आरोपीको बयानकै आधारमा ठूला नेता र प्रशासकलाई पक्राउ गर्न नमिल्ने गृहमन्त्रीको तर्क

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको बारेमा पनि अनुसन्धान भइरहेको बताउँदै तर आरोपीले बयान गरेकै आधारमा ठूला नेता र प्रशासकहरुलाई पक्राउ गर्न नमिल्ने तर्क गरेका छन् ।  

बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै ठूला नेता र प्रशासकहरुलाई पक्राउ गर्न नमिल्ने बताए । 

Advertisement

यद्यपि सञ्चार माध्यममा नाम आएका ठूला नेता र प्रशासकमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले दावी गरे । यस प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा, नेकपा एमालेका अध्यक्ष केपी ओली र उनकी श्रीमती राधिका शाक्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा, पूर्वगृहमन्त्री एवं एमालेका नेता रामबहादुर थापा र उनकी श्रीमती, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती, नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेपाल प्रहरीका प्रमुख  वसन्त कुँवरलगायतको नाम आएको छ ।  

श्रेष्ठले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए । मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए । 

उनले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य नहुने बताए । उनले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि बताए । मन्त्री श्रेष्ठले भने, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ । त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्षरुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

Advertisement

Advertisement