हिमालयन ट्राभल मार्टमा २५ मुलुकका ७०० प्रतिनिधि सहभागी

Advertisement

काठमाडौं । चौथो हिमालयन ट्राभल मार्ट सम्पन्न भएको छ । मार्टमा विभिन्न २५ मुलुकका ७०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

विश्वव्यापी कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवर्द्धनमा केन्द्रित उक्त कार्यक्रम काठमाडौँस्थित होटल याक एन्ड यती र होटल अन्नपूर्णमा सम्पन्न भएको हो । मार्टको पाँचौँ संकरण आगामी वर्ष जुन महिनामा आयोजना हुनेछ ।  

Advertisement

नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, एवम् पर्यटन क्षेत्रका विभिन्न संघ–संस्था तथा निजी क्षेत्रका व्यवसायीहरुको विशेष सहयोग तथा सहकार्यमा पाटा नेपाल च्याप्टरद्धारा आयोजना गरिएको चार दिने ट्राभल मार्ट नेपालमा पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने देशकै प्रमुख एवं सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित भएको छ ।

मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । 

जुन ७ मा ‘रिकनेक्टिङ, रिबिल्डिङ एन्ड रिइन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ शूरु भएको हिमालयन ट्राभल मार्ट–२०२३ मा राष्ट्रिय र अन्तर्राष्ट्रिय अग्रणी एवं प्रभावशाली वक्ताहरुद्वारा अशल उड्डयन क्षेत्र, नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको सम्भावना, चिनियाँ यात्रुहरूको पुनर्रागमन, युरोपेली पर्यटकहरुको  यात्रा प्रचलन र नेपालका लागि पर्यटनका लागि अवसरहरू, सामुदायिक पर्यटन मार्फत दिगो पर्यटनको निर्माण, क्षेत्रीय पर्यटन सम्भाव्यताको प्रवर्द्धन, जलवायु परिवर्तन, दिगो पर्यटन, रेजिलियन्स, साहसिक पर्यटन र शिक्षामा नवीन अभ्यास लगायत विभिन्न समसामयिक विषयहरूमा छलफल भएको थियो । 

जुन ८ र ९ मा आयोजित दुई दिने बीटुबी मार्ट (क्रेता–विक्रेता भेटघाट) कार्यक्रममा अमेरिका, युरोप, रसिया तथा सिआइएस, एशिया र यूएईराष्ट्रहरुबाट ५० वटा क्रेता संस्थाहरुसहित नेपाल, श्रीलंका र भुटानका ४० वटा बिक्रेता संस्थाहरुको सहभागिता रहेको थियो । 
 

Advertisement