ प्रतिशत भन्दा कम नै छ । अब चाँही असारसम्म पुग्दा अलिकति डाउट छ । यो अलिकति बढेर जान्छकि भन्ने लागेको छ। हाम्रो नियन्त्रण भन्दा बाहिर जाँदैन भन्ने लागेको छ। यो त मुलुकमा अर्थतन्त्रको असर कस्तो हुन्छ यसैमा निर्भर हुन्छ । साना किसानको समुदाय लेवलसम्म पुगेर सिकाउने, शिक्षा दिने ऋण लिएपछि तिर्नुपर्छ। यसको सहि सदुपयोग गर्नुपर्छ । साना किसानहरुले पनि यो बैंक यो वित्तीय संस्था हाम्रै हो । यो सहकारी हाम्रै हो । हामीले नै लगानी गरेर सानाकिसान वित्तीय संस्था बनेको छ । निष्कृय कर्जा केही बढ्ला तर नियन्त्रण बाहिर जान्न । 

राष्ट्र बैंकले लघुवित्तको नाफामा १५ प्रतिशतको क्याप लगाइदिएको छ, यसले संस्थालाई कस्तो असर पर्ला ? 
– राम्रो गर्यो राष्ट्र बैंकले । लघुवित्त भनेकै स्वाभाविक रुपले के हो भन्दा वित्तीय पहुँच नपुगेको वाणिज्य बैंकमा पहुँच पुग्न नसक्ने निरक्षर जो धितो राखेर कर्जा लिन सक्दैनन् । यस्ता व्यक्तिलाई हात समातेर विकासको मूल धारमा ल्याउन लघुवित्त खोलिएको हो । उनीहरुलाई म्यासिभ चार्ज गर्न लघुवित्त स्थापना भएका होइनन् । तर नाफा नै नकमाई दिगो बनाउन सकिंदैन । संस्था जन्मिएपछि पुस्तौँसम्म चल्न सक्नुपर्छ । यो ग्यान्टीका लागि नाफा आवश्यक छ । तर नाफालाई ध्यान दिइरहँदा सामाजिक पक्षलाई ध्यान दिनुपर्छ । 

अहिले देखिएको के छ भने लघुवित्तका लगानीकर्ता एकदमै खुशी, लगानीको प्रतिफल पनि धेरै आइरहेको छ । तर ऋणीहरु चाँही पीडामा किन नि
–सबै ऋणीहरु प्यानिक छैनन् । धैरै ऋणीहरु खुशी पनि छन् । कतैकतौ चाँही लघुवित्तमा काम गर्ने कर्मचारी, लगानीकर्ता, सीईओ, ऋणी सबैले आत्मसमीक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ। लघुवित्तले सोसियल अब्जेटिभलाई कहिले पनि इग्नोर गर्नु हुन्न । नाफा र सामाजिक उद्देश्यलाई म्याच गरेर अघि बढ्नुपर्छ । 

शेयर होल्डरलाई नाफा दिनु रिटर्न दिनु गलत होइन । राष्ट्र बैंकले क्यापिङ गरेको विषय गलत भन्न सकिदैन । त्यो रिटर्न पाउनुका लागि पनि शेयर होल्डरको अधिकारको कुरा हो । केहि लघुवित्त संस्थाहरुले चार्ज बढि लिएको, ब्याज क्यापिङ गरिएता पनि सेवा शुल्क बढी लिइएको कुराहरु आएको छ । त्यो चाहि गर्नु हुँदैन । ऋण लिनेले पनि आफ्नो क्षमता भन्दा धेरै लिनु हुँदैन । १५ वटा संस्थाबाट एकै व्यक्तिले ऋण लिएको भन्ने सुन्नु भएकै होलो । यो त ऋण लिनेले पनि सोच्नु पर्यो नि । मिनाहा भन्ने कुरा हुनै सक्दैन । लघुवित्त संस्थाले कहाँबाट ऋण लिएका छन् । वाणिज्य बैंकबाट लिएका छन् । वाणिज्य बैंकले कहाँबाट लिएका छन् पब्लिकबाट लिएका छन् । अब पब्लिकले भन्नु पर्यो कि म डिपोजिट लिन्न भनेर । 

राष्ट्र बैंकले यति भन्दा बढी ब्याजदर लिन नपाउने भनेर क्यापिङ गरेको छ, तपाइलाईँ यो लाग्दैन अटो क्यापिङ हुनुपर्छ ?
– राष्ट्र बैंकले नियमन मात्रै गरेको छ । नियमन गर्ने राष्ट्र बैंकको अधिकार पनि हो कर्तव्य पनि हो । केहि व्यक्तिहरु सडकमा आएका छन् । ३२–३३ लाखले लघुवित्तबाट सुविधा लिएका छन् । केहि मान्छेहरुले १४–१५ संस्थाबाट ऋण लिएका छन् । उनीहरु ऋण तिर्न नपर्ने भन्दै हिडेका छन् । हाम्रो सेवाहरु हेर्नुहुन्छ भने लघुवित्तले नेपालको अर्थतन्त्र रुपन्तरणका लागि प्रशंसनीय काम गरेको छ भन्ने मलाई लागेको छ । त्यसैले काम गर्दै जाँदा लघुवित्तले केहि त्रुटी गरेको हुनसक्छ । विस्तारै अटो क्यापिङ हुने दिनपनि आउन सक्छ । लिवरल इकनोमी पोलिसीमा सबै कन्ट्रोल गर्ने भन्ने कुरा आउँदैन । राष्ट्र बैंक भनेको वित्तीय स्थायित्व कायम गर्ने संस्था हो । अहिले अलिकति कन्ट्रोल गरेको जस्तो देखिएको हो । डिमाण्ड र सप्लाईको चेनले सबैलाई सन्तुलनमा ल्याइहाल्छ । 

लघुवित्तबीच वैरभाव राखेर एकले अर्कोलाई ओभरल्याप गर्ने भइरहेको देखिन्छ, अस्वस्थ प्रतिस्पर्धा धेरै नै बढेको हो ?  
– यो देखिएको छ। अहिले सबैले महसुस पनि गर्नु भएको छ । अहिले अर्थतन्त्रलाई चाहिने भन्दा बढी लघुवित्त भए कि ? वाणिज्य बैंकहरु पनि बढी भए कि ? त्यसैले कुनैबेला राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन पनि गरेको हो । लघुवित्त संस्थाहरु पनि एक सयका हाराहारीमा रहेका थिए । अहिले ६४ को हाराहारीमा आइसकेका छन् । अब मलाई लाग्छ राष्ट्र बैंकले मर्जर गरेर अझै कम होस् भन्ने चाहिरहेको छ । यो सबै किन गरेको भन्दा इकोनोमीलाई चाहिने भन्दा धेरै संस्था भयो । एकै व्यक्तिलाई सेवा दिन धेरै लघुवित्त पुगे । मान्छेहरु पनि धेरै पैसा पाउने प्रलोभनमा परेर ऋण लिन हौसिए । यसले ऋण लिने र दिने दुबै बिग्रिन सुरु गरे । यसले मर्जरलाई प्रोत्साहन गरिरहेको छ । कर्मचारीहरुलाई दण्डित गर्ने अस्वभनीय काम भएको छ । लघुवित्तले गरेको असल कामलाई पनि ओझेलमा पार्न खोजिएको छ । सबैभन्दा ठूलो विषय वित्तीय क्षेत्रमा पहुँच छ कि छैन सो कुरा महत्वपुर्ण हुन्छ । यसरी लिएको रकम सहि क्षेत्रमा प्रयोग भएको छ कि छैन भन्ने कुरा महत्वपुर्ण विषय हो । लघुवित्तले गलत गर्यो भन्ने विषय सोर्है आना गलत हो । 

यहाँको संस्थाको मर्जर प्रकृया कति अघि बढ्यो कहिलेसम्म टुङगिन्छ ?
– मर्जर प्रकृया अघि बढिरहेको छ । राष्ट्र बैंकसँग पनि हामी नियमित छलफलमा छौं । २०८० बैशाख महिनासम्ममा एकिकृत कारोबार पनि होला । हाम्रो नियमित काम अघि बढिरहेको छ। मर्जर प्रकृया सहि ढंगबाटै अघि बढिरहेको छ । 

मर्जरपछि  संस्थाको योजना के छ ?
झन् ठूलो योजना बनाइरहेका छौं । अब मर्जर गर्ने विशिष्टिकृत क्षेत्र भनेको कृषि क्षेत्र हो । कृषिमा अझ बढी फोकस गरेर जाने । दुई संस्था मिलेपछि सिनर्जी इफेक्ट २ प्लस २.५  भने जस्तै ल्यान्डिङमा सानाकिसान नम्बर वान । पुँजिको हिसाबले व्यावसायको हिसाबले २ नम्बरको आरएमडीसी नै हो । यसकारण १ र २ मिलेपछि  ३ होइन ४ होला भन्ने मलाई लागेको छ । चुक्ता पूँजि नै हाम्रो साढे ३ अर्बको हुनेछ । पूँजि कोष साढे सात अर्ब भन्दा माथिको हुनेछ। अहिले हामीले ११ लाख परिवारमा सेवा दिइरहेका छौं । अबको सात आठ वर्षमा यो सेवालाई २० लाख हाराहारीमा विस्तार गर्छौं । एउटा सुदृढ र सबल संस्था बन्छौं । कृषि क्षेत्रमा लिडिङ संस्थाको रुपमा काम गर्छौं ।

इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने काम भैरहेको छ । यसको प्रडक्टीभीटी कत्तिको रहेको छ  ? 
– धेरै नै प्रडक्टीभिटी देखिएको छ । इजरायली प्रविधि अपनाएका छन्। १० देखी १२ महिना बस्दा लर्न एण्ड अर्न कार्यक्रम हो । अर्न भन्दापनि लर्न गरेको कुराले महत्व राख्छ । यसरी फर्किएकाहरुले थोरै जमिनमा धेरै फलाइरहेका छन् । सिकेर आएकाहरुबाट २ गुणासम्म बढी प्रोडक्टीभिटी देखिएको छ । यसको अर्को राम्रो पक्ष के छ भन्दा सिकेर आएका व्यक्तिको ज्ञान शिप अर्को व्यक्तिमा समेत हस्तान्तरण भएको छ । 

अहिले यो कार्यक्रम रोकिएको हो ?
कोभिड पछि केहि प्राविधिक समस्या आइरहेका छन् । तर हामी निरन्तर सम्पर्कमा छौं । आशा गरौं यो निरन्तर हुनेछ । 

यस्तै कार्यक्रम अरु देशसँग पनि सञ्चालन गर्न सकिएला ?
हामीले प्रयास गरिरहेका छौं । यो सहज विषय भने होइन । 

अहिले बैंक वित्तीय संस्था र लघुवित्तरुहरु बिरुद्ध केही व्यक्तिहरु सडकमा आइरहेका छन् । यी व्यक्तिहरुको गतिविधिलाई के भन्न चाहानु हुन्छ ? 
– यसको जसले नेतृत्व गरिरहनु भएको छ । उहाँहरुले सहि बाटो समात्नु भएको छैन । उहाँहरुले गरिबलाई झन गरिब बनाउने लाइनमा लागिरहनु भएको छ । विपन्नलाई कसैले पत्याउँदैन थियो । तर उनीहरुले १० हजार २० हजार भएपनि रकम लिन पाउनु भएको छ । एउटा सामान्य उद्योग गर्न पाउनु भएको छ । यसको विरुद्ध जसले आन्दोलन गरिरहनु भएको छ । यसलाई ठिक भन्नै सकिदैंन । हाम्रो सबैभन्दा ठूलो सत्रु भनेको गरिबी हो । यो सबै मिलेर परास्त गर्नु पर्नेमा लघुवित्तले यसो गर्यो उसो गर्यो भन्नु गलत हो । केहि संस्थाले सेवा शुल्क चर्को लिएको छ भने त्यसलाई हेर्ने राष्ट्र बैंक छ । यस्ता किसिमका गतिविधिमा नलाग्न म सबैलाई आग्रह गर्दछु । 

केही समय अघि सानाकिसाको केहि ऋण मिनाहा समेत गरिएको थियो नि होइन् ? 
साना किसानबाट लगानी भएको ऋण मिनाहा भएकै हो । मलाई लाग्छ अब यो आउनेवाला छैन । साना सहकारीहरुमा नजिकैको स्थानियको बचत रहेको हुन्छ । धेरैले बचत राखेका हुन्छन् । थोरैले ऋण लिएका हुन्छन्।  यस्तो रकम कसरी मिनाहा हुन् सक्छ । अब मिनाहाको कुनै सम्भावना देख्दिन भ्रममा नपर्न आग्रह समेत गर्न चाहान्छु ।  

सहकारी बिरुद्धका गुनासाहरु सुनिन थालेका छन् नि ? 
– हामी कहाँ त्यस्तो गुनासो छैन । हामीले बाग्मति प्रदेश सरकारसँग समन्वय गरेर तीन प्रतिशतमा कृषि पशुपालनका लागि ऋण दिइरहेका छौं । नेपाल सरकारसँग सहकार्य गरेर ९ प्रतिशतमा दिइरहेका छौं । एडीबीको सहकार्यमा ९ प्रतिशत ब्याजमा नबढ्ने गरी भनेर कृषि उद्योग स्थापना गर्न ऋण दिएका छौं । सेवा शुल्क लिने गरेका छैनौं । साना किसान परिवारमा मैले कुनै गुनासो सुन्न परेको छैन । गुनासो सुन्न पर्ला जस्तो पनि लाग्दैन ।

संस्थाको आफ्नै कर्पोरेट विल्डिङ बनाउने योजना छ कि छैन ? 
– हाम्रो धेरै भन्दा धेरै सानाकिसान परिवारमा पुग्ने लक्ष्य छ । सानाकिसान सहकारी संस्था स्थापना भइदिए हुन्थ्यो भन्ने चाहाना राख्ने धेरै स्थान छन् । त्यसकारण पूँजी बिल्डिङमा लगाउनु पैसा ब्लक गर्नु हो । देख्दा सुन्दा त राम्रो लाग्ला । हामीलाई पनि रहर चाँही छ । तर एकै पटक २०-२५ करोड पैसा विल्डिङमा लगानी गर्ने योजना छैन ।  

Advertisement

Advertisement