कर्पोरेट नेपालद्धारा बार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई रु. ५० हजार सहयोग

Advertisement

काठमाडौं । कर्पोरेट नेपाल डटकम (बिजकेयर नेपाल प्रा.लि.)ले आफ्नो नवौं बार्षिकोत्वको अवसरमा मानवसेवा आश्रमलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ । 

यस संस्थाले विगतदेखि नै आफ्नो हरेक बार्षिकोत्सवमा परोपकारी संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा यस बर्ष मानवसेवा आश्रमलाई सहयोग गरेको हो । कर्पोरेट नेपालका सम्पादक सीताराम विलासीले मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सोमबार सहयोग रकमको चेक हस्तान्तरण गरे । 

Advertisement

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थलहरुमा कष्टपुर्ण, दयनीय जीवनयापन गर्न बाध्य बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर सयौं मानिसहरुलाई आश्रय प्रदान गर्दै ठूलो मानवीय सहयोग गर्दै आएको छ । 

वि.सं. २०६९ भाद्र १३ गते यस्ता सहयोगापेक्षीहरुलाई उद्धार गर्ने, उपचार गर्ने, पारिवारिक पुनर्मिलन गर्ने र पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन गर्दै आएको यो संस्थालाई अहिले सरकार तथा गैरसरकारी विभिन्न क्षेत्रबाट समेत सहयोग गर्दै आएको छ । हेटौंडामा मुख्य कार्यालय रहेको यस संस्थालाई अहिलेको अवस्थामा ल्याउन अधिकारीको ठूलो भूमिका रहेको छ । 

उनले विशेषगरी सडकपेटी र सार्वजनिक स्थलमा कसैले पनि भोकै नांगै बेसहारा भएर नाथैनाथ (पशुपतिनाथ, मुक्तिनाथ, मच्छिन्द्रनाथ, गोरखनाथ, स्वयम्भूनाथ)ले बास गरेको देशमा बस्नुनपरोस्, यसलाई अन्त्य गर्नुपर्छ भनेर १० बर्षअघि मानवसेवा आश्रम सुरु भएको बताए । 

उनले यो मानवता प्रवर्द्धन अभियान १९ वटा जिल्लामा २३ वटा सेवा केन्द्र सञ्चालनमा रहेको बताए । अधिकारीले यी सेवा केन्द्रमा करिव एक हजार छ सय सहयोगापेक्षीहरु बालबालिकादेखि आमाबुबाहरु रहेको बताए । उनले यीमध्ये एक हजार जनि मानसिक स्वास्थ्य समस्या भएका, १५२ जना बालबालिका सहयोगापेक्षीहरु रहेको जानकारी दिए । 

अधिकारीले २०८२ सालभित्र कसैले पनि अनाथ भएर बस्नुनपर्ने अवस्था निर्माण गर्ने संकल्पका साथ आश्रमले आफ्ना सेवा कार्य र पूर्वाधार तयार गर्ने काम गरिरहेको बताए । उनले अहिले १६ वटा जिल्लामा आफ्नै भवन निर्माणको काम भइरहेको बताए । अधिकारीले कुनै पनि वैदेशिक दाताको शर्तसहितको सहयोग आफूहरुले स्वीकार गर्नेनगरेको बताउँदै समाजसेवाको परिभाषा पनि परिवर्तन गर्नुपर्छ भन्ने संकल्प राखेर आफूहरुले काम गरिरहेको बताए । 

अध्यक्ष अधिकारीले सरकार र परोपकारी मन भएका व्यक्ति तथा संस्थाहरुले बार्षिकोत्सव, जन्मदिन, पितृकार्य, विवाह बर्षगाँठ जस्ता दिनमा  कसैले आर्थिक सहयोग गर्ने, कसैले भोजन गराउने गरेको बताए बताउँदै कर्पोरेट नेपालले गरेको सहयोगप्रति आभार प्रकट गरे । 
 

Advertisement

Advertisement