सामाजिक सदभाव बिगार्न खोज्नेलाई सामाजिक सञ्जालबाटै हटाउन सुझाव

सामाजिक द्वन्द्व फैलाएर ठूला दलले अनियमितता लुकाउने प्रयास गर्दैछन्ः रवि लामिछाने
File Photo

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास ठूला दलहरुबाट भइरहेको तर्क गरेका छन् । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धरानमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए । लामिछानेले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । 

Advertisement

उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे । लामिछानेले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न आग्रह गरे । 

उनले भने, ‘अहिले पनि कतिपय मानिसहरु प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ । आजै मैले बोलेका कुरा जति बंग्याएर हालेपनि हुन्छ । बंग्याएर, टिंग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुुस् । त्यस्ता सोसल मिडिया अकाउण्ट भएका मानिसहरु ब्लक गर्नुहोस् । समाजको सद्भाव खल्बल्याउने मान्छेहरु किन ब्लक नगर्ने ? समाज सद्भाव बोक्ने बान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजी खोजी माया गरौँ । काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ । हाम्रो दुश्मन, गरिबी र अशिक्षा हो । बेरोजगारी हो । यो साझा दुश्मन हो ।’ 

लामिछानेले थपे, ‘आज जातिय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानूनी रुपमा वर्जित काम गर्न पाइँदैन । कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य हामी कसैले गर्नु हुँदैन । सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’

उनले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम गर्न नहुने बताए । 

Advertisement

Advertisement