मोवाइलको ब्याट्री सक्किएर सगरमाथा चुचुरोमा फोटो खिच्न नपाएकोमा बुढामगर चिन्तित

Advertisement

काठमाडौं । कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगरले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदोरहेछ ? भन्ने कुरा सगरमाथा चढ्दा आफूले अनुभव गरेको बताएका छन्  

आरोहण सकेर मंगलबार काठमाडौं फर्किएका उनले पत्रकार सम्मेलन गर्दै आफ्नो अनुभव सुनाएका हुन् । बुढामगरले सगरमाथा चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट हिमालहरु हेर्ने सपना मौसमको कारण सफल हुन नसकेको बताए । 

Advertisement

बुढामगरले सगरमाथा चढ्दा अक्सिजन सक्किएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको सुनाए । उनले भने, ‘मेरो दुवै खुट्टा (घुँडाभन्दा माथिसम्म) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको सोच आयो । पछि फेरि सगरमाथा चढ्ने आँट आयो । पहिला त दुई–तीन पटक गाह्रो भएर बीचबाटै फर्किने कि जस्तो भएको थियो । पछि साथीहरुले पनि हरेस खान हुन्न भनेर सम्झायो । मलाई पनि आँट आयो ।’ 

सबैभन्दा बढी चिन्ता बुढामगरलाई शिखरमा पुगेर तस्वीरहरु खिच्न नपाएकोमा छ । चासोका कारण सबैको मोवाइलहरुको ब्याट्री डाउन भएको निकै थोरै मात्रै फोटो खिच्न सकेको उनले सुनाए । 

विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको समेत बुढामगरले बताए । उनले सबैको प्रेरणाले सगरमाथा चढ्न गएको र सफल पनि भएको बताउँदै राम्रो काम गरेको जस्तो लागेको बताए । बुढामगरले भने, ‘मेरो टिम बिना सगरमाथा आरोहण सफल हुने थिएन । मेरो कान्छा भाइ नन्दा बुढामगरलाई आधार शिविरसम्म लाने भनेर लिएर गएको थिए । उनीले पनि सगरमाथाको चुचुरोसम्म पुगेर आयो । तर हामी आरोहण लागि जाँदै गर्दा उनको हात भाँच्चिएको छ, ढुङगा लागेर । त्यस्तो ढुङ्गाले लाग्दा पनि उनी सफल आरोहण गरेर फर्कियो ।’ 

नेपाललाई सगरमाथा, बुद्ध जन्मेको देश र गोर्खालीको देश भनेर बढी चिन्ने गरेको बताउँदै उनले आफू तीन वटै सम्बन्धित रहेको बताए । बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा दुवै खुट्टा गुमेपछि जिन्दगी सक्कियो भनेर बसेको बुढामगर घाइते भएपछि झण्डै दुई बर्ष धर्तिको बोझ भएर बसेको बताए । 

उनले भने, ‘अपाङगता भएकालाई जसरी समाजले हेर्छन, त्यो हेर्दा जिन्दगी व्यर्थ हो जस्तो महशुस हुन थियो । पछि बिस्तारै खेलकुद र साहसिक कुराहरुमा संलग्न हुन थालें । यूरोप र अमेरिकामा स्कि खेलिराख्दा मैले जहिले मलाई सगरमाथाको याद आउँथ्यो । त्यतिखेर म नेपालमा स्कि खेल्ने पहिलो अपाङ्गता भएको व्यक्ति थिए । सबै कुरा समय र परिस्थितिअनुसार लिन सक्यो भने जे पनि गर्न सकिँदो रहेछ भनेर आफूमा आट आयो ।’ 

बुढामगरलाई कृतिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड बनाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले बढाईसहित सम्मानपत्र दिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर बधाई दिए । उनले यही जेठ ५ गते अपरान्ह ३ः१० मा सगरमाथाको सफल आरोहण गरी कृतिम खुट्टाको बलमा सगरमाथा चढ्ने पहिलो व्यक्तिको रुपमा विश्व रेकर्ड बनाएका हुन् । यसअघि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगेर कीर्तिमान कायम गरेका थिए । 

Advertisement

Advertisement