गाइड लिएर मात्रै पदयात्रामा जानुपर्ने पर्यटन बोर्डको निर्णय खुम्बु गाउँपालिकाले नमान्ने

Advertisement

काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पदयात्रीहरुले ‘सोलो ट्रेकिङ’ (एक जना मात्रै पदयात्रा) गर्न पाउने र ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । 

नेपाल पर्यटन बोर्डको निर्णयलाई चुनौति दिँदै उक्त गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले एक्लै पनि पदयात्रा गर्न पाइने बताएका हुन् । बोर्डले आगामी अप्रिल १ तारिखदेखि देशैभर लागू हुनेगरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको छ । 

Advertisement

बोर्डले यो निर्णय सबै पदयात्रा गन्तब्यमा अनिवार्य लागू हुने बताए पनि आफ्नो गाउँपालिकाभित्र भने लागू नहुने सो गाउँपालिकाका अध्यक्ष शेर्पाले बताएका हुन् । बोर्डले गरेको निर्णयप्रति असहमति जनाउँदै उनले सबै सरोकारवालासँग छलफल र तयारी बिना नै निर्णय गरिएको आरोप लगाए । 

एक जना मात्रै पदयात्रा गर्दा पर्यटकहरु दुर्घटनामा पर्ने, हराउने, उद्दारमा समस्या हुने जस्ता बढेपछि अनिवार्यरुपमा गाइड लैजानुपर्ने व्यवस्था गरेको हो । तर शेर्पाले भने आफूहरुसँग छलफल नगरी निर्णय गरेकाले नमान्ने बताए । उनले भने, ‘कम्तीमा सरोकारवालासँग बसेर छलफल गरेर र तयारीका साथ गर्ने हो । जसका कारण पर्यटकहरुमा अन्योल बढेको छ ।’ 

अध्यक्ष शेर्पाले यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई भेटेर समेत लिखितरुपमा असहमति जनाएको बताए । बोर्डले पूर्वतयारी नगरी  र सबै सरोकारवालासँग छलफल  नगरी  निर्णय गरिएकोले मन्त्री किरातीको ध्यानाकषर्ण गराएको बताए । बोर्डले भने एक जना मात्रै पदयात्रा गर्न नदिने स्पष्ट पारेको बेला सगरमाथा क्षेत्रमा नै जाने गाइडसहितका पर्यटकलाई गाउँपालिकाले अर्को समस्या सिर्जना गर्नसक्ने देखिएको छ । 

शेर्पाले थपे, ‘खुम्बुको हकमा हामीले पदयात्रामा जाने पर्यटकहरु र अन्य पर्यटकहरुको सुरक्षालाई ध्यानमा राखी ‘टे«क कार्ड’ लागू गरेका छौं । ट्रेक कार्ड अहिले परीक्षणको चरणमा भए पनि यसलाई अबको दिनमा व्यस्थित गरेर लैजाने छौं ।’ 

यद्यपि खुम्बु क्षेत्रभित्र धेरै उचाइमा गर्ने पदयात्रामा भने आफ्नो सुरक्षाका लागि लाइड लैजान आफूहरुले सुझाव दिने गरेको उनले बताए । यद्यपि यो पनि अनिवार्य नभएको शेर्पाको भनाई छ । 

उनको तर्क छ, ‘अनिवार्य गाइड लिएर पदयात्रामा जानुपर्ने भन्यो र भोलि लुक्लामा गाइड पाइएन भने यसको जिम्मा कसले लिने ? बोर्डले गाइडहरुलाई न्यूनतम् तालिमको व्यवस्था मिलाएको छैन् । गाइडहरु उत्पादन गर्न केही गरेको छैन् । हतारमा निर्णय गरेर मात्र हुन्छ ?’ 

ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) र पर्यटन श्रमिकबीच सहमति भए दबाब दिइएपछि बोर्डले बाध्य भएर यस्तो निर्णय गरेको हो । बोर्डको सो निर्णयपछि नेपाल घुम्न आउने विदेशी पर्यटकहरू अब कम्पनीमार्फत मात्र पदयात्रामा जानुपर्ने भएको छ । 

साथै बोर्डले बिक्री गर्दै आएको टिम्स कार्डको शुल्कमा वृद्धि गरिएको छ । सार्क देशका पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा छ सय रुपियाँ तिर्दै आएको शूल्कमा वृद्धि गरेर एक हजार रुपियाँ बनाइएको छ । सार्क बाहेकका पर्यटकले व्यक्तिगत रूपमा घुम्न नेपाल आउँदा टिम्स शुल्क बापत दुई हजार तिर्नुपर्नेछ भएको छ ।

Advertisement

Advertisement