संघीयता खारेज हुनसक्छः झलनाथ खनाल, ‘हामीले प्रयोग गरेको हो’

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा उनले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुनसक्ने बताएका हुन् । 

पछिल्लो समयमा आर्थिक बोझको रुपमा लिइएको संघीयताका कारण देश झन आर्थिक संकटतर्फ जान थालेपछि खारेजीको माग चर्कोरुपमा उठिरहेको बेला खनालले पनि सो कुराको संकेत गरेका हुन् । यद्यपि उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताए । 

Advertisement

आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै खनालले संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए ।

उनले भने, ‘अब यो देशमा लामो अवधिसम्म त संघीयता थिएन । हामीले २०६२–६३ को परिवर्तनपछि यो प्रयोग गरेका छौँ । यो नयाँ प्रयोग हो । यो नयाँ प्रयोग कत्तिको जगमा उभिन्छ ? हामीले यसलाई ठिक ढंगले प्रयोग गर्दै गयौँ, राम्रो ढंगले फलदायी भयो, आम जनतालाई यसले बढी मात्रामा सेवा पु¥याउनसक्यो भने यो संरचना टिक्न पनि सक्छ । नत्र भने त्यो कुरा एउटा बोझ, भारी मात्रै भयो भने त्यो कुरामा परिवर्तन पनि हुनसक्छ ।’ 

खनालले थपे, ‘हिजो १४ अञ्चल थियो । त्यो गयो । त्यस्तै गरेर यो अहिले जुन संविधान बनेको छ, संविधानले संघीयतामा हामी गएका छौँ । यो संविधान त कार्यान्वयको प्रक्रियामा पनि छ । त्यसैले पूर्ण रुपले कार्यान्वयनमा गइसकेको छैन् अझै । संघीयता अहिले पनि प्रयोगको कुरा हो । प्रयोगमा छ । यसलाई सफल गर्न सक्नुपर्छ । देशको आवश्यकता हो, प्रयोग गरेर सफल गर्न सक्नुपर्छ, देशको आवश्यकता होइन भने आफैँ भोलि तपाईं हामीले चाहे पनि नचाहे पनि त्यो समाप्त हुन्छ । हामीले यसको बिस्तारै समीक्षा गर्नुपर्छ । कतिपय कुरामा केही कुरामा नयाँ ढंगले सोच्नुपर्छ कि भन्ने कुरा आइरहेको छ ।’

उनले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले सरकारको भविष्य निर्धारण गर्ने बताए । 
 

Advertisement

Advertisement