सोल्टी होटल लिमिटेडले रिसोर्ट र तीन तारे होटल निर्माण गर्ने

Advertisement

काठमाडौं । पाँच दशक लामो इतिहास बोकेको सोल्टी होटलले काठमाडौं र पोखरामा तीन तारे होटल र रिसोर्ट निर्माण गर्ने भएको छ । सोल्टीले काठमाडौंको तिलगंगामा तीन तारे होटल र पोखरामा रिसोर्ट निर्माण गर्न लागेको हो । 

सन् १९६६ मा स्थापना भएको यो होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले व्यवस्थापन गर्दै आएको छ । इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको व्यवस्थापनपछि सोटी होटललाई ‘दि सोल्टी काठमाडौं’को रूपमा पुनः ब्रान्डिङ गरिएको छ । उक्त होटलले अहिले अरु तीन वटा होटलहरुः सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्ज, सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन र सोल्टी वेस्टेन्ड इटहरी सञ्चालन गर्दै आएको छ । 

Advertisement

पोखरा र तिलगंगामा निर्माण गर्न लागिएका होटल र रिसोर्टको डिजाइनिङको काम भइरहेको सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईले जानकारी दिए । पशुपतिनाथ क्षेत्रमा आउने धार्मिक पर्यटकहरुलाई लक्षित गरेर तिलगंगामा होटल निर्माण गर्न लागिएको बताए । 

चापागाईंले भने, ‘रिसोर्ट र होटलको डिजाइनिङ टुंगिएपछि सरकारबाट स्वीकृति लिन्छौं । त्यसपछि निर्माण कार्य अघि बढ्छ । करिव दुई वर्षभित्र रिसोर्ट र होटलको निर्माण सम्पन्न गर्ने योजना छ ।’ 

चापागाईंले आर्थिक मन्दीको असर होटल क्षेत्रमा परेको स्वीकार गर्दै तर सोल्टी होटल र यसका सहायक होटलहरुमा असर आंशिक असर रहेको बताए । उनले विदेशी पर्यटकहरु बढाउन सरकारले नै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन् गर्नु जरुरी रहेको बताए । साथै, चापागाईंले थपिएका दुई वटा क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थलहरु व्यवसायिकरुपमा सञ्चालन गर्न सक्नुपर्ने बताए । 

नेपालमा होटलको संभावना भएकाले नै यो क्षेत्रमा लगानी बढ्दै गएको बताउँदै चापागाईंले पर्यटन प्रवर्द्धन गर्न सरकारी र निजी क्षेत्र मिलेर पर्यटकीय गन्तव्यहरुको बजारीकरण गर्नुपर्ने बताए । 

Advertisement

Advertisement