नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यालय भवन उद्घाटन, अत्याधुनिक र सुविधासम्पन्न

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नयाँ कार्यालय भवनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । त्रिभुवन विमानस्थल अगाडि सिनामंगलमा भवन एक अर्ब ८० करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको क्यानले बताएको छ । 

अत्याधुनिक र सुविधा सम्पन्न भनिएको यो भवन २०७२ सालको भूकम्पअघि नै निर्माण सुरु भए पनि विभिन्न कारण देखाउँदै सम्पन्न गर्न ढिलाई गरिएको हो । कुल ३० रोपनी जग्गामध्ये १२ रोपनीमा निर्माण भएको यो भवन नक्सा पास नगरी निर्माण गरिएको भन्दै क्यान र काठमाडौं महानगरपालिकाबीच विवाद समेत भएको थियो । 

Advertisement

तीन तले बेसमेन्टसहित १२ तल्ले यो भवनमा कर्मचारी र सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्ने र लिनेगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । उनले यसबाट उड्डयन क्षेत्रमा सकारात्मक प्रवाह पर्ने आफूहरुले आशा लिएको बताए । 

undefined

भवनमा ६५ वटा कार, १२० वटा मोटरसाइकल, २५ वटा साइकल पार्किङ गर्ने क्षमता रहेको र फरक क्षमता भएका व्यक्तिमैत्री ढंगले निर्माण गरिएको, सार्वजनिक सुचना प्रणाली, आगो नियन्त्रण प्रणाली, पानी प्रशेधन प्लान्ट, सुचना प्रविधि डाटा सेन्टर रहेको बताउँदै क्यानले यसमा चार सय जना कर्मचारी काम गर्न सक्ने बताएको छ । 

भवन उद्घाटनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि पुगेका थिए । किराती र महानिर्देशक अधिकारीबीच बीचमा निकै तिक्तता बढे पनि पछिल्लो समयमा एकाएक सम्वन्धमा सुधार आएको छ । 

Advertisement

Advertisement