‘अनलाइन बेटिङ’को कमिसन पनि परीक्षण गरिने

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

Advertisement

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो।

सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ मा मात्रै १५ अर्ब ६६ करोडको व्यापार गरेको विवरण पेश गरेको थियो । कम्पनीले पेश गरेको विवरणमा आन्तरिक राजस्व विभागलाई शंका लागेपछि फुल अडिट गर्न कार्यालयलाई भनेको हो । 

Advertisement

विभाग स्रोतले भन्यो ‘कम्पनीले शंकास्पद गतिविधि गरी नाफा कमाएको सूचना पाएका छौं । कम्पनीले पेश गरेको विवरणमा आम्दानी शीर्षक नै तोकेर परीक्षण गर्न ठूला करदातालाई निर्देशन दिएका छौं ।’

एफवान सफ्टअन्तर्गत डिजिटल वालेट ई–सेवाले प्रतिबन्धित जुवा खेलाउन कम्पनी वान एक्स बेटको आधिकारिक एजेन्सी लिएको छ । सरकारको कमजोर नियमनको फाइदा उठाएर ई–सेवाले वान एक्स बेटलाई आफ्नो सूचना तथा तथ्यांक तथा सिस्टम बेटिङ कम्पनीलाई बिक्री गरेको छ।

एफवान सफ्टको आम्दानीको ठूलो हिस्सा नै वान एक्स बेटिङको कमिशन भएको शंका गरिएको छ । यद्यपी ठूला करदाता कार्यालयले कम्पनीको वासलात पूर्ण परीक्षण गरेपछि मात्रै यो विषय पुष्टी हुने विभागको भनाई छ । 

विभाग स्रोतले भन्यो, ‘हामीले हेर्ने भनेको करको विषय हो । यदि कुनै जुवा खेल्ने खेलाडीले धेरै रकम जितेर अग्रिम कर कट्टि (इटीडीएस) गरेको छैन् भने कम्पनीलाई पुनः कर निर्धारण गरिनेछ ।’

एफवान सफ्ट बैंक तथा वित्तिय क्षेत्रमा धेरै कारोबार गर्ने कम्पनीमा १४औं नम्बरमा पर्दछ । यो कम्पनीको अध्यक्ष विश्वास ढकाल हुन । एफवान सफ्टको कारोबार ठूलो र विस्तार हुँदै गएपछि अहिले उनी दुवई सिंगापुरबाटै नेपालको व्यवसाय हेर्न थालेका छन् । अधिकां समय विदेश बस्ने कुराबाट उनीमाथि धेरै आशंका बढ्न थालेको छ । 

एफवान सफ्टका सहायक कम्पनीहरु नौ वटा छन्, जसमा ई–सेवा, फोन–पे, कोग्नेथ हेल्थ, दियालो टेक्नोलोजी, दर्शन टेक, ई–सेवा मनि ट्रान्सफर, एक्सटेन्सो डाटा, लोजिका बिन्स, स्वस्तिक कलेज छन् । कम्पनीको सबैभन्दा सफल विजनेश ई–सेवा हो । पहिलो डिजिटल वालेट ई–सेवासँग पछि आएका कम्पनीहरुलाई प्रतिस्पर्धा गर्न मुस्किल भइरहेको छ । विद्युतीय भुक्तानी क्षेत्रको ठूलो बजार उसले ओगट्दै आएको छ । व्यवसाय विस्तार भएको फाइदा उठाउँदै अवैध जुवा खेलाउन थालेपछि उक्त कम्पनीमाथि निगरानी बढाउन थालिएको हो । 

यसरी खेलाइरहेको छ ई–सेवाले जुवा
ई–सेवाले नेपालमा प्रतिबन्धित अवैध वान एक्स बेटसँग गोप्य सम्झौता गरेको छ । उसले यस्तो सम्झौता गरी आफ्नो तथ्यांक अवैध कम्पनी वान एक्स बेटिङलाई प्रयोग प्रयोग गर्न दिएको छ । नेपालमा आधिकारिक एजेन्टको रुपमा रहेको ई–सेवाले बेटिङ कम्पनीबाट मोटो कमिशन लिने गरेको छ ।

मोबाइल एप वान एक्सभित्र ई–सेवाको रंगमा वालेट लेखिएको छ । सो क्लिक गर्दा ई–सेवा नै खुल्छ । यसरी जुवा खेल्नका लागि पैसा झिक्न र राख्नका लागि ई–सेवाले एजेन्टको रुपमा काम गर्छ । ई–सेवाका प्रतिनिधिले आफ्नो कम्पनीले वान एक्स बेट खेलाउने गरेको कर्पोरेट नेपालसँग स्वीकार गरेका छन् । 

उनले भने, ‘बेटिङमा ई–सेवा मात्रै होइन खल्ती, आईएमई पे लगायत समेत संलग्न छन्, ।’ यो कम्पनीमा नाम चलेको एक मिडियाका सञ्चालकको समेत लगानी छ । ई–सेवाको व्यवस्थापन सोही मिडिया सम्हाल्दै आएको छ । मिडिया सञ्चालकको लगानी रहेकै कारण ई–सेवाको अवैध बेटिङलाई सरकारी निकायहरुले पनि आँखा चिम्लिदिएको देखिन्छ । 

Advertisement

Advertisement