काठमाडौं महानगरभित्रका शिक्षकहरु पढाउन छोडेर आन्दोलनमा गएको दिनको तलब कट्टा हुने

शिक्षक आन्दोलनका कारण दोस्रो दिन पनि राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Advertisement

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा दोस्रो दिन आज बिहीबार पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् ।

शिक्षक आन्दोलनका कारण राजधानी काठमाडौंका ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । हजारौं यात्रुले सास्ती भोग्नुपरेको छ । नयाँ बानेश्वरदेखि माइतीघरसम्मको मुल सडक सबै अवरुद्ध गर्दै भएको विरोध प्रदर्शनका कारण गाडीहरु विकल्प खोज्ने क्रममा साना सडक र गल्लीहरुतर्फ लाग्दा लामो ट्राफिक जाम भएको छ ।  

Advertisement

नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरुलाई काठमाडौंमा ल्याएर आन्दोलन सुरु गरिएको हो । महासंघमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुनिकट शिक्षकहरुको संगठन आवद्ध छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै महासंघले शिक्षकहरुलाई आन्दोलनमा उतारेको हो । 

शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक (सरकारी) विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । 

सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।  उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् । 

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय शिक्षा स्थानीय तहको अधिकारको विषय भएको र यसको कानुन आफूहरुले बनाउन पाउनुपर्ने बताउँदै बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुनेगरी विद्यालय बन्द गरेर आन्दोलनमा नजाने महानगरभित्रका विद्यालयका शिक्षकहरुलाई निर्देशन दिएका छन् । 

महानगरपालिकाले यसरी आन्दोलनमा जाने शिक्षकहरुको हाजिरीमा रातो लगाउने र हाजिरी नभएको दिनको तलब कट्टा गर्ने तयारी गरेको छ । महानगरलाई चुनौति दिँदै बुधबार राजधानीका केही सामुदायिक विद्यालयका प्रमुखले आन्दोलनमा जाने विज्ञप्ति जारी गरेका थिए । 

Advertisement