मलाई पशुपतिमा नक्कली जलहरी हाल्यो भनेर आरोप लगाउने साँसद देशद्रोही होः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन् । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएकाले उनी देशद्रोही भएको तर्क गरे । 

Advertisement

ओलीले त्यस्ता असत्य, आधारहिन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको जिकिर पनि गरे । एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद अवरुद्ध गर्नुपरेको उनको भनाई छ । 

ओलीले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभए पनि सत्तारुढ दलहरुले मिलेर आरोप लगाईरहेको समेत बताए । उनले भने ‘हामी यतिबेला चौतर्फी घेराबन्दी छौं । तीव्र घेराबन्दीमा । हरेक कुरा भन्नुस्.....।, नभएको भुटानी शरणार्थी भएको ठाउँमा गैरभुटानीहरुलाई शरणार्थी बनाएर विदेश पठाउने खालको त्यस्तो धन्दामा केही व्यक्तिहरु सामेल भएका रहेछन् । अहिले म को यसमा संलग्न छ ? के छ ? अदालतमा केश छ । अहिले म धेरै भन्न चाहान्न । तर यो सम्पूर्ण हिसावले एक ढंगले सम्पूर्ण रुपमा एमालेतर्फ नै बढि चाँही खन्याउन खोजियो । मिडिया, सामाजिक सञ्जाल आदि इत्यादि ।’ 

ओलीले थपे, ‘नेकपा एमाले भ्रष्टाचारको सधैं विरोधी छ । स्वच्छता, पारदर्शीता, सुशासनको पक्षमा छ । तर एमालेलाई बदनाम गर्न खोजियो । आज संसद अवरुद्ध भईराखेको छ । अस्तीका दिन मात्रै एक जना माओवादी सांसदले बोल्दा, रोष्टममा उभिएर बोल्दा कोभिडको औषधि दुई अर्ब केपी ओलीले खायो..., कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एक जना सांसदले बोले । आज त्यस विषयमा संसद अवरुद्ध । हुनैपर्छ संसद अवरुद्ध ।’ 

एमाले र त्यसमा पनि आफूले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको दावी गर्दै उनले त्यही मान्छेका विरुद्ध आरोप लगाउनु शत्रुहरुले गर्ने काम हो भने । उनले भने, ‘यो देशद्रोही तत्वहरुले, देशमा चाँही कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै बितृष्णा जगाउने यो देशद्राही काम हो । यस्ता मान्छेहरु क्रियाशील छन अहिले ।’ 

विनासित्तिमै एमालेका मान्छेहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछ्ने काम भएको र आफ्नो नाम समेत पोल्ने काम भएको भन्दै ओलीले आक्रोस पोखे । उनले भने, ‘पुलिसकहाँ कसैले नाम उच्चारण गर्यो भने अखबारमा त्योसँगसँगै कसरी पुग्छ ? कहिले कहिले अघिल्ला दिन अखबारमा पुग्छ । भोलीपल्ट बयानमा आउँछ । कस्तो तयारी साथ बयान रोकेर मान्छेलाई सही गराइएको छ । अनि, भ्रष्टाचार कसरी भएको छ ?’ 

अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरु सांसद भएको भन्दै आक्रोश पोखे । उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दावी पनि गरे । 

Advertisement

Advertisement