एकै परिवारका चार दाजुभाई एकसाथ केटु चुचुरोमा पुगेर विश्व कीर्तिमान

Advertisement

काठमाडौं । एकै परिवारका चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान बनाएका छन् । संखुवासभाको मकालु गाउँपालिकाका चार दाजुभाईले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका हुन् । 

उनीहरुले गत जुलाई २७ तारिखमा पाकिस्थानको स्थानीय अनुसार बिहान ११ः२० बजे केटु आरोहण गरेका थिए । कीर्तिमान बनाउने आङ दावा शेर्पा, पेचुम्बे शेर्पा, मुक्तु ल्हाक्पा शेर्पा र ङिमा दोर्ची शेर्पा छन् । 

Advertisement

चार जना दाईभाईले सँगै केटु हिमाल आरोहण गर्ने सोच कसरी आयो ? भन्ने सन्भर्दमा उनीहरुको प्रतिक्रियाः 

आङ दावा शेर्पा (सातौं छोरा)
चार जना दाजुभाईसँगै केटु हिमाल आरोहण गर्ने योजना २०२१ मा बनेको हो र २०२३ मा आएर चाहिँ सफल भयो । मैले २००२ देखि आठ हजार मिटरभन्दा अग्ला हिमालहरु आरोहण गर्न सुरु गरेको हो । २००२ देखि २००८ सम्म मैले पाँच पटक सगरमाथाको सफल आरोहण गरें । हामी चारै जना दाजुभाई सगरमाथा आरोही हौं । यो प्रोजेक्ट नै सेभेन समिट ट्रेक कम्पनीले गर्दा सफल भएको हो ।

त्यस्तै, २००९ देखि मैले हिमाल आरोहण गर्न बन्द गरें । २००९ पछि मैले २०२३ मा आएर तीन जना दाजुभाइसँगै केटु हिमाल चढेको हो । धेरै वर्षपछि हिमाल आरोहण गर्दा केही गाह्रो पनि भयो । तर पनि आरोहण सफल भयो । त्यसमा निकै खुःसी छु । मौसम पनि नराम्रो थियो केटु हिमाल आरोहण गर्दा । तर, टिमको प्रयासले गर्दा सफल भयो । एकै परिवारको दाजुभाई एउटै ठाउँमा जाँदाखेरी केही भएर चार जनाकै मृत्यु भयो भने त गाह्रो हुन्छ भन्ने पनि थियो मनमा । 

केटुको शिखरमा चार जना नै पुग्दा निकै खुःसी पनि लाग्यो । हिमालमा चढ्न भन्दा पनि चुचुरोबाट बेस क्याम्प फर्किन केही गाह्रो हुँदो रहेछ । हामी चार जनाले केटु हिमालको सफल आरोहण गर्दा सम्पूर्ण नेपालीको लागि गर्वको कुरा हो । हामीले हाम्रो मात्र नाम राखेनौं, विश्वमा हामी चार जना नेपाली दाजुभाईले सँगै आरोहण गरि कीर्तिमान कायम गर्यौं भनेर चिनाउन सफल पनि भयौं । 

पेचुम्बे शेर्पा (आठौं छोरा)
मैलेले सगरामाथा, मकालु, कञ्चनजङ्घा, अन्नपूर्ण, मनास्लु, धौलागिरी, नङ्गा पर्वत दुई पटक, गासरब्रम–१, गासरब्रम–२, केटु लगायत विभिन्न हिमालहरुको आरोहण गरिसकें । साथै, केटु हिमाल पनि यसअघि चढिसकेको हो । तर, यस पटक चाहिँ फरक रहयो । केटुको दोस्रो पटक आरोहणमा म र मेरो तीन जना दाजुभाईसँग थियो । यस पटक आरोहण गर्न गाह्रो नै थियो । करिब तीन पटक हिमपहिरो आएको थियो । तीन पटकको अन्तिम हिमपहिरोले झण्डै सिध्याएन् । हामी चारलगायत करिब ६० जना आरोही थियौं । झण्डै हिमपहिरोले लगेन् । हामी सबैलाई भाग्यले बचायो । अहिलेसम्म मैले धेरै वटा हिमाल आरोहण गरिसकेको छु । तर, आफनै दाजुभाइसँगै हिमाल आरोहण गर्न पाउदा निकै खुःसी र गर्व लागेको छ । ​

मुक्तु ल्हाक्पा शेर्पा (काँइलो छोरा)
मैले १९९४ हिमाल आरोहण गर्न सुरु गरेको हो । सगरमाथा, ब्रोडपिकलगायत अरु थुप्रै हिमाल आरोहण गरिसकेको छु । केटु हिमाल मैले तेस्रो पटक अरु तीन जना दाजुभाईसँगै आरोहण गरेको हो । सफल पनि भयो । भाइहरु पनि खुशी छ । उनीहरुप्रति धेरै नै खुःसी छु यस्तो प्रोजेक्ट मिलायो र सफल पनि भयो । 

ङिमा दोर्ची शेर्पा (छैठौं छोरा)
मैले २००४ देखि हिमाली क्षेत्रमा काम गर्न सुरु गरेको हो । सगरमाथा, मकालु, मनास्लु, कञ्चनजङ्घा, शिशपाङ्मा चढिसकेको छु । सन् २०२२ मा केटु पनि आरोहण गरेको थिएँ । सन् २०२३ मा फेरि दाजुभाई मिलेर केटु हिमाल चढेको सफल भयो । कीर्तिमान पनि बनाएकोमा निकै खुशी छु । 

Advertisement

Advertisement