तीनकुने हत्याकाण्डको छानविन गर्न छानविन समिति गठन, शंकास्पदहरुको पक्राउ जारी

Advertisement

काठमाडौं । राजधानीको तीनकुनेमा भएको चार जनाको हत्याको छानविन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाइएको हो । 

Advertisement

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य छन् । 

तिनकुनेस्थित दिव्य सःमिलभित्र गए राति धारिलो हतियार प्रहार गरेर एकै परिवारका तीनसहित चार जनाको हत्या गरिएको थियो । सो हत्याकाण्डमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्रा वाइवा, कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । राईले मदिरा सेवन गरेको पाइएको छ । हत्याको कारण खुल्न सकेको छैन् । 

अहिले प्रहरीले सःमिल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र केही शंकास्पद व्यक्ति पनि नियन्त्रणमा लिएको जनाइएको छ । चार जनाको हत्यामा एकजनाभन्दा बढीको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । 

Advertisement