कम्पनीले जनचाहनाको प्रोडक्ट बनाएनन्ः प्राधिकरण, डिजिटल प्रोडक्ट सुरु भइसक्योः कम्पनी

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब बीमा कम्पनीहरुले नयाँ बीमालेख जारी गर्दा भौगोलिक स्थितिको समेत अध्ययन विवरण उल्लेख गर्नुपर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा कम्पनीहरुले पूराना शैलीका बीमालेख बजारमा ल्याउँदा उल्टै बजारीकरणमा समेत असर परेको भन्दै भौगोलिक स्थितिको समेत अध्ययन विवरण माग्ने तयारी गरिएको बताए । 

Advertisement

पौडेलले भने, ‘हामीले भन्न खोजेको कुरा बीमा कम्पनीहरुले अझै बुझेनन् । कम्पनीहरुले नयाँ प्रोडक्ट ल्याउनु भन्ने कुराको पालना गरेको अवस्था छैन् । तर, त्यसरी नयाँ प्रोडक्ट ल्याउँदा बीमा कम्पनीहरु आफैलाई निकै फाइदा पुग्छ । नयाँ प्रोडक्ट बजारमा आउँदा जनतामा आकर्षण बढ्ने भएकाले त्यसलाई बीमा कम्पनीहरुले गम्भीरतापूर्वक लिनुपर्छ ।’ 

यता, निर्जीवन बीमक संघका प्रवक्ता तथा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले बीमा कम्पनीहरुले पछिल्लो समय डिजिटल बीमालेखहरु जारी गर्ने अभ्यास गरिरहेको र त्यसले पनि धेरै नै ग्राहकको आकर्षण बढेको बताए ।

उनले नयाँ डिजिटल प्रोडक्टले बीमितहरुमा आकर्षण मात्र नभई सहजतासमेत थपेको बताउँदै तर प्राधिकरणले औंल्याएको भौगोलिक स्थितिको अध्ययनको विषयमा भने खुल्न चाहेनन् । खड्काले मर्जरपछि बीमा कम्पनीहरुले डिजिटल्ली व्यवसाय गर्न प्रयास गरिरहेको समेत बताए । नेको इन्स्योरेन्सको हकमा पनि नयाँ प्रोडक्ट ल्याउन आफूहरु लागिपरेको उनले बताए । 

सीईओ खड्काले केही नयाँ प्रोडक्टहरु बीमा बजारमा आइसकेको पनि बताए । मर्जरमा गएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले समेत केही दिनअघि डिजिटल बीमालेख जारी गरेको उदाहरण दिए । 

तर प्राधिकरणले भने कम्पनीहरुले हालसम्म कस्ता बीमितका लागि प्रोडक्ट जारी गरेको हो ? अध्ययन नगरी बीमालेख ल्याउँदा समस्या सिर्जना भएको बताएको छ । कतिपय बीमा कम्पनीहरु मर्जरमा गएकाले कम्पनीहरुले आफ्नो व्यवसायमा फेरबदल गरी आकर्षण बढाउन राम्रा प्रोडक्टको ठूलो भूमिका हुने पौडेलले बताए । 

उनले हालसम्म ‘मनि व्याक’ पोलिसिमा नै बीमा कम्पनीहरुले जोड दिएको भन्दै अबदेखि एक्चुरी (बीमांकी)लाई आफ्ना कम्पनीको मात्र नभई बीमितहरुको भौगोलिक अवस्थाको समेत वास्तविक जानकारी दिएर बीमालेख तयार गर्नुपर्ने बताए । 

हालसम्म बीमा कम्पनीहरुले जनताको चाहना नहेरेको समेत पौडेलले आरोप लगाए । उनले भने, ‘जसले जेसुकै भने पनि अहिलेसम्म हाम्रा बीमा कम्पनीहरु जनताको चाहनामा केन्द्रीत भएर बीमालेख जारी गरेजस्तो देखिँदैन । जनचाहना र भौगोलिक अवस्थाको समेत अध्ययन गर्ने हो भने बल्ल बीमा कम्पनीहरुमा बीमितको संख्या बढ्छ र उनीहरुले आफ्नो व्यवसायको आकार पनि बढाउन पाउँछन् ।’

हालसम्म बीमा कम्पनीहरु मिलेर एउटै रोटी तानातान गरेजस्तो एउटै प्रोडक्टमा केन्द्रीत हुने गरेको प्राधिकरणको भनाई छ । कम्पनीहरुले भने प्राधिकरणले पनि प्रोडक्ट ठिक भएन भन्ने तर त्यही पूराना प्रोडक्टलाई स्वीकृति दिने प्रवृति नसच्याएको गुनासो गर्छन् । 

Advertisement