देशमा आजकल यस्तै छ

Advertisement

काठमाडौं । नविल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीआईओ) मनोज ज्ञवालीले देशको पछिल्लो आर्थिक परिस्थितिबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै सरकारको आलोचना गरेका छन् । 

उनले बढ्यो युवा पलायनदेखि आर्थिक अवस्थामा देखिएको शिथिलताले गर्दा उद्योग व्यवसायमा गहिरो प्रभाव परेको भन्दै सरकार भने रेमिटान्स गणना गरेर बसेको बताएका छन् । उनले समस्या समाधानका लागि केही उपाय पनि सुल्झाएका छन् । 

Advertisement

ज्ञवालीको विचार जस्ताको तस्तैः 
– सरकार बजेटमा करको दर बढाउँछ । जसरी पनि आय बढ़ाउने लक्ष्यका साथ कर संकलनको जोहो गर्न खोज्दछ तर राजश्व संकलन झन कम हुँदै जान्छ ।

– अर्थतन्त्रका सुचकांकहरुमा सुधारका अंकहरु प्रकाशित भइरहकेका छन् तर उधमी व्यवसायीको मनोबल निरन्तर गिर्दो छ ।

– बैंकिङमा तरलता छ अनि कर्जाको माग छैन् तर बैकहरु ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धामा उत्रिरन्छन् । ब्याजको बोझ बढ्दो छ । 

– बैकिङको नाफा बढ्यो सरकारले बैकबाट पाउने कर बढ्यो तर शेयरधनीले पाउने लाभांशको प्रतिशत गत बर्षको आधा पनि नहोला जस्तो छ ।

– हरेक बर्ष युवा उमेरका विद्यार्थी थपिँदैछन तर पहिला भर्नाका लागि प्रतिस्पर्धा हुने कलेजहरूले कोटा बराबरकै विधार्थी भर्ना लिन सकिरहेका छैनन् । भर्ना भएका विधार्थी पनि हरेक वर्ष घट्दै जान्छन् ।

– हरेक पेशा व्यवसाय र जिम्मेवारीमा रहेका नेता वा अधिकारी वा नागरिकहरु आफ्नो भूमिका नियाल्ने होईन, दोषको सुई अरुतिरै देखाएर आफू चोखो हुने प्रतिस्पर्धामा छन् ।

– हिरो हुनलाई वा वाहवाही पाउनलाई काम गरेर प्रमाणित गर्नु वा काम गर्ने प्रष्ट खाका देखाउनु पर्दैन शब्द मिलाएर पूराना नेतालाई गाली गरे पुग्ने भएको छ ।

– समस्या सबैलाई थाहा छ तर समाधानको एउटा कडी आफू बन्न कोही तयार छैन् ।

– नेताहरु कार्यकर्तालाई देशमै रुमल्याएर आफ्ना सन्तानहरू विदेशमा स्थापित गराउँछन् । कसैले सन्तान देशमै राखे भने पनि सन्तानहरू दलालीमा लाग्दछन् ।

– सरकारी र नियामकीय निकाय होस वा संस्थाका उच्च अधिकारीहरूलाई समाज अनि देशको समृद्धि कसरी हुनसक्छ ? भन्ने बुद्दि अवकास प्राप्त भईसकेपछि आउँछ ।

– हरेक बर्ष बजेटमा पुँजीगत खर्चको अनुपात घट्दो छ र सदुपयोगितामा समस्या बढ्दो छ । समृद्धि नारामैं सिमित छ ।

– नागरिकहरुको दिनको ४–५ घण्टा सामाजिक सञ्जालमा अनुत्पादक र फाल्तु कन्टेन्ट हेरेर बित्छ । सामाजिक विचलन बढ्दो छ ।

– देश कहालीलाग्दो गरी ‘ब्रेन ड्रेन’ र ‘क्षमता पलायन’को चक्रमा फँस्दैछ । खेतबारी बाँझो हुने क्रम बढ्दो छ तर देश रेमिट्यान्सको गणना मै ख़ुशी छ ।

– इकोनोमिक इन्डिकेटरहरुमा भएका केही सुधारलाई लिएर राज्यले आफ्ना का्र्यहरुको बचाउ गर्न खोज्दछ तर इण्डिकेटर जस्तो सुकै होस, इण्डिकेशन राम्रो छैन् भन्दै विदेश पलायन हुने क्रम बढ्दो छ ।

– यी परिदृष्यहरु पक्कै राम्रो छैनन् । बेलामा सोच्न सकेनौ भने भविष्यमा पछुताउनुबाहेक विकल्प नरहने देखिन्छ ।

अबः
– सबै पेशा र जिम्मेवारीमा भएको नागरिकहरूले आफ्नो भूमिकामा न्याय गर्नुपर्छ । अरुलाई दोष दिएर आफू पन्छिने प्रवृतिमा सुधार गर्नेपर्छ ।

– सरकारले आय बढाउने र चालु खर्च घटाउने रणनीति यथासम्भव छिटो शुरु गर्नुपर्छ । मेजर पोलिटिकल रिस्ट्रक्चरिङ, ब्युरोक्राटिक रिस्ट्रक्चरिङ, सिस्टम एण्ड प्रोसेस इन्ट्रिगेसन विथ अटोमेशनमा काम बिलम्ब नगरी गर्नुपर्छ । 

– ब्युरोक्राटिक रिस्ट्रक्चरिङ, सिस्टम एण्ड प्रोसेस इन्ट्रिगेसन विथ अटोमेशनबाट चालु खर्च कटौती गर्ने र सरकारी कर्मचारीको तलब सम्मानजनक जीवनयापन गर्नसक्ने गरी बृद्दि गर्नुपर्छ र भ्रष्टाचारमा शुन्य सहनशीलतामा काम गर्नुपर्छ ।

– सरकारी नियुक्तिहरु राजनैतिक आस्था, नातागोता वा अन्य आधारमा होइन अनुभव, विगतको कार्यक्षमता मापन र पेश गरेको रणनैतिक कार्ययोजनाको आधारमा गरिनुपर्दछ । यसरी नियुक्ति लिने अधिकारीहरूले गरेका कार्ययोजनालाई त्रैमासिक रुपमा कार्यसम्पादन परिक्षण गर्नुपर्छ र जिम्मेवार बनाउनु पर्दछ।

– अदालतमा न्यायाधीशहरुको नियुक्ति राजनीतिक आस्थाको आधारमा गरिनु हुँदैन। न्यायालयलाई ‘व्यवहारमै स्वतन्त्र राख्नुपर्छ । 

– राजनीतिक अस्थिरता सबै समस्याको मुल जरो हो । पूराना राजनैतिक दल आमूल परिवर्तन हुन जरुरी छ । नयाँ ससाना दलहरु थपिदै जाँदा र भोटहरु बाँडिदै जाँदा राजनैतिक अस्थिरता झन थपिने देखिन्छ । पार्टिहरु धुर्बीकरण भएर दुई वा तिन ठूलो दलहरु चुनावमा प्रतिस्पर्धी भैदिए हुने । राजनीतिक अस्थिरताका कारण आएका र आउनसक्ने समस्याका बारेमा दलको नेतृत्व चिन्तनशील हुन जरुरी छ ।

– देशको अर्थतन्त्रलाई टेवा दिनसक्ने कृषि, पर्यटन तथा उत्पानशील क्षेत्रलाई बैंक, नियामक र सरकारले प्रोत्साहन गर्नु पर्दछ ।

– निजी क्षेत्र लाई विस्वासमा लिने गरी अल्पकालिन , मध्यकालीन र दिर्घकालिक उपाय हरु मा काम गर्नुपर्छ।

हुन त सुझाव दिन सजिलो छ । आफैले कति काम सही होईन भन्ने थाहा हुँदाहुँदै पनि सही गर्नुपर्दछ । तर, पनि हरेक नागरिक ज़िम्मेवार, जानकार र सचेत हुँदै आउदो पुस्तालाई कस्तो देश छोडेर जाने ? भन्ने कुरामा चिन्तनशील हुन जरुरी छ । सकेसम्म पहिले आफ्नो भूमिकामा न्याय गरौ । विभिन्न पेशा, व्यवसाय र भूमिकामा हुने हरेक नागरिकले आफ्नो भूमिकामा ईमानदारीका साथ देश सम्झेर न्याय गरे देश समृद्ध हुन्छ नै । 

Advertisement

Advertisement