एशियन लाइफको पुँजी पुर्याउन शेयर दिने भए अभिकर्ताहरु किन्न तयार छन्ः पूर्वअध्यक्ष तिवारी

Advertisement

काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका पूर्वअध्यक्ष नन्द तिवारीले एशियन लाइफ इन्स्योरेन्सको शेयर किन्न बीमा अभिकर्ताहरु तयार रहेको बताएका छन् । 

पुँजी पुर्याउन नसकेर नैतिक संकटमा परेको उक्त कम्पनीको शेयर किनेर पुँजी पुर्याउन सहयोग गर्न अभिकर्ताहरु तयार रहेको उनले कर्पोरेट नेपालसँग बताए । यसरी शेयर दिँदा लामो समयदेखि कम्पनीका लागि काम गर्दै आएका अभिकर्तामा आफ्नो महशुस हुने र काम पनि नजितामुखी हुने तिवारीको तर्क छ । 

Advertisement

अभिकर्ता पेशामा लामो समयदेखि आवद्ध तिवारीले अहिले हरेक क्षेत्रका स्थानीय र सरोबारवालालाई शेयर स्वामित्व दिने चलन बढेको उदाहरण दिए । उनले बीमा कम्पनीहरुले पनि आफ्ना अभिकर्तालाई शेयर दिनु न्यायसंगत हुने बताए । 

एशियन लाइफले नेपाल बीमा प्राधिकरणले तोकेअनुसार पुँजी पुर्याउन न हकप्रद शेयर जारी गर्न लागेको छ, न मर्जरमा जाने खाजेको छ । चैतभित्रै सबै जीवन बीमा कम्पनीले पाँच अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने भए पनि एशियन लाइफले त्यस्तो पुँजी पुर्याउनसक्ने संभावना नदेखिएको बेला अभिकर्ताहरु आफूहरु शेयर हाल्न तयार रहेको बताएका हुन् । 
 
तिवारीले एशियन लाइफ शेयर किनेर कम्पनीलाई सहयोग गर्ने अभिकर्ताहरु तयार रहेको बताउँदै त्यसका लागि प्राधिकरण र कम्पनी तयार हुनुपर्ने प्रस्ताव गरे । उनले भने, ‘उन्नाइसौं शताब्दीदेखि युरोपले आम सर्वसाधारणलाई शेयर दिने चलन ल्याएको हो । त्यस्तो चलनमा मजदुरहरुलाई पनि कम्पनीको केही हिस्सा शेयर दिनुपर्छ भन्ने मान्यता छ । उक्त अवधारणा नेपालमा पनि आईपुगेको छ । नेपालमा कम्पनीका कर्मचारीहरुको हकमा शेयर दिने चलन सुरु भए पनि अभिकर्ताको हकमा भने त्यस्तो अझै हुन सकेन् । हामी चाहान्छौं एशियन लाइफबाट त्यो कुराको सुरुवात होस् ।’ 

अभिकर्ता नभई कम्पनी चल्दैन भनेर सबै जीवन बीमा कम्पनीहरुले भन्दै आएको कुरा हो भन्दै तिवारीले यदि अभिकर्ताको महत्व सबैलाई थाहा छ भने शेयर दिन चाहिं किन कन्जुस्याइँ गर्नुपर्यो ? भने । आफूहरुको अगाडी प्राधिकरण र बीमा कम्पनी उच्च नेतृत्वले जीवन बीमाका लागि अभिकर्ता मेरुदण्ड हो भन्ने गरेको उनले सुनाए । तिवारीले थपे, ‘भन्ने बेलामा अभिकर्ता सबैथोक हो जस्तो गर्ने । हेर्ने दृष्टिकोण भने कहिल्यै सुध्रिएन् । हामी चाहान्छौं त्यो कुराको सुरुवात एशियन लाइफबाट होस् ।’ 

चाहे अभिकर्ताले कुनै कम्पनीमा काम गरोस् वा छोडोस्, एकचोटी बीमा गराएपछि उसले बीमितलाई दिने सेवा निरन्तर दिइरहनुपर्ने हुन्छ भन्दै पूर्वअध्यक्ष तिवारीले यो हिसावले गर्दा कुनै पनि अभिकर्ता कुनै पनि कम्पनीको   स्थायी कर्मचारीभन्दा कम नहुने तर्क गरे । यही आधारमा आफूहरुले बीमा कम्पनीको शेयरको दावी गरेको उनले बताए । 

तिवारीले धेरै कम्पनीहरु मर्जरमा गएर तोकिएको चुक्ता पुँजी पुर्याइरहेको बेलामा अभिकर्ताहरुलाई सकेको लगानी गर भन्दा कम्पनीको पुँजी थपिने र अभिकर्ताहरुलाई कम्पनीप्रति अपनत्व बढ्ने बताए । 

तर तिवारीले बीमा कम्पनीको शेयर घटे पनि बढे पनि अभिकर्ताहरुले दोस्रो बजारको दाममा शेयर नकिन्ने स्पष्ट पारे । अहिले बीमा कम्पनीहरुको शेयरको मूल्यमा भारी गिरावट हुनुका साथै पुँजीगत लाभमा पनि गिरावट आएको छ । 

उनले आफूहरुले फ्रेस भ्यालु (प्राथमिक मूल्य)का हिसाबले शेयर खरिद गर्न चाहेको बताए । बीमा कम्पनीका संचालकहरुले मोटो रकम लगानी गरे जस्तै आफूले पनि कम्पनीकै लागि लामो समयसम्म धेरै परिश्रम गर्दै आएको तिवारीले बताए । उनले आफूहरुले प्रतिकित्ता सय रुपियाँमा शेयर किन्ने अभिकर्तालाई चाहिं प्रिमियम मूल्यमा बिक्री गर्नुपर्छ भन्ने सोच कसैले पनि राख्न नहुने बताए। 

पूर्वअध्यक्ष तिवारीले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को उदाहरण दिँदै उक्त कम्पनीमा सय रुपियाँको शेयर कम्पनीले आफ्ना कर्मचारीलाई प्रतिकित्ता ९० रुपियाँमा बिक्री गरेको बताए । अभिकर्ताहरुलाई शेयर दिने विषयलाई निकै असम्भव ठान्ने र सानो चित्तले हेर्ने कुरा उचित होइन् भन्दै उनले एशियन लाइफले बेच्न चाहेमा आफूहरुले तत्कालै शेयर खरिद गर्न तयार रहेको बताए । 


यता बीमा प्राधिकरणका एक कर्मचारीले चैत मसान्तसम्म पुँजी योजना तयार गर्ने समय रहेको बताउँदै प्राधिकरणले तोकेअनुसारको हकप्रद शेयर निष्काशन गर्दा पनि एशियन लाइफको चुक्ता पुँजी पुग्ने अवस्था नरहेको अवस्थामा अभिकर्ताहरुको प्रस्तावको विषयमा छलफल र निर्णय नभई कही भन्न नसकिने बताए । अभिकर्ताहरुका लागि मात्रै भनेर शेयर बिक्री गर्नका लागि कानुनी व्यवस्था नै गर्नुपर्ने भएकाले यो प्रक्रियाका लागि समय लाग्नसक्ने उनको भनाई छ । 

Advertisement