‘रोमान्स अफ लिडरसिप’ले निम्त्याएको सङ्कट !

Advertisement

–    डा. मुकेशराज काफ्ले
‘रोमान्स अफ लिडरसिप’ संस्था व्यवस्थापनमा प्रयोग हुने चर्चित वाक्यपंक्ति हो । यो वाक्यांशको सुरुवात सन् १९८५ मा जेम्स मेन्डलले गरेका थिए । ‘रोमान्स अफ लिडरसिप’ यस्तो सिद्धान्त हो, जसले तथ्य र आधारको विश्लेषणविना नै संस्थाको सफलता र असफलताको कारण नेतृत्वलाई मान्दछ । यसका लागि आग्रह÷पूर्वाग्रह, मिथ्याङ्क अनि भ्रामक तथ्यहरूको आधारमा नेतृत्वको महत्वलाई संस्थाभित्र र बाहिर स्थापित गराउने प्रयत्न हुन्छ । यो सिद्धान्तले नेतृत्वका शुभचिन्तक अनुयायी सबैलाई आफ्नो महत्वको बारेमा प्रचार–प्रसार गर्न उत्प्रेरित गर्दछ । यसले नेतृत्वको परम्परावादी व्याख्या र परिभाषालाई विस्थापित गरिदिएको छ । यो प्रवृत्ति समाजका प्रायः सबै क्षेत्रहरू राजनीति, व्यापार, व्यवसाय, खेलकुदमा हावी देखिन्छ । 

‘रोमान्स अफ लिडरसिप’ सिद्धान्तले नेतृत्वको छविलाई मास–मिडियामार्फत् समाजमा प्रतिविम्बित गराउँदछ । यसले नेतृत्वलाई एक महान् व्यक्तित्वको रूपमा मात्र चित्रण गर्दैन् । विभिन्न प्रकाशन÷पुस्तकमार्पmत् इतिहासमा विगतमा कहिल्यै पनि नदेखिएका अद्भूत क्षमताको व्यक्तित्वको रूपमा प्रक्षेपण गर्ने प्रयत्न गर्दछ । यसमार्फत् असल नेतृत्व जन्माउने र जनजीवनमा सुधार ल्याउने समाजको तिर्खा वा चाहनालाई भावनात्मक रूपमा सम्बोधन गर्ने प्रयत्न गरिन्छ । तर, यस्तो प्रचार र निर्मित छवी कालान्तरमा समाज, संस्था र व्यक्ति स्वयम्का लागि हानीकारक साबित हुने सम्भावना ज्यादै हुन्छ । विश्व ईतिहासमा ‘रोमान्स अफ लिडरसिप’ले सार्वजनिक संस्थाहरूमा निम्त्याएका सङ्कटका केही प्रमुख परिदृश्यहरूलाई यस लेखमा समेट्ने प्रयत्न गरिएको छ । 

Advertisement

परिदृश्य– १
केनेथ ले इनरोन कर्पोरेसनका संस्थापक हुन् । सन् १९८५ मा दुईवटा प्राकृतिक ग्यास कम्पनीहरू हस्टन र इन्टरनर्थको विलय पश्चात् एचएनजी इन्टरनर्थ कम्पनीको स्थापना भयो, जसलाई सन् १९८६ मा एनरोन कर्पोरेसन नामाकरण गरियो । स्थापनादेखि नै यो कम्पनीको व्यापार र प्रतिष्ठा द्रूत गतिमा बढ्दै गयो । कम्पनीको मूल नेतृत्व केनेथले र वित्तीय प्रमुख इन्ड्रियू फास्टोलाई सफल एवम् दूरदर्शी व्यवस्थापकको रूपमा चित्रण गरिन थालियो । मास–मिडियामार्फत् एनरोनको गतिविधि मूलतः यसको सफलतालाई कर्पोरेट क्षेत्रमा ‘रोल मोडल’को रूपमा प्रचार गरियो । तत्कालीन समयमा कम्पनीको वित्तीय सूचकाङ्क र बढ्दो शेयर मूल्यलाई व्यापक सफलताको मानक मानेर उत्सव मनाउने र प्रचार–प्रसार गर्ने अभियान नै चलाइयो । सार्वजनिक समारोह, कार्यक्रमहरूमा एनरोनको नेतृत्वलाई विलक्षण व्यवस्थापकको रूपमा प्रस्तुत गरियो । तर, संस्थाभित्रको वास्तविकता बाहिरी प्रचारभन्दा भिन्न थियो । संस्थाको नाफा उच्च देखाउन र शेयर मूल्य घट्न नदिन वास्तविक वित्तीय सूचकाङ्कहरूलाई लुकाएर कृत्रिम विवरणहरू सार्वजनिक गरिन्थ्यो । 

यस्तो अभ्यासबाट नेतृत्वले लगानीकर्ता, नियामक निकायहरूलाई गुमराहमा राखिरहेको थियो । वास्तविकता थाहा पाएका केही सीमित विश्लेषक, अभियन्ता एवम् पत्रकारहरूले त्यहाँ भित्रको अनियमितता उठान गरे पनि मास–मिडियामार्फत् कम्पनी र नेतृत्वको प्रशंसा र स्तुतिगान निरन्तर जारी राखियो । यसको अगाडि संस्थाभित्रका असफलता, नीति नियमको उल्लङ्घनको विषय सबै ओझेलमा परे । तर, बाहिरी प्रचारले खोक्रो भइसकेको एनरोनको भविष्य धेरै समय टिकाइराख्न सकेन । सारा विश्वलाई आश्चर्यमा पार्दै डिसेम्बर २, २००१ मा एनरोन कम्पनी टाट पल्टेको घोषणा भयो । अमेरिकी कानूनअनुसार उक्त कम्पनीले न्यूयोर्क अदालतमा यससम्बन्धी निवेदन दर्ज गरायो । यो अमेरिकी इतिहासकै एक ठूलो कर्पोरेट घोटाला थियो । कम्पनीका उच्च व्यवस्थापन समूहका अधिकारीहरूमाथि अनेकौं आरोपहरू लाग्यो । कम्पनीका धेरै अधिकारीहरू जेल गए । सन् २००६ मा एनरोनका संस्थापक केनेथमाथि षड्यन्त्र, धोका र ठगीको आरोप लाग्यो । उनलाई ४५ वर्षको जेल सजाय तोकियो । तर, जेल जानुअघि नै उनको निधन भयो । वित्तीय प्रमुख फास्टोलाई पनि सन् २००६ मा ५ वर्षको जेल सजाय भयो । उक्त सजाय भुक्तान गरी सन् २०११ मा उनी जेलमुक्त भए । यसरी एउटा कर्पाेरेट इतिहासको दुःखद् अन्त्य भयो ।

परिदृश्य– २
लेहम्यान ब्रदर्स अमेरिकाको एक प्रसिद्ध इन्भेस्टमेन्ट बैंक थियो । रिचर्ड फल्डको नेतृत्वमा रहेको उक्त बैंकलाई वालस्ट्रिटमा सफलताको प्रतिकको रूपमा हेरिन्थ्यो । मास–मिडियामार्फत् रिचर्ड फल्डलाई एक विलक्षण र उत्कृष्ट निर्णय क्षमता भएको व्यवस्थापक र नेतृत्वको रूपमा चित्रण गरियो । सन् २००० को सुरुवातसँगै लेहम्यान ब्रदर्सले सुरक्षित धितोपत्र र हाउजिङ व्यवसायमा ठूलो लगानी गर्यो । तथापि, आन्तरिक रूपमा बैंक व्यवस्थापनले उक्त लगानी र जोखिमको सूक्ष्म र सही ढङ्गले विश्लेषण गर्न सकेको थिएन । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दीका बीच अमेरिकाको हाउजिङ बजार धरासायी भएसँगै उक्त बैंकले ठूलो नोक्सानी व्यहोर्नु पर्यो । बैंकको वित्तीय अवस्था तीब्र गतिमा खस्किँदै जान थाल्यो । 

यसको बाबजुद पनि मास–मिडियामार्फत् कम्पनी र यसको नेतृत्वको सफलताको भ्रमपूर्ण कहानी निरन्तर रूपमा प्रचार–प्रसार भइराख्यो । कम्पनीका प्रमुख र अन्य उच्च अधिकारीहरूको आत्मविश्वासपूर्ण अभिव्यक्ति र मिडिया व्यवस्थापनले आन्तरिक असफलता र सम्भावित दूर्घटनालाई ओझेलमा पार्यो । सेप्टेम्बर २००८ मा सबैलाई आश्चर्यमा पार्दै लेहम्यान ब्रदर्सले टाट पल्टेको घोषणा गर्यो । उक्त बैंक टाट पल्टेको घटनाले वित्तीय उद्योगमा प्रणालीगत कमजोरीहरूलाई उजागर गर्यो । सुरुवाती चरणबाटै मिडियामार्फत् सीईओ रिचर्ड फल्ड र बैंकको गतिविधिलाई अतिरञ्जनापूर्वक प्रचार–प्रसार गरी आन्तरिक कमजोरी र असफलता ढाकछोप गर्नु नै यसको मूल कारण थियो । मिडियामार्फत् आर्जित सामाजिक छवि, प्रतिष्ठाका कारण रिचर्ड यति आत्मविश्वासी भए कि उनले संस्थाभित्रको कमजोरी सुधार्ने, जोखिम व्यवस्थापन गर्ने, अन्य न्यूनतम् काममा समेत आवश्यक तर अलोकप्रिय निर्णय गर्न सकेनन् । ४६ बिलियन डलरको बजार मूल्य भएको बैंक केही महिनाकै गतिविधिले टाट पल्टियो । 

तर, यो केसमा रिचर्ड फल्डलाई कुनै कानूनी कारवाही भएन् । त्यो घटनापछि कर्पोरेट क्षेत्रमा उनलाई ‘गुरिल्ला’ उपनामले चिनिने गरिन्छ । हाल ७५ वर्षका फल्ड न्यूयोर्कस्थित म्याट्रिक्स प्राइभेट क्यापिटल समूहसँग आबद्ध छन् । विश्व वित्तीय सेवामा काम गर्ने उद्देश्यले सन् १८५० मा स्थापना भएको एक प्रतिष्ठित अमेरिकी कम्पनीको १५८ वर्षे लामो गौरवशाली इतिहास समाप्त भयो । सन् २००८ मा टाट पल्टिनुअघि यो बैंक अमेरिकाको चौथो ठूलो हैसियतमा थियो । विश्वव्यापी शाखा रहेको यो कम्पनीमा २५ हजार कर्मचारीहरू आबद्ध थिए । 

परिदृश्य–३
वरर्नाड मेडफ एक प्रतिष्ठित इन्भेस्टेमेन्ट कम्पनीका प्रमुख थिए । सुरुमा सानो लगानीमा उनले कम्पनी स्थापना गरेका थिए । सन् १९९० मा धितोपत्र कारोवारमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको सुरुवात गरेपछि एकाएक उनी चर्चामा आए । उच्च प्रतिफल दिने कम्पनीको सूचीमा उनको नाम दर्ज थियो । यसलाई मेडफले आफ्नो विलक्षण र रणनीतिक कामको उपलब्धी ठान्थे । मेडफका गतिविधिहरू अतिरञ्जित ढङ्गले सञ्चार माध्यममा प्रचार–प्रसार हुन थाल्यो । अनेकौं अन्तरवार्ताहरू, मिडिया हेडलाइन्सहरूबाट उनको प्रशंसा भयो । उनलाई वित्तीय क्षेत्रको आदर्श र गहनाको रूपमा चित्रित गरियो । समाजमा उनको नेतृत्व अचूक र अजेय भएको सन्देश प्रवाह गरियो । सोही अनुसारको जनधारणा निर्माण भयो । 

तर, पर्दापछाडि मेडफको गतिविधिहरू फरक ढङ्गको थियो । मेडफले एउटा ठूलो पोन्जी योजना सञ्चालन गरिरहेका थिए । नयाँ लगानीकर्ताबाट रकम जम्मा गरी पूराना लगानीकर्तालाई फिर्ता गर्ने स्किमलाई वित्तीय क्षेत्रमा पोन्जी स्किम भनिन्छ । मेडफको बाहिरी आवरण र चर्चा देखावटी मात्र थियो । कम्पनीको प्रतिफल र सूचकाङ्कहरू वास्तविक थिएनन् । यसलाई तोडमोड गरी मिडियामार्फत् प्रचार–प्रसार गरिन्थ्यो । मिडियाको रापताप र जनमानसमा रहेको सकारात्मक धारणाले कम्पनीका आन्तरिक गतिविधिहरू, असफलताहरू ओझेलमा परेका थिए । १७ वर्षसम्म यो क्रम निरन्तर थियो । 

सन् २००८ मा नयाँ लगानीकर्ताहरू घट्ने क्रमसँगै कम्पनी वित्तीय सङ्कटमा फँस्यो । मेडफको पोन्जी स्किम सार्वजनिक भयो । घटना सार्वजनिक भएपछि मेडफले आफ्ना दुई छोराहरू मार्क र एण्डीसँग आपूmले गलत काम गरेको स्वीकार र प्रायश्चित गरे । डिसेम्बर ११, २००८ मा मेडफको गिरफ्तारी भयो । उनीसँग धेरै सहयोगीहरू पनि जेल गए । उनका जेठा छोरा मार्कले सन् २०१० मा आत्महत्या गरे । मेडफका धेरै लगानीकर्ताहरूले पनि आत्महत्याको बाटो रोजे । कान्छा छोरा एण्डीको पनि ४८ वर्षको उमेरमा क्यान्सरबाट सन् २०१४ मा निधन भयो । मिर्गौला रोगबाट पीडित भएपछि अप्रिल १४, २०२१ मा मेडफको पनि निधन भयो । यसरी रोमान्स अफ लिडरसीपको महत्वकांक्षाले एउटा परिवार र वित्तीय साम्राज्यको दुःखद् अन्त्य भयो । 

निष्कर्षमा, माथिका तीन परिदृश्यका पछाडि अनेकौँ कारणहरु भएपनि मूल कारण नेतृत्वमा ‘रोमान्स अफ लिडरसिप’ सिद्धान्तको प्रभाव मानिन्छ । यसले नेतृत्वलाइ आत्मकेन्द्रित र अहँकारी बनाउन मद्दत पुर्याउँदछ । यसले नेतृत्वको निर्णय गर्ने, परिस्थितिको विश्लेषण गर्ने क्षमता र व्यवहारमा बदलाव ल्याउँछ । रोमान्स अफ लिडरीसपको उच्च महत्वाकाङ्क्षाले नेतृत्वले मूलतः धरातलीय यथार्थ र आवश्यकता अनुसारको अलोकप्रिय निर्णयहरु गर्न सक्दैनन् । संस्थाभित्रका कमजोरी, असफलताहरू ओझेलमा पर्दछन् । समाजमा कायम रहेको छविलाई निरन्तरता दिनुपर्ने दबाबले आफ्ना र संस्थाभित्रका कमजोरीहरूलाई लुकाउन प्रेरित गर्दछ । ‘रोमान्स अफ लिडरसिप’को अर्को महत्वपूर्ण पाटो हो– मिडिया । मिडियाले विषयवस्तुको ‘क्रिटिकल’ विश्लेषण, जानकारीमा आएका सत्य–तथ्य समेत उजागर गरेर संस्था वा नेतृत्वको आलोचनात्मक समर्थन गर्नुको सट्टा त्यही प्रवृत्तिको सहयोगी भइदिँदा नेतृत्वलाई समयमै सच्चिने अवसर प्राप्त नभएको दृष्टान्तहरूबाट देखिन्छ । असफलता, कमजोरी र गलत निर्णयहरूको प्रभाव र परिणाम कालान्तरमा उजागर हुने नै भएकोले ‘रोमान्स अफ लिडरसिपका कारण हुने सम्भावित ठूलो दुर्घटना र क्षति रोक्न आमसञ्चार माध्यम, सामाजिक सञ्जालको ठूलो भूमिका देखिन्छ । हाम्रो देशको राजनीति, व्यवसाय, सार्वजनिक संस्था लगायतमा पनि ‘रोमान्स अफ लिडरसिप’को प्रभाव देखिन्छ । यसको नेपाली संस्करण ‘देवत्वकरण’ हो । यो प्रवृत्ति देश, समाज र व्यक्ति स्वयम्को लागि हानिकारक प्रमाणित भइसकेको सन्दर्भमा विश्व इतिहासबाट शिक्षा लिन आवश्यक छ । 

***

Advertisement