‘कोरोना महामारी र रुस–युक्रेन युद्ध सामना गर्न लिइएको गलत नीतिले अर्थतन्त्र मन्दीमा गयो’

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताएका छन् । 

आईतवार नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा उनले कोरोना महामारी र रुस–युक्रेन युद्धको सामना गर्नको लागि सरकारले हठात रुपमा लिएको नीतिको कारण अर्थतन्त्र र बजार मूल्यमा असर परेको बताए । 

Advertisement

निजी क्षेत्रले बारम्बार सरकारलाई अर्थतन्त्र नियन्त्रण गरी कडा नीति नलिन आग्रह गरे पनि नसुनेको श्रेष्ठले बताए । उनले निजी क्षेत्रको सुझावलाई राज्यले नसुन्दा मूल्यवृद्धि लगायत मुलुकले आर्थिक मन्दी खेप्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

अन्जन श्रेष्ठले अहिले सर्वसाधरण उपभोक्ताहरु मात्रै नभएर व्यवसायीहरु र राज्य पनि पीडामा रहेको बताए । उनले राज्यको राजश्व कम संकलन भएको भन्दै सरकारको साधारण खर्च पनि प्रत्येक महिना ऋण लिएर गर्नुपरेको अवस्था रहेको बताए ।

श्रेष्ठले भने, ‘विगतमा राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको छ । कोभिड र रुस युक्रेन युद्धको सामान गर्नको लागि सरकारले हठात रुपमा लिएको नीतिको कारण समस्या आएको हो । उद्योग वाणिज्य महासंघले बारम्बार सरकारलाई कडा नीति नलिन आग्रह गर्दै कन्ट्रोल अर्थतन्त्रको नीति लिन नहुने भनेका थियौं । त्यो कुरा सुनिएन ।’

उनले थपे, ‘अहिलेको परिस्थिति आयो । अहिले सबै पीडामा छन् । सर्वसाधरण उपभोक्ताहरु मात्रै नभएर व्यवसायीहरु र राज्य पनि पीडामा छ । राज्यको राजश्व कम भएको सबैलाई जानकारी नै छ । सरकारको साधरण खर्च पनि प्रत्येक महिना ऋण लिएर गर्नुपरेको अवस्था छ । यो विगतमा लिएको गलत नीतिको कारणले नै भएको छ । उपभोक्ता हक हितको लागि सरकार जहिले पनि चनाखो हुनुपर्छ । मुलुकको आन्तरिक कारणले पनि उपभोक्ताहरुले महँगीको मार खेप्नुपरेको छ । मुलुकको उत्पादकत्व कम छ । उत्पादन बढाउने कुरामा कमी कमजोरीहरु छन् ।’

उपभोक्ता हक हितको लागि सरकार जहिले पनि चनाखो हुनुपर्ने आवश्यकता रहेको श्रेष्ठको भनाई छ । उनले मुलुकको आन्तरिक कारणले पनि उपभोक्ताहरुले महँगीको मार खेप्नुपरेको भन्दै मुलुकको उत्पादकत्व बढाउन सरकार लाग्नु अहिलेको आवश्यकता रहेको बताए ।

Advertisement

Advertisement