नाडा अटो शो हुने कुराले व्यवसायी र उपभोक्ता खुशी, तर राष्ट्र बैंकको नीति देखेर निराश

Advertisement

काठमाडौं । कोरोना महामारीको कारण विगत तीन बर्षसम्म हुन नसकेको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक गर्न लागिएको छ । नाडा अटो शो हुने कुराले व्यवसायी र उपभोक्ता जति खुशी छन्, त्यति नै भित्र निराश पनि छन् । 

गाडी खरीदका लागि बैंक वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा (हायर पर्चेज लोन) प्रवाहसम्वन्धी नीतिमा नेपाल राष्ट्र बैंकले अझै पनि कडाई गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत यस्तो नीतिमा सुधार हुने धेरैको अपेक्षा थियो । तर राष्ट्र बैंकले बैंक वित्तीय संस्थाबाट प्रवाह हुने फाइनान्सिङ (ऋण प्रवाह)सम्वन्धी प्रावधान पुनरावलोकनको आश्वासन मात्रै दिएर टारेको छ । 

Advertisement

अनुत्पादक क्षेत्रको रुपमा राखिएको अटोमोवाइल क्षेत्रमा गरिने फाइनान्सिङमा ५० प्रतिशतको सीमा अझै कायम छ । बैंक वित्तीय संस्थाहरुको ऋणको ब्याजदर अझै पनि घट्न सकेको छैन् । तर हायर पर्चेज कर्जामा भने १५० प्रतिशतसम्मको जोखिम भार (रिक्स वेटेज) कायम गरिएको छ । यस्तो अव्यवहारिक शर्त राखेर सरकारले अटोमोवाइल क्षेत्रप्रति साह्रै अन्याय गरेको एक अटोमोवाइल व्यवसायीले बताए । 

उनले भने, ‘यस्तो अवस्थामा ‘अटो शो’ हुन लागेको छ, जतिबेला बैंकहरुलाई हातखुट्टा बाँधेर दौडिन लगाएजस्तो छ । जुत्ता मेला जस्तो मात्रै बनाएर भएर नि अटो शो त । अटो शो भन्ने बित्तिकै करोडौं खर्च भएको हुन्छ । एउटैले ४०–५० लाखदेखि ७०–८० लाखसम्म खर्च गरेर स्टल राखेको हुन्छ । त्यसबाहेक गाडी बुकिङमा दिइने अफरमा थप खर्च हुन्छ । बुकिङ नै भएन् । बिक्री नै भएन् । ग्राहकले किन्न चाहेर पनि फाइनान्सको समस्याको कारण किन्न सकेन भने के अर्थ हुन्छ ? खरीद बिक्री भए पो आर्थिक गतिविधि पनि बढ्थ्यो । सरकारलाई राजश्व पनि बढ्थ्यो । त्यसैको आधारमा अरु व्यवसायिक गतिविधि पनि हुन थाल्थ्यो ।’ 

ती व्यवसायीले थपे, ‘मानिसहरु गाडी किन्न उत्सुक पनि छन् । आतुर पनि छन् । यस पटक पहिलाभन्दा धेरै मानिस पनि आउँछन् । किनभने तीन बर्ष अटो शो भएको छैन् । तर किन्ने वातावरण छैन् । फाइनान्सिङ सहज नभएसम्म अपेक्षाअनुसार गाडी बिक्री हुनै सक्दैन् ।’ केही बैंकहरुले नाडा अटो शोमा सहभागिताको लागि कुरा गरे पनि पहिला जस्तो चासो देखाएका छैनन् । हालसम्म पाँच वटा बैंकले अफरसहित मेलामा भाग लिने प्रतिवद्धता जनाएका छन् । 

नाडा अटोमोवाइल एशोसियशनका अध्यक्ष ध्रुव थापाले राष्ट्र बैंकको नीतिमा सुधार नभएसम्म अटोमोवाइल क्षेत्रमा सुधार नआउने स्वीकार गरे । यद्यपि तीन बर्षसम्म अटो शो नहुँदा अटोमोवाइल क्षेत्रमा निराशा बढ्दै गएकोले वातावरण नहुँदा नहुँदै पनि आफूहरुले मेला गर्न लागेको बताए । राष्ट्र बैंकले मौद्रिक नीतिमा जनाएको प्रतिवद्धता अनुसार अटो लोनसम्वन्धी शर्तहरुमा पुनरावलोकन गरिदियोस् भन्ने आफूहरुको अपेक्षा रहेको उनले बताए । 

थापाले भने, ‘फाइनान्सको समस्या त अझै पनि छ । तै पनि अहिले बैंकहरुसँग तरलता भएको बेला छ । बैंकहरुले पनि अटोमोवाइल क्षेत्रमा लगानी गर्न खोजेको अवस्था छ । यसले केही भाइब्रेन्ट गराउँछ कि भन्ने आशा हामीलाई छ । समस्या हुँदाहुँदै पनि अहिले नाडा अटो शो गर्नैपर्ने बाध्यता छ हामीलाई । विगत तीन बर्षदेखि अटो शो नभएकोले यस पटक चुनौती नै भए पनि गर्नुपर्छ भन्ने सबैको एक मत छ ।’

यो मेलाबाट सकारात्मक नजिता आउला भन्ने आफूहरुले विश्वास लिएको उनले बताए । थापाले सरकारको नीतिप्रतिकुल हुँदाहुँदै पनि दशैंतिहारको नजिक सवारीसाधन खरीद गर्ने, परिवर्तन गर्ने योजना मानिसहरुको हुन्छ भन्दै यो समयमा कम्पनीहरुको पनि अफर हुने भएकाले ग्राहकहरुलाई आकर्षित गर्ने आशा व्यक्त गरे । उनले भने, ‘सबै मानिसले फाइनान्स नै गर्छन भन्ने पनि हुँदैन् । पैसा हुनेले नगदमा पनि किन्न सक्छन् । छुट सुविधा पाएर गाडी किन्न चाहनेहरु यो अटो शोलाई उपयोग गर्न सक्छन् ।’

नाडा अटो शो यही भदौ २६ गतेबाट राजधानीको भृकुटीमण्डपमा आयोजना हुँदैछ । पाँच दिनसम्म चल्ने मेला गाडी कम्पनीहरुले नयाँ नयाँ प्रोडक्ट लन्च गर्ने र उभापक्तालाई आकर्षक अफरहरु दिने योजना बनाएका छन् । 

Advertisement

Advertisement