एक लाख २८ हजार करदाताको साढे सात खर्ब कारोबारमा कर छली भएको विभागको अनुमान

Advertisement

काठमाडौं। आन्तरिक राजस्व विभागले साढे सात खर्ब रुपियाँको वस्तु तथा सेवा कारोबारमा कर छली भएको बताएको छ । विभागले एक लाख २८ हजार भन्दा बढी करदाताले कर छली गरेको दावी गरेको हो ।

व्यवसायीहरुले आर्थिक मन्दीका कारण विगतमा जस्तो व्यापार व्यवसाय गर्न नसकेको बताउँदै आएका छन् । उनीहरुले व्यापार व्यवसाय नै नभएकाले विगतमा जस्तो कर तिर्न आफूहरुले नसकेको बताइरहेको बेला राजश्व संकलनमा ठूलो गिरावट आएको छ । यता सरकारले कर अशुलीमा निर्मम हुन कर प्रशासनलाई दबाब दिइरहेको अवस्था छ । 

Advertisement

विभागले करदाताहरुले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र अग्रिम कर कट्टि (इटिडिएस)को विवरण बुझाउने गरेको तर आय विवरण नभेटिएपछि अनुसन्धान सुरु गरेको जनाएको छ । 

विभाग स्रोतका अनुसार यसरी भ्याट र इटीडीएस विवरण भएका तर आय विवरण नबुझाएका एक लाख २८ हजार भन्दा बढी करदाता रहेको र यी करदाताको पहिचान गरी प्रत्येक कार्यालयलाई छानविन गर्न करदाताको लिष्ट नै पठाएको विभागले जानकारी दिएको छ । 

विभागले फाइल प्रणालीमा काम गर्दा यो प्रकारको कर छलीलाई भेट्टाउन सक्किएको थिएन् भन्दै तर अहिले विकास गरिएको आधुनिक प्रणालीबाट हेर्दा कर छली पत्ता लागेको बताएको छ । विभागका एक कर्मचारीले भने, ‘विभागको प्रणालीबाट हेर्दा ठूलो संख्यामा करदाताहरु ननफाइलर भएको भेट्टियो । अध्ययन गर्दै जाँदा साढे सात खर्ब रुपियाँभन्दा बढी कारोबारमा कर छली भएको देखिएको छ ।’

आफूहरुले उपलब्ध गराएको विवरणको आधारमा कर कार्यालयहरुले धमाधम फलोअप गर्न थालेको भन्दै उनले करदाताहरुले पनि कार्यालयको फलोअपमा प्रतिक्रिया जनाउन थालेको बताए । विभागका अनुसार हालसम्म ३० हजारभन्दा धेरै करदाताले कर विवरण पेश गरिसकेका छन् ।

ती कर्मचारीले थपे, ‘विभागले गरेको कामले दुई खाले फाइदा भएको छ । पहिलो करदाताहरुलाई आय विवरण अनिवार्य बुझाउनु पर्छ भन्ने ज्ञानको विकास हुँदै गएको छ भने अर्को छली भएको कर धमाधम दाखिला भइरहेको छ । यसबाट १० अर्ब रुपियाँभन्दा बढी राजश्व संकलन हुने हाम्रो अनुमान छ ।

आन्तरिक राजश्व विभागले अहिले कर प्रणालीलाई प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको छ । जस अनुसार पूरानो कर विवरणलाई समेत स्क्यान गरी प्रणाली तथा एक्सल सिटमा ल्याउने काम गरिरहेको उसको भनाई छ । यसले कुन करदाताले विवरण बुझायो ? कुन करदाताले कर छली गर्यो ? सजिलै पत्ता लगाउन सकिने विभागको दावी छ । 

नक्कली बिलको पनि अनुसन्धान हुँदै
विभागले नक्कली भ्याट बिलको पनि अनुसन्धान सुरु गरेको जनाएको छ । भन्सार विभागको आयातको तथ्यांक र आन्तरिक राजश्वमा पेश गरिएको कर विवरणको तादम्यता मिल्न नसकेपछि ठूला कम्पनीमाथि अध्ययन सुरु गरेको विभागको भनाई छ । उदाहरणका लागि सुपारीको आयात गर्ने मनकामना ट्रेडर्सले अर्बौंको सुपारी आयात गरेको देखिन्छ। तर कर विवरण भने कम कारोबारको मात्रै मिलाएको देखिन्छ ।

यस्ता कम्पनीहरुको कर छली रोक्नका लागि प्रयास सुरु गरेको विभागको भनाई छ । विभाग स्रोतले भन्यो, ‘महानिर्देशकको जिम्मेवारीमा मैनाली सर आएपछि कर कार्यालयहरुको कर्मचारीहरु डराउन थालेका छन् ।’ लामो समय करमै काम गरेका र राजस्व अनुसन्धान विभागको प्रमुख भएर दुई वर्ष बिताएका मैनाली कर क्षेत्रको राम्रो ज्ञान भएका प्रशासकको रुपमा चिनिन्छन् । उनीदेखि कर प्रशासनका कर्मचारीहरु पनि सतर्क हुने गर्छन् । 

राजनीतिक तहबाट साथ पाए कर प्रणालीमा हुने चुहावट र अनियमितता हटाउन आफू सफल हुने मैनालीले बताउँदै आएका छन् । 

Advertisement

Advertisement