आईएमई समूहले ३३ अर्बभन्दा बढी लगानीमा १५२ मेगावाट क्षमताका दुई आयोजना बनाउने

Advertisement

काठमाडौं । आएमई समूहद्वारा प्रवद्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रा.लि.का अध्यक्ष चन्द्र ढकालले मंगलबार पीपीएमा हस्ताक्षर गरेका हुन् । 

अहिले ५८ मेगावाट क्षमताको पीपीए भए पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोले बाँकी क्षमताको पनि छिटै पीपीए गरिने आईएमई समूहले जनाएको छ ।

Advertisement

म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा पर्ने यो आयोजना मध्यकालीगण्डकी जलविद्युत आयोजना र मिस्त्रिखोला २ आयोजनाको क्यास्केडको रुपमा विकास गरिएको हो । 
आयोजनास्थलमा राजमार्गको पहुँच रहेको भने प्रसारण लाइन समेत बनिसकेको छ ।

प्राधिकरणले आयोजनाबाट उत्पादित उर्जा सुख्खायाममा ८.४० रूपियाँ प्रतियुनिट र वर्षायाममा ४.८० रूपियाँ प्रतियुनिट र व्यापारिक उत्पादन शुरु मितिबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्यवृद्धि दिई प्राधिकरणले खरीद गर्नेछ । 

आयोजनाबाट उत्पादन हुने विद्युत प्राधिकरणको निर्माण सम्पन्न गरिसकेको कालीगण्डकी करिडोर अन्तर्गत दाना सवस्टेशनमा जोडिने छ ।
आइएमई समूहबाट प्रवद्धित हाईड्रो सपोर्ट प्रालिबाट ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पीपीए यसअघि नै सम्पन्न भइसकेको छ । 

यी दुई वटा आयोजनाको कूल विद्युत क्षमता सुख्खायाममा २९५.४६८ र वर्षायाममा ६३०.८९५ गरि कूल वार्षिक ९२६.३६५ गिगावाट आवर हुनेछ । दुवै आयोजनाहरु २०८६ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

आयोजनाको कूल लागत ३३ अर्ब १४ करोड रूपियाँ रहेको छ । आयोजनामा स्वपूँजी लगानी आइएमई समूहलगायतको हुनेछ भने वित्तीय व्यवस्थाको लागि नविल बैकको अगुवाइमा प्रक्रियामा रहेको जनाइएको छ ।  

आयोजनाहरु सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा थप पूर्वाधारहरुको विकास हुने, स्थानीयलाई थप रोजगारी प्राप्त भई स्थानीय सीपमा अभिवृद्दि हुनाका साथै स्थानीयस्तरमा आम्दानी तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने आईएमई समूहको भनाई छ । 

Advertisement

Advertisement