आफ्ना नेताहरुमाथि पहिचानवादीले पुनः आक्रमण गरेपछि एमाले रुष्ट, ‘अब चुप लागिन्न’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पूर्वमा आफ्ना पार्टीका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोस पोखेको छ । 

पहिचानवादीले प्रदेशको नाम कोशी नामाकरण गर्ने कार्यप्रति विरोध जनाउँदै यसअघि ओलीमाथि आक्रमणको प्रयास भएकोमा बिहीबार एमालेका दुई जना नेतामाथि पुनः आक्रमण भएपछि एमालेले संसदमा विरोध जनाएको हो । शुक्रबार संसदमा बोल्दै एमाले सचिव योगेश भट्टराईले सत्तापक्षकै कार्यकताहरुले बिहीबार (हिजो) पनि कोशी प्रदेशका एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सिर्जना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाए । 

Advertisement

उनले त्यसको जवाफ सरकारसँग माग पनि गरे । भट्टराईले सत्तापक्षकै कार्यकर्ताहरुले हाम्रो पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण गर्दा पनि सरकार किन चुप लागेर बसिरहेको छ ? भनी प्रश्न समेत गरे । उनले प्रदेशको नामाकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यस विषयलाई लिएर किन एमालेमाथि आक्रमण भईरहेको भनी आक्रोश समेत व्यक्त गरे । 

प्रदेश राजधानीको नामाकरणको विषयलाई लिएर एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद बैठक सूचारु हुन नदिने भट्टराईको चेतावनी थियो । उनले मुलुकलाई जातीय, धार्मिक र साम्प्रदायिक ढंगले बिभाजन गर्ने काम गरिएको भन्दै आफ्नो पार्टीलाई यो कुरा सैह्य नहुने बताए । 

भट्टराईले भने, ‘आज दूर्भाग्यपूर्ण कुरा छ । कोशी प्रदेशको नाम के राख्ने ? यो कोशी प्रदेशको आफ्नो अधिकारको कुरा हो । तर त्यसका नाममा केही महिना अगाडि हाम्रो पार्टीका अध्यक्ष, नेता केपी ओली, हाम्रो पार्टीका संसदीय दलका उपनेता, यही संविधान निर्माणका बेलामा संविधानसभाका अध्यक्ष सुवाष नेम्बाङलगायतका हाम्रो पार्टीको शीर्ष नेतृत्वको टोली पूर्वको विभिन्न क्षेत्रको भ्रमण गर्न जाँदा झापाको चारआलीदेखि नै इलाम, पाँचथर र तेह्रथुमसम्मका सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहर ढाल्ने, गाडीमा ढुंगामुडा गर्ने, कालो झण्डा देखाउने, त्यति मात्रै होइन, केही ठाउँमा एम्बुस समेत थापिएको थियो । त्यसको मतलव हाम्रा नेताहरुको हत्याको प्रयास भएको थियो भन्ने कुरा स्वभाविक रुपमा बुझन सकिन्छ । त्यो बेला पनि हामीले प्रश्न उठायौं । म माननीय गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु–उहाँले यही रोष्टममा आएर सरकारको तर्फबाट ध्यानाकर्षण भएको कुरा गर्नु भएको थियो ।’ 

उनले थपे, ‘हामीलाई लागेको थियो । त्यस्ता गलत क्रियाकलाप गर्ने मानिसहरुलाई कारबाही होला । उनीहरु निरुत्साहित होलान । तर त्यो भएन । हामीले देख्यौं– यो आक्रमणको क्रममा एक जना प्रर्दशनकारीको मृत्यु भयो । त्यो मृत्य के कारणले भयो ? म आज यो सम्मानित सदनमा गृहमन्त्रीजीलाई सोध्न चाहन्छु– के पुलिसको लाठीबाट, गोलीबाट त्यो प्रर्दशनकारीको मृत्यु भएको हो कि होइन ? पुलिसको रिर्पोटले के भन्छ ? किनभने सञ्चार माध्यममा आएको छ । प्रर्दशनकारीहरुकै तर्फबाट पुलिसलाई हानिएको लाठीले अचानक उनको टाउको बज्रिन जाँदा उनको दुखद मृत्यु भएको समाचार पत्रपत्रिकामा आएको छ । यो सत्य हो कि होइन ? यदि पुलिसले लाठी चार्ज गरेर निशाना लगाएर हत्या भएको हो भने त्यो पुलिसमाथि कारबाही हुनु पर्यो । होइन भने पुलिसहरुमाथि ज्यादती भएको छ । पुलिसहरुको अनुहारमा ढुंगाले हानिएको छ । अनुहार किच्याइएको छ । सरकार मुकदर्शक बन्छ । आफ्नो सहकर्मी पुलिसको सुरक्षा गर्न जाँदैन । राजनीतिक दलका नेताको सुरक्षा गर्दैन । यो बिडम्बनापूर्ण कुरा छ ।’ 

भट्टराईले एमाले नेता राम रानामाथि इलाममा सांघातिक हमला भएको, उनको गाडी तोडफोड गर्ने काम भएको, उनीमाथि मोविल छर्केर जलाउने कोशिस भएको भन्दै भने, ‘हामीले प्रतिवाद गर्यौ, हाम्रा साथीहरुले प्रतिवाद गर्नुभयो । र, उहाँको ज्यान जोगिएको छ ।’ 

त्यस्तै, उदयपुरको गाईघाटमा सिर्जना दनुवारको गाडी तोडफोड भएको, ढुंगामुडा भएको, गाडीमा राखिएको नेपालको राष्ट्रिय झण्डा जलाइएको, फ्याँकिएको, हातपात समेत भएको भन्दै भट्टराईलै नजिकै प्रहरीको डिएसपीको कमाण्ड रहँदा पनि केही पनि नगरेको बताए । 

उनले ‘यो किन भईरहेको छ ?’ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । एमाले एउटा संयमित पार्टी भएको बताउँदै थपे, ‘मलाई सम्झना छ– २०७३ सालको फागुन २३ गते राजविराजको तिलाठीमा हामी सबैलाई एउटै चिहानमा मार्न खोजिएको थियो । त्यो बेलाको गृह प्रशासन को थियो ? हामीले गजेन्द्रनारायण सिंह रंगशालामा कार्यक्रम गर्न खोजेका थियौं । त्यहाँ स्थानीय सहमती भएपछि हामीले राजविराजको औंद्योगिक क्षेत्र माग्यौं । त्यति हुँदा पनि भएन । हामीमाथि सांघातिक हमला भयो । हाम्रो पार्टीका सबै नेताहरु त्यहाँ हुनुहुन्थ्यो । हामीलाई एउटै चिहानमा पार्न खोजिएको थियो । म ध्यानाकर्षण गर्न चाहन्छु– मधेशमा एमालेलाई लेखेटने भनियो  । तर आज मधेशमा नेकपा एमाले पहिलो पार्टी भएको छ । कुनै बेला पूर्वमा एमालेलाई लेखटने भनियो । २०७० सालको निर्वाचनमा ताप्लजुङदेखि ओखलढुंगासम्मको सम्पूर्ण निर्वाचनमा एमालेले जितेर आयो । यो हेक्का होस् । एमालेलाई लखेटने नाममा यस्तो ढंगका गतिविधिहरु हामीलाई स्वीकार्य छैन् ।’ 

पटकपटक यस किसिमका घटना एमालेमाथि भइरहेको उदाहरण दिँदै भट्टराईले बिहीबारको घटनाहरु त्यसको पुनरावृत्ति भएको बताए । उनले एमालेलाई लखेटने प्रयास गरिएको जिकीर गर्दै त्यसको प्रतिवाद्ध गर्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत समेत गराए । 

Advertisement

Advertisement