गाडी आयात र बिक्रीमा कार्टेलिङ रोक्न एकभन्दा बढी एजेन्सी किन नगर्ने ?

Advertisement

गाडी आयात र बिक्रीमा कार्टेलिङ रोक्न एकभन्दा बढी एजेन्सी किन नगर्ने ? 

काठमाडौं । अटोमोवाइल क्षेत्रमा रहेको एकल एजेन्सी (आधिकारिक बिक्रेता) लामो समय टिक्न नसक्ने देखिएको छ । व्यवसायीबीच बढ्दो अस्वस्थ ‘कर्पोरेट वार’ले गर्दा एकल एजेन्सी धेरै नटिक्ने देखिएको हो ।

Advertisement

भन्सार ऐनमा नेपालमा सवारी साधन बिक्री गर्नका लागि मूल कम्पनीबाट नेपालको लागि आधिकारिक एजेन्सी लिनुपर्ने व्यवस्था गरेको छ । यसको फाइदा उठाएर अहिले यातायात तथा निर्माणका साधनहरुको बिक्रेताहरुले चर्को मूल्यमा सवारी साधनहरु बिक्री गरिरहेका छन्।

देशमा उद्योग धन्दा तथा कलकारखाना खोलेर नाफा कमाउन असजिलो हुन थालेपछि नेपाली व्यवसायीहरु ट्रेडिङ व्यवसायमा लम्किन थालेका छन् । छोटो समयमा मनग्य मुनाफा कमाउन सकिने भएपछि ट्रेडिङमा व्यवसायीहरु आकर्षित भएका हुन् ।

भन्सार ऐनमा आधिकारिक एजेन्सी नभई कारोबार गर्न नपाउने भनिएकाले पछिल्लो समयमा एक व्यापारीले अर्कोको एजेन्सी खोस्न होडबाजी सुरु हुन थालेको छ । गाडीको व्यवसाय गर्ने नेपाली व्यवसायीहरुबीच एकले अर्काको एजेन्सी खोस्न लबिङमा कुँदिरहेका देखिन्छन् । 

विशेषगरी, एकल एजेन्सी हुँदा विभिन्न खर्च शीर्षक देखाई चा पाँग्रे तथा दुई पाँग्रे बिक्रेताहरुले चर्को शुल्क लिइरहेको देखिन्छ । यस्तो कार्टेलिङको अवस्थामा उपभोक्ताले एकै ब्राण्डको गाडी वा मोटरसाइकल फरक वा सुपथ मूल्यमा प्राप्त गर्न सक्दैन् । सोही कार्टेलिङको फाइदा उठाउँदै बिक्रेता कम्पनीले धेरै बिक्री हुने आफ्नो सेग्मेन्टमा एकै वर्ष चार पटकसम्म मूल्यवृद्धि गर्ने गरेको पाइन्छ । 

गाडी उत्पादक कम्पनीहरुले हरेक युनिटमा बिक्रीवापत निश्चित रकम नाफा लिन पाउँछ । गाडी बिक्रीको टार्गेटअनुसार उत्पादक कम्पनीले विशेष कमिशन पनि दिने गर्छ । यस्तो कमिशन कतिपय कम्पनीले नेपालमा भित्राउँछन् भने कतिपयले बाहिर नै व्यवस्थापन गर्छन् । त्यसबाहेक सम्वन्धित कम्पनीको पार्टपुर्जा बिक्री र सर्भिस सेन्टरबाट फाइदा लिनसक्छ । तर विदेशी गाडी उत्पादक कम्पनीको एजेन्सी लिने सबै व्यापारीले फाइदा हुन्छ भन्ने छैन् । न्यून संख्यामा गाडी बिक्री गर्ने एजेन्सीहरुले भने फाइदा होइन्, नोक्सानी पनि भोग्ने गरेको देखिन्छ । 

स्वदेशमै रोजगारी बढाउने उद्देश्यले सरकारले एसेम्बल प्लान्टमा छुट समेत प्रदान गरेको छ । तर यसको नतिजा सकारात्मक आउन सकेको छैन् । छुट दिएअनुसार उत्पादनमा मूल्य घटाएर उपभोक्तालाई सहुलियत नदिएको भन्दै त्यस्ता व्यवसायीको आलोचना समेत भइरहेको छ । महालेखापरीक्षकको कार्यालयले समेत सरकारले दिएको कर छुट तथा सहुलियत व्यवसायीको खल्तीमा गएको औंल्याएको छ । 

नेपाली व्यवसायीहरुको एकाधिकार धेरै समय टिकाउ नहुने व्यवसायी विवेक दुगड बताउँछन् । उनले कर्पोरेट नेपालसँग भने, ‘नेपाली व्यवसायीबीच प्रतिस्पर्धा निक्कै अस्वस्थ ढंगले बन्दै गएको छ । अब विस्तारै एकल एजेन्सीबाट दोहोरो एजेन्सी सुरु हुन धेरै समय लाग्दैन् ।’ नेपालको अटोमोवाइल क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा निकै बढेको दुगडको भनाई छ । 

छिमेकी मुलुक भारतमा एकल एजेन्सी छैन् । दुई वा दुईभन्दा धेरै आधिकारिक बिक्रेताहरु हुँदा उपभोक्ताले सपथ मूल्यमा यातायातका साधन खरिद गर्न पाउने गरेका छन् । अरु देशमा पनि त्यो खालको व्यवस्था देखिन्छ । तर नेपालमा भने सरकारले नै एकल एजेन्सीको व्यवस्था गरेर कार्टेलिङलाई मलजल गरेको छ । एकातिर उत्पादक कम्पनीको मूल्यमा साढे दुई सय प्रतिशतसम्म कर लगाउने र त्यसमाथि व्यवसायीलाई एकाधिकार दिएर मनोमानी मूल्य कायम गर्न दिँदा उपभोक्तामाथि ठूलो शोषण हुँदै आएको छ । 

अटोमोवाइल क्षेत्रमा सिन्डिकेट हुँदा नेपाली उपभोक्ता धेरै ठूलो मारमा परेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । उनले भने, ‘अटो मोबाइल क्षेत्रलाई सरकारले नै विलासी वस्तुको रुपमा बुझ्यो । तर यसको नियमन कसले गर्ने भन्ने विषयमा स्पष्ट हुन सकेन् । केही वर्षअघि वाणिज्य तथा आपूर्ति विभागले मूल्यसम्बन्धी अनुसन्धान गर्न खोज्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै रोकिदियो । सिण्डिकेटधारी व्यवसायीलाई सरकारले नै संरक्षण गरेको छ ।’

खुला बजारमा उपभोक्तालाई छनोटको अधिकार हुनुपर्ने तिमिल्सिनाको भनाई छ । हाल ट्रयाक्टर, फोर्स गाडी लगायतमा दुई वटा बिक्रेता छन् । तर अरु यातायात साधन र निर्माण उपकरणमा भने एकल एजेन्सी नै छ । यसैबीच एजेन्सी हत्याउन ठूला व्यापारीहरुबीच होडबाजी चलेको छ । त्यसको पछिल्लो एक उदाहरण हो हिरो ब्राण्डको मोटरसाइकल । ज्योति समूहले दशकौंदेखि बिक्री गर्दै आएको र अर्बौ लगानी गरेको यो मोटरसाइकल चौधरी समूहका विनोद चौधरीले हात पार्ने अन्तिम तयारीमा छन् । 

नेपालमा चलेको अटोमोवाइल ब्राण्डहरु ठूला घरानाहरुको नियन्त्रणमा छ । ठूला घरानाले नै लिएको हुनाले अरु व्यवसायीले माग्न जाँदा नदिने गरेको नाडा अटोमोबाइल्स एशोसिएसनका उपाध्यक्ष सुनिल रिजाल बताउँछन् । उनले भने, ‘नेपालमा एकअर्कासँग खुल्ला र स्वस्थ प्रतिस्पर्धा गर्न चाहाँदैनन् । बरु अर्को ब्राण्ड लिन चाहान्छन् । एजेन्सी नै खोस्ने गरेका छन् । यो राम्रो होइन् ।’ विद्युतीय सामग्री, मोबाइल, ल्यावटपमा भने बढी नै एकभन्दा धेरै एजेन्सी देखिन्छ । 

Advertisement

Advertisement