तीनकुने हत्याकाण्डः आरोपी दीपेन्द्र राई निर्दोष, हत्यामा संलग्न भन्दै सञ्जय भण्डारी पक्राउ

Advertisement

काठमाडौं । तीनकुने हत्याकाण्डमा प्रहरीले यसअघि पक्राउ गरेको दीपेन्द्र राई निर्दोष देखिएको भनदै रिहा गरेको छ । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । 

अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईको संलग्नता नदेखिएपछि रिहा गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको छ । 

Advertisement

शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । हत्यामा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६ वर्षकी शुभद्रा भुजेल र १९ वर्षका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेपछि उनीमाथि प्रहरीले आशंका गर्दै पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा अर्कै व्यक्तिको संलग्नता देखिएपछि आइतबार प्रहरीले पेप्सीकोलाबाट सञ्जय भण्डारीलाई पक्राउ गरेको हो । 

भण्डारीले आफ्नो नवीन राईसँग रिसइबी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ । घटनासम्वन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ । 

यो सःमिल एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको हो । उनी गत संसदीय निर्वाचनमा पराजित उम्मेदवार हुन् । सिवाकोटीको अरु पनि व्यापार छ । 

भण्डारी बोल्न नसक्ने भएकाले दोभासेको सहयोगमा उनको बयान लिइएको आज उनलाई सार्वजनिक गर्ने क्रममा प्रहरीले जानकारी दियो । घटनापछि खुकुरीसहित भागेका भण्डारीलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको हो । 

प्रहरीले रिसिबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारीस्थित वीरेन्द्र चोकमा बस्दै आएको बताए । 

उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठोरले बताए । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको राठोरले बताए । 

उनले भने, ‘घटनामा संलग्न व्यक्तिको विवरण जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ९ स्थायी घर भइ काठमाडौं काँडाघारी वीरेन्द्रचोक बस्ने अनिरुद्र भण्डारीको छोरा वर्ष २३ को सञ्जय भण्डारी । केही समयअघि मृतक विशाल राईले चलाएको मोटर साइकलको विषयमा विवाद हुनगइ मृतक विशाल राईले प्रतिवादी सञ्जय भण्डारीलाई कुटपिट गरेकोमा त्यही रिसिभी साँध्नका लागि बारम्बार कुरा गर्ने प्रयास गरेको र भेट नभएको । समिलमा छ भन्ने थाहा पाएर घरभित्र जाँदा घटना भएको देखिन्छ । निज व्यक्ति बोल्न नसक्ने हुनुहुन्छ ।’

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदिभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए । 

भण्डारीले सःमिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले बताए । 

Advertisement