सिजी सिमेन्ट पाल्पाले चुक्ता पुँजी बढाएर १३ अर्ब १० करोड पुर्यायो

Advertisement

काठमाडौं । सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो । कम्पनीको ६० करोड ७९ लाख पुँजी वृद्धिको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक प्रर्वद्धन बोर्डले अनुमति दिएको छ । 

लगानी वृद्धिसम्वन्धी प्रस्तावलाई बोर्डको २३९ औं बैठकबाट अनुमति मिलेको उद्योग विभाग स्रोतले बतायो । स्रोतका अनुसार कम्पनीको अब कुल पुँजी १३ अर्ब १० करोड ७९ लाख पुगेको छ । उनको भनाई छ, ‘सिजीको पाल्पा सिमेन्टको पुँजी वृद्धि भएको छ । कम्पनीले विभागको अनुमति तथा दर्ता शाखामा दिएको निवेदन अनुसार औद्योगिक प्रवर्द्धन बोर्डबाट पुँजी वृद्धि भएको हो ।’

Advertisement

कम्पनीले स्थीर पुँजी ५५ करोड ३० लाख ६३ हजार र चालू पुँजी चार करोड ४८ लाखले वृद्धि गरेको हो । यसअघि कुल पँजी १२ अर्ब ५० करोड रहेको सिजी सिमेन्टको चुक्ता पुँजी बढेर १३ अर्ब १० करोड ७९ लाख पुगेको छ ।

कम्पनीको वार्षिक क्लिंकर उत्पादन क्षमता नौ लाख २४ हजार मेट्रिकटन छ । यसैगरी, उसले वार्षिक नौ लाख ७३ हजार ५१५ मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा ओपीसी सिमेन्टतर्फ आठ लाख ३२ हजार ३४८ मेट्रिक टन र पीपीसी सिमेन्टतर्फ एक लाख ४१ हजार १६७ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य छ ।

सिजी सिमेन्ट पाल्पाले खानी तथा भूगर्भ विभागबाट खानी उत्खननको अनुमति प्राप्त गरी व्यवसायिक कारोबार सञ्चालन गर्ने अनुमति लिएको छ । खनिज, सिमेन्ट क्लिंकर उद्योगको खानी तथा भूगर्भ विभागको खानी उत्खनन अनुमति पत्र र स्वीकृत माइनिङ स्किमको अधिनमा रही उत्खनन वा प्रशोधन वा दुवै उद्देश्य राखी पुँजी तथा क्षमता वृद्धि स्वीकृत गर्ने अधिकार उद्योग विभागका महानिर्देशकलाई प्रत्यायोजन गर्ने निर्णय बोर्डको २३९ औं बैठकले गरेको छ।

सिजी सिमेन्ट चौधरी समूहका प्रमुख तथा व्यवसायी विनोद चौधरीको लागानी रहेको उद्योग हो । उक्त ग्रुपले भारतमा पनि सिमेन्ट निर्यात गर्न भन्दै केही हप्ताअघि त्यहाँको अदानी ग्रुपसँग सम्झौता गरेको थियो।

पाल्पामा करिब पाँच सय रोपनी जग्गामा सिमेन्ट उद्योगको प्लान्ट निर्माण भइरहेको छ । निर्माण सम्पनन नभईकन चौधरी समूहले उद्योगमा पुँजी वृद्धिको अनुमति लिएको हो । 

Advertisement

Advertisement