अखाद्य वस्तु बेच्ने टिपटप मिठाई पसललाई दुई लाख जरिवाना

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ । 

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

Advertisement

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए । 

अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।   

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।  उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।

महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।

Advertisement

Advertisement