भ्वाइसको व्यापार घट्दा एनसेल र नेपाल टेलिकमको व्यापारमा ३० प्रतिशतसम्म गिरावट

Advertisement

काठमाडौं। टेलिफोन सेवा प्रदायक दुई कम्पनीको व्यापार पछिल्लो दुई महिनामा भारी गिरावट आएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र निजी क्षेत्रको एनसेल एजियटा लिमिटेडको व्यापारमा आश्चर्यजनक गिरावट देखिएको हो । 

दुवै कम्पनीहरुको अपरिस्कृत वितीय विवरणअनुसार गएको चैत र बैशाखमा अघिल्ला महिनाहरुको तुलनामा २० देखि ३० प्रतिशतले कारोबार घटेको देखिन्छ । औषत मासिक तीन अर्ब २३ करोड रुपियाँको व्यापार गरिरहेको नेपाल टेलिकमको कारोबार ३० प्रतिशतले घटेको छ । यस्तै, चालु आर्थिक वर्षमा मासिक दुई अर्ब ८० करोड रुपियाँको हाराहारीमा व्यापार गरिरहेको एनसेलको पनि २५ देखि ३० प्रतिशतले कारोबारमा गिरावट देखिएको छ।

Advertisement

टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार टेलिकम क्षेत्रमा पनि व्यवसायको सिजन हुने गर्दछ। धेरै दिन सार्वजनिक बिदा परे टेलिकमको व्यवसाय कम हुन्छ । यद्यपि चैत र बैशाखमा कारोबार घट्नुको कारण भने विगत पाँच वर्षको तथ्यांकलाई हेर्नुपर्ने उनको तर्क छ । 

अधिकारीले भने ‘विश्वमा नै भ्वाइसको व्यापारमा गिरावट आइरहेको छ । यो ट्रेण्ड विगत पाँच वर्षबाट नै सुरु भएको हो । यसले एक महिनादेखि अर्को महिनामा तत्कालै असर भने देखाउँदैन् । तर महिना–महिनामै कारोबार घटिबढि हुनुमा धेरै कारणहरु हुन सक्छ ।’

एनसेलका अनुसार जुन बेलामा चुनाव, चाडपर्व यस्तै खालका धेरै गतिविधि हुने गर्छ, सो बेलामा टेलिकमको कारोबार समेत बढि हुने गर्दछ । गतिविधि कम भएको बेलामा कारोबार समेत घट्ने गर्दछ । 

कम्पनीको डाटाको व्यापार बढिरहेको भए पनि भ्वाइसको व्यापार भने घट्दो क्रममा रहेको भन्दै कम्पनीले पहिले पहिलेको व्यवसायको तुलनामा कम्पनीको आयमा ठूलो गिरावट आएको स्वीकार गरेको छ ।  

एमसेल स्रोत भन्छ, ‘विदेशबाट हुने अधिकांश टेलिफोनहरु ह्वाट्स एप, फेसबुक, भाइबर इत्यादीबाट हुने गरेको छ । यसले पनि कारोबार घटाउँदै लगेको छ ।’ 

दुवै कम्पनीको अपरिस्कृत विवरणअनुसार नेपाल टेलिकमले ६ महिनामै १९ अर्ब ४० करोडको व्यापार गरेको छ भने एनसेलले चालु वर्षको ६ महिनामा १६ अर्ब ८० करोडको व्यापार गरेको छ । गत आर्थिक वर्ष २०७८–७९ मा नेपाल टेलिकमले करिब ४५ अर्बको व्यापार गरेको थियो । यस्तै, एनसेलले ४० अर्ब २८ करोडको व्यापार गरेको थियो ।

इन्टरनेट सेवाको विस्तार भएसँगै टेलिकम कम्पनीहरुको कारोबारमा गिरावट आइरहेको छ । टेलिफोनबाट गरिने कुराकानी कम्पनीहरुसँग सुरक्षित हुने भएकाले पनि ग्राहकहरु डिजिटल मोबाइल एपबाट कुराकानी गर्नतर्फ आकर्षित हुँदै गएको देखिन्छ ।

Advertisement

Advertisement