भाटभटेनी र चौधरी समूह आजबाट मिलेर ‘युनाइटेड अजोड’ नामबाट एकीकृत कारोबार सुरु

Advertisement

काठमाडौं । भाटभटेनी समूहको मुख्य लगानी रहेको अजोड इन्स्योरेन्स र चौधरी समूहको मुख्य लगानी रहेको यूनाइटेड इन्स्योरेन्स आइतबारबाट एक हुँदै एकीकृत कारोबार सुरु गरेका छन् । 

मर्जरमा जाने सहमति गरेपछि नयाँ खालका विवाद सिर्जना भएका कारण दुई संस्थाबीचकाृ मर्जर केही ढिलोगरी सम्पन्न भएको हो । मर्जर सम्झौतापछि चौधरी समूहले नयाँ कम्पनीको सीईओमा समेत आफ्नो पक्षबाट हुनुपर्ने शर्त अघि सारेपछि मर्जर प्रक्रिया लम्बिएको हो । 

Advertisement

ढिलै भए पनि नेपाल बीमा प्राधिकरणले थपेको समयभित्र एकीकृत कारोकार गर्न उनीहरु सफल भएका छन् । प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी डेढ गुणाले बढाउनुपर्ने शर्त अघि सारेपछि कम्पनीहरुलाई मर्जर बाध्यता जस्तो बनेको थियो । सकेसम्म मर्जरमा नजाने र आफै लगानी थप्ने मनसायमा रहेका दुवै कम्पनीलाई प्राधिकरणले मर्जरमा जान दबाब दिएको हो । 

प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपियाँ पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । हकप्रद शेयर जारी गर्न पर्याप्त समय र अनुकुल परिस्थिति नभएपछि उपयुक्त पार्टर खोज्ने क्रममा युनाइटेड र अजोडले एकअर्कालाई पाएका हुन् । उनीहरुले लामो छलफलपछि गत चैत दोस्रो साता मर्जरको लागि सहमती गरेका थिए । 

युनाइटेड र अजोडबीच १००ः८२ को अनुपातको स्वाप रेसियोमा मर्जर भएको हो । मर्जरपछिको नयाँ कम्पनीमा केही बढी स्वामित्व चौधरी समूहको र केही कम भाटभटेनी समूहको स्वामित्व रहेको छ । 

मर्जरपछि बन्ने नयाँ कम्पनीका युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा अजाद श्रेष्ठ तथा सीईओमा श्रवणकुमार (एस.के.) रावल रहने छन् । आजाद यसअघि अजोडको सञ्चालक समिति अध्यक्ष थिए । यसअघि अजोडकै सीईओ कुमारबहादुर खत्री नयाँ कम्पनीको सीईओ हुने भनिए पछि पछि चौधरी समूहले आफ्नो पक्षबाट हुनुपर्न शर्त अघि सारेपछि केही असहज स्थिति बनेको थियो । पछि खत्रीले रावलको मातहतमा वरिष्ठ डेपुटी सीईओ भएर काम गर्न तयार भएपछि सहमति बन्ने बनाउने काम भएको थियो । 

अहिले युनाइटेडको चुक्ता पूँजी एक अर्ब सात करोड र अजोड इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब मात्रै रहेको छ । दुवैको जोड्दा पनि तोकिएको चुक्ता पुँजी नपुग्ने भएकाले त्यसका लागि नयाँ कम्पनीले विकल्प अपनाउनुपर्ने देखिन्छ । 

Advertisement

Advertisement