कृतिम खुट्टाको भरमा सगरमाथाको आरोहण गरेर रेकर्ड बनाउन हरि बुढामगर सफल

Advertisement

काठमाडौं । कृतिम खुट्टाको भरमा भूतपूर्व गोरखा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

उनी कृतिम खुट्टाको भरमा सगरमाथाको आरोहण गर्ने पहिलो व्यक्ति बन्दै विश्व रेकर्ड पनि कायम गरेका छन्् । बुढामगरले आफू शुक्रबार (हिजो) दिउँसो ३ बजेर १० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको बुढामगरले कर्पोरेट नेपाललाई जानकारी दिए । 

Advertisement

अहिले उनी सुरक्षित आधार शिविर फर्किएका छन् । बुढामगरले पाँच वर्षको पर्खाइपछि सगरमाथाको आरोहण गर्ने सपना पूरा गरेका हुन् । उनले भने, ‘मलाई निकै खुःशी लागेको छ । सगरमाथाको आरोहण गनु निकै अफ्ठायारो भयो । म इमोशनल पनि भए चुचुरोमा पुग्दा ।’ 

बुढामगरले आफ्नो सगरमाथाको सफल आरोहणमा शेर्पा दाईभाईलाई क्रेडिट दिन चाहान्छु भने । सगरमाथा शिखरमा पुग्दा रेकर्ड कायम भएको बताउँदै उनले यसले फरक क्षमता मानिसहरुलाई हेर्ने नजरमा परिवर्तन गर्ने आशा व्यक्त गरे । 

आफूले यस आरोहणले सारा नेपालीलाई विशेषगरी, अपांगता भएकाहरुलाई खुशी दिने बुढामगरको बताए । उनले थपे, ‘शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोहीभन्दा कमजोर हुँदैनन् भन्ने आत्मविश्वास जगाउनका लागि यो आरोहण उदाहरण बन्नसक्छ ।’ 

यसअघि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगी कीर्तिमान कायम गरेका थिए । अफगानिस्तानको लडाइँमा दुवै घुँडाभन्दा माथिसम्म खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि गरेका थिए । 

बुढामगरले हालै मोरक्कोमा रहेको उत्तर अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४,१६७ मिटर)को सफलतापूर्वक आरोहण गरेका थिए । हेलिकप्टरबाट स्काइड्राइभिङ पनि गरेका बुढामगरले पाराग्लाइडिङसहित कुश्मास्थित विश्वको दोस्रो अग्लो वन्जिजम्प र विश्कै अग्लो स्विङसमेत गरेका छन् । 

साथै, उनले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । बुढामगरले २०१७ मा मेरा पिक आरोहण गरी छ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथिको ‘डबल एम्प्युटि’ गर्ने व्यक्ति बनेका थिए ।
 

Advertisement

Advertisement