भारतसँग सम्वन्ध बिग्रियो भने नेपालको हित हुन्छ भनेर एमालेले सोचेकै छैन्ः राजन भट्टराई

Advertisement

काठमाडौं । नेकपा (एमाले)का विदेश विभाग प्रमुख राजन भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालको यही जेठ १७ बाट हुने भारत भ्रमणमा दुई देशबीच बर्षौंदेखि समाधान नभएका समस्या समाधान हुनेतर्फ सोच्न आवश्यक रहेको बताएका छन् । 

रिपोर्टर्स क्लबमा आइतबार उनले नेपाल र भारतबीचको समस्या बिग्रिँदा नेपालको हित हुन्छ भन्ने हिसाबले एमालेले नसोचेको बताए । नेपाल र भारतबीचको व्यापारमा नेपालले एक पक्षीय रुपमा घाटा व्यहोरिरहेको भट्टराईको भनाई छ । उक्त घाटा व्यहोरिरहेको व्यापारलाई कसरी सन्तुलनमा ल्याउने ? भन्ने नेपालले प्राथमिक एजेण्डा बनाउन आवश्यक रहेको उनले बताए । 

Advertisement

भट्टराईले भने, ‘नेपाल– भारतबीचको व्यापार घाटालाई कसरी सन्तुलनमा ल्याउने भन्ने नेपालको प्राथमिक एजेण्डा हो । अझ त्यसभित्र पनि नेपालले अहिले अर्थिकरुपमा संकट भोगिराखेको छ, यो संकटले आम जनमानसमाथि पारिरहेको प्रभाव र त्यो प्रभावबाट झण्डै दुईतिहाई व्यापार हुने मुलुक र सबैभन्दा ठूलो लगानीकर्ता मुलु्क भारत हो, प्रधानमन्त्रीस्तरीय भेटवार्तामा यो विषयमा ध्यानाकर्षण हुनुपर्छ ।’

नेपालबाट भारतमा विद्युत निर्यातका सन्दर्भमा समेत छलफल हुन आवश्यक रहेको उनले औंल्याए । नेपालको संभावनाको स्रोत जलस्रोतले र विद्युतका बारेमा भारतसँग सकारात्मक संवाद हुन सकेमा केही मात्रामा आर्थिक मन्दी सम्बोधन हुनसक्ने भट्टराईको जिकिर छ ।  

नेता भट्टराईले पर्यटन क्षेत्रको विकासका लागिसमेत प्रधानमन्त्रीले यस भ्रमणलाई उपयोग गर्न आवश्यक रहेको बताए । भैरहवा विमानस्थलमा सिधै भारतबाट हवाई सञ्चालन गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने उनले बताए । भारतबाट भैरहवा उडान र कृषिसम्बन्धी देखिएका समस्या समाधानका लागि तल्लो तहको प्रयास असफल भएको भट्टराईले बताए । 

पर्यटन र कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि राजनीतिक तबरबाटै पहल गरिनुपर्ने उनले बताए ।  तराईमा हुने डुवानको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीस्तरीय भेटवार्तामा छलफल भएर समाधानका लागि पहल गर्न आवश्यक रहेको भट्टराईको भनाई छ । 

Advertisement

Advertisement