पोखराका लागि यतीको रात्रिकालिन उडान शुरु

Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आईएफआर उडान) शुरु गरेको छ । उक्त उडान आज आइतबारबाट लागू हुनेगरी तालिका मिलाएको कम्पनी जनाएको छ ।

पोखरा विमानस्थलमा यसअघि नै रात्रिकालिन उडानको सुविधा भए पनि यतीले ढिलो गरी यस्तो उडान सुरु गरेको हो । पोखरामा गत माघ १ गते यतीको विमान दुर्घटना हुँदा निकै ठूलो जनधनको क्षति भएको थियो । पोखरामा बुद्ध एयरले यसअघि नै यस्तो उडान सुरु गरिसकेको छ । 

Advertisement

काठमाडौंबाट साँझ ५ः३० बजे उडान नम्बर एनवाईटि ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत उडान तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समयभन्दा पछाडी उडान संख्या थप हुँदै जानेछ । आईएफआर उडान शुरु नहुँदा कहिलेकाहीं ढिला हुँदा साँझका उडान रद्द हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले दावी गरे । 

पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

Advertisement

Advertisement