नेपाल टेलिकमले स्मार्ट मिटरमा प्रयोग गर्न प्राधिकरणलाई ई-सिम उपलब्ध गराउने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । सोही ई सिम सम्बन्धि दुई संस्थाहरुले बिहीबार सम्झौता सम्पन्न गरेका हुन् ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका छन् । सोही अवसरमा टेलिकमकी प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् । 

Advertisement

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका निर्देशक घिमिरेले पनि पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने बताए । 

हाल नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । उक्त मिटर प्रयोग गर्दा कार्यालयबाटै विद्युत खपतका बारेमा जानकारी लिन सकिन्छ । साथै, सय एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 
 

Advertisement

Advertisement