नेपालको राजनीतिले नबुझेको संघीयता

Advertisement

कुमार दाहाल
सपनालाई यथार्थमा परिणत गर्ने नीति राजनीति हो। त्यसैले राजनीतिभित्र कुनै सीमा हुँदैन। असिमित चाहना र प्रवृत्तिको प्रतिनिधित्व राजनीतिले गर्छ । त्यसैले यो अति लचिलो र कठोर हुने गर्छ ।राजनीतिको लचिलोपन प्रजातन्त्र हो, कठोर निरंकुशता । दुवै तन्त्रमा अन्तर्निहीत सपनाहरु हुन्छन् । यिनै सपनाहरुले कुनै शासन प्रणाली र कुनै संरचनाको रुपमा राज्यमा शासन गर्छन् । राजनीतिलाइ खराब, अविश्वास, र आलोचनाले सधैभरी सच्याउने गर्छ । त्यसैले राजनीति नेताहरु गल्ती गर्न डराउँदैनन् । यही गल्तीले कोही ठूला र प्रख्यात नेता बन्छन् । कोही जेल जान्छन। संसारकै राजनीतिको लागि यो अस्वभाविक कुरा होइन् ।

संघीयता यही राजनीतिको अभिष्ट पुरा गर्ने संरचना हो । संघीयतामा शक्ति र अधिकारको विस्तार हुन्छ । यही विस्तारमा राजनीतिले आफ्नो ध्येय पूरा गर्छ । राजनीतिको मुख्य ध्येय जनतामाथि शासन गर्नु हो । त्यसैले जुनसुकै प्रकारको शासनमा पनि राजनीति रमाउने गर्छ । हाम्रो राजनीति अहिले संघीयतामा रमाए जस्तो देखिन्छ । संघीयताको आलोचना र टिप्पणीमा राजनीति क्षेत्रको खासै चिन्ता छैन् । किनकि हाम्रो संघीयता देशको आवश्यकताभन्दा  राजनीतिक आवश्यकतामा बढी नजिक छ । एकात्मक शासनका खराबीबाट आएको संघीयता ती खराबीभन्दा कति उत्तम छ । यसैमा हाम्रो संघीयताको मूल्यांकन हुनेगर्छ ।

Advertisement

हामीले शासनप्रणालीमा प्रश्न गरेका छैनौ । संरचनामा प्रश्न गर्छौं । अहिले पनि महिनौं दिन संसद चल्दैन । विश्वास र अविश्वासको मतविभाजनमा राजनीति रमाएको छ । संघीयताले जनताको घरदैलोमा विकास लैजान्छ। तर त्यही घरदैलोसम्म पुग्ने कानून बनाउने संसद अवरुद्ध छ ।  संसारको राजनीति अहिले  संरचनाको फेरबदलमा होइन् । जनताको सपना पुरा गर्ने  संयन्त्रको खोजीमा छन् । हामी‌ धर्म, समाज र शासनको विषयमा राजनीति गर्छौं । किनकि हामीलाई जनताले नबुझ्ने कुरामा बढी विश्वास लाग्छ।

स्रोत संघीयताको अनिवार्य सर्त होइन् । तर हामी स्रोतसँग संघीयताको सफलता देख्छौं । संघीय संरचनाले स्थानीय स्रोतको खोजि गर्छ । गर्नुपर्छ । आफैले कमाएर चल्नसक्ने संघीय संरचना हामीले बनाएकै ‌होइन् । हाम्रो संघीयतामा स्थानीय स्रोत भन्दा केन्द्रीय स्रोत र साधनको अपेक्षा बढी छ । यसको अर्थ हाम्रो वित्तीय संघीयता राजनीति संघीयताको तुलनामा कमजोर छ । राजनीति संघीयताको आकांक्षा खोज्ने नेताहरुले यसको दिगोपनमा ध्यान दिएका छैनन्।

आज फेरि संघीय संरचनाको विषयमा प्रश्न उठ्न थालेको छ । के हाम्रो संघीयताको मोडेल टिक्छ ? संघीयताले होइन राजनीतिक खराबीले यो प्रश्न जन्माएको हो। राजनीतिक स्वार्थका लागि  राजनीति प्रदेशमा सरेको छ । प्रदेशको बहुमत र अल्पमत झेलको राजनीतिले विकासमा बाधा पारेको छ । यो बाधालाई  हाम्रो राजनीतिले प्रजातान्त्रिक अभ्यास ठान्छ । तर केन्द्रीय खराब राजनीतिबाट दिक्क भएका मतदाताहरु प्रदेशको मतविभाजनको राजनीतिमा खासै चासो राख्दैनन् । यद्दपी यसको असर उनीहरूको घर दैलोसम्म पुगिसकेको छ । गरिबी, रोजगारी, उत्पादन, उधमशीलता, बजार, समाज सुधार र विकासका लागि राजनीति र राजनीतिज्ञमा एकता हुनु जरुरी छ । जबसम्म यो हुँदैन हामी उन्नत विकास तर्फ फड्को मार्न सक्तैनौं ।

संघीयता शासनप्रणालीको अनुशासन हो । यो अनुशासन विकास समृद्धि, र सुशासनतर्फ केन्द्रित  हुनुपर्छ । किनकि हामी एक्काइसौं शताब्दीमा पनि सीमान्त अवस्थामा छौ । हाम्रो जीवन, पद्धति, धारणा, विचार, सबै सीमान्त अवस्थामा छन् । तर हामी संघीयताको सीमामा बस्न रुचाउँदैनौ । राजनीति अधिकारभन्दा ऐन कानुनको अधिकारमा अल्मलिने हाम्रो राजनीतिले यसको मर्म बुझ्नै सकेन् ।  किनकि संघीयतामा अधिकार  र राजनीतिक स्वार्थको त्याग महत्वपूर्ण हुन्छ ।

शासनमा केन्द्र बलियो र अनुशासित हुनुपर्छ । तब मात्र तल्ला एकाइहरू मजबूत हुन्छन् । यो  मजबुतीको आधार नै सुशासन हो । तर हाम्रो राजनीति सिद्धान्त  र विचारबाट होइन व्यक्तिको सपना र इच्छाबाट चलेको छ । त्यसैले संघीयताको तल्लो तह र केन्द्रीय तह बिचमा पद्धति र नीतिमा एकरुपता छैन् । आफ्नै राजनीति र आफनै मोडलले देश विकास हुँदैन् । राजनीति भित्रका सिद्धान्त र विचारहरूको एकरुपता हुनुपर्छ । अहिले कुन क्षेत्रमा कसको के कति पकड छ भन्ने आधारमा तीनै तहका सरकार भित्रको राजनीतिक उपस्थिति हेरिन्छ । जनतालाई दिएको  यो अवसरले विकासमा उल्लेख्य योगदान दिन सकेको छैन् ।यस्ता तथ्यहरु अनियमितता भ्रष्टाचार र व्यक्तिगत स्वार्थका रुपमा आउदैछन् । जबसम्म संघीयताको मर्म र धर्मलाई राजनीतिक दलहरुले बुझ्दैनन् । हाम्रो राजनीतिक पद्धति, शासन प्रणाली र संरचनामा सधैभरी प्रश्न उठिरहन्छ । यसको समीचीन जवाफ मूलतः राजनीतिक दलहरुले नै खेप्नुपर्छ ।

विगत १० वर्षमा संघीयता धेरै ठाउँमा पुग्यो । हामी राजनीतिक र व्यक्तिगत स्वतन्त्रताको चरम उत्कर्षमा पुग्यौं । तर रोजगारी बढेन, स्थानीय सरकारले बसाई सराई रोक्न सकेन् । स्थानीय उत्पादन घटेर गयो । संघीय  सरकारको जस्तै राजनीतिक अस्थिरता प्रदेश सरकारमा रह्यो । संघीय सरकारले प्रदेश र स्थानीय तहमा आवश्यक कानुन र स्रोत उपलब्ध गराउन सकेन् ।   खराबीका बाबजुद पनि स्थानीय सरकार सुशासनको धरातल‌ बन्दैछ । संसारमा राजनीति सचिदैन। यसभित्रको पद्धति विचार सिद्धान्त र व्यक्ति सच्चिनु पर्छ । हाम्रोमा संघीयता अवसरको रूपमा छ । घर दैलोसम्म जनतालाई सेवा पुर्याउने योभन्दा अर्को माध्यम हुनै सक्दैन् । हाम्रो राजनीतिले संघीयताको अवसर र मर्मलाई बुझ्नुपर्छ । अहिले राजनीति आफ्नै दाउपेचमा छ। यो हाम्रो विगतदेखिकै प्रवृत्ति हो । यसले अर्को संरचनाको खोजी नगर्ला भन्न सकिँदैन। परिस्थिति त्यस्तै बन्दैछ। परिवर्तन खोज्नुभन्दा यसको संस्थागत गर्ने रुचि हामीले देखाउन सक्नुपर्छ। यो प्रयोगको राजनीति, संरचना र शासन प्रणालीले हामी उँभो लाग्न सक्दैनौं ।

लेखकको फेसबुक एकान्टबाट साभार ।

Advertisement