महासंघले काठमाडौंमा गर्यो रोजगार मेला

काठमाडौं । काठमाडौंमा रोजगार मेला शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज समारोहका बीच उद्घाटन गरेका हुन् ।  

महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गतेसम्म संचालन हुनेछ । रोजगार मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोग र  रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहेको छ ।

Advertisement

कामको खोजीमा रहेका यूवाहरुलाई मेलामा सहभागी कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेण्डर इभेन्टको रुपमा अगाडि बढाउने बताए । श्रम बजारमा रहेको रोजगारीको मिस म्याच समस्या समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रमले सघाउने धारणा अध्यक्ष ढकालको थियो । 

बजारमा दक्ष जनशक्तिको अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ, यो मिस म्याचलाई कसरी संवोधन गर्न सकिन्छ, भन्नेमा महासंघ केन्द्रीत छ, अध्यक्ष ढकालले भने ।

कूल गार्हस्थ उत्पादनमा करिव ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ । केही समयदेखि अर्थतन्त्रमा आएका अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सृजना र अर्थतन्त्र विस्तारमा समेत समस्या आयो, अध्यक्ष ढकालले भने । 

महासंघको वर्तमान नेतृत्वले अगाडी सारेका प्रमुख पांच प्राथमिकताहरुमा दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना समेत रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पूरा गर्न सघाउने विश्वास व्यक्त गरे ।  

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका यूवा र जनशक्ति खोजीरहेका उद्योग प्रतिष्ठान कम्पनी बीच पुलको काम गर्ने बताए । मुलुकभित्र रहेको युवा जनसंख्याको सही परिचालन हुन सकेमात्र मुलुकले छिटो प्रगति गर्ने धारणा राख्नुुहुंदै जानसाङखिक लाभको फाइदा समयमै लिनुपर्ने सुझाव उनको थियो ।

कार्यक्रमको प्रारम्भमा महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको जानकारी गराए । 

मेलामा कम्पनीहरुले ६ सय भन्दा बढी रोजगारीको अवसर पेश गरेका छन् । दुई दिने मेलामा करिव ५ हजार जवसिकरले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघको पहलमा आयोजना भएको रोजगार मेला, कामको खोजीमा रहेको युवा र कम्पनीहरुका लागि समेत उपलव्धीमुलक हुने बताउनु भयो । 

अन्तराष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक शौरभराम जोशीले महासंघसंग मिलेर रोजगार मेला आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे । मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजना, लगानी अभिवृद्धि गर्न स्वदेशी उत्पादन उपभोगलाई प्रमुख प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगार मेला नेपालमा रहेको श्रम शक्तिको पहिचान गर्ने एउटा महत्वपूर्ण माध्यम हुने र सरकारले पनि यस्ता कार्यक्रमको प्रवद्र्धनमा विशेष सहयोग गर्ने नीति रहेको बताए ।   

रोजगार मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ ।  

कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना गरिएका छन् । 

उद्घाटन कार्यक्रममा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, कार्यकारिणी समितिका सदस्यहरु, मेरो जवका व्यवस्थापन निर्देशक, रोजगार सेवा केन्द्रका प्रतिनिधिहरु, आइएलको जेनेभाका इनिब, आइएलओ बैंकका प्रतिनिधि, सदस्य उद्योग संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु, उद्यमी व्यवसायीहरु लगायतको उपस्थिति थियो । 

रोजगार मेलामा यूवाहरुको ठूलो उत्साह र सहभागिता रहेको छ । 

Advertisement