सरकारको ध्यान गरिवी निवारण, विकास र समृद्धितिर छैन्ः ओली

Advertisement

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताएका छन् । शुक्रवार आफ्नो पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागको कार्यक्रममा उनले सरकारको ध्यान आर्थिक विकासतर्फ नरहेको बताएका हुन् । 

आर्थिकभन्दा पनि राजनीतिक टिप्पणीमा बढी समय खर्चिएका ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरे । उनले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गरे । 

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको तर्क गर्दै ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको दोहोर्याए । 

फागुन १ गते माओवादी विद्रोहको शुरु भएको दिनलाई सार्वजनिक विदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने उल्टो बाटो लिएको बताए । ओलीले सरकारले ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए । 

उनले भने, ‘सरकारलाई राम्रो कामको निम्ति बाध्य पार्नुपर्छ या त सत्ता परिवर्तन गर्न सक्नुपर्छ । ‘हिंसा फैल्याउनका लागि गौरवगाथा दिवस मनाइन्छ । अनि सरकारको ध्यान कता छ भन्ने कुरा नि । मैले त्यसबेला यो नगर्नुस् भने । तर उहाँहरुको साँठगाँठ अर्कातिर भईसकेको हुनाले प्रचण्डजीले मलाइ जवाफ दिनुभयो–शेरबहादुर जीसँग मेरो कुरा भइसकेको छ । म यो गर्छु । उहाँ एउटा अठोटमा पुगिसक्नुभएको थियो । नगर्नुस् भन्ने मेरो कुरो हो । म फेरि पनि नगर्नुस् भन्छु, जसले गरे पनि । तपाइँ यो शान्ति प्रक्रिया टुंगोमा पुर्याउन खोज्दै हुनुहुन्छ, हिंसालाई राष्ट्रिय दिवसको रुपमा बिदा मनाएर । तपाइँ आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ । हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ । र, शान्ति प्रक्रिया टुंगो लगाउँदै हुनुहुन्छ ।’ 

ओलीले थपे, ‘हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र ? एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? मैले यो प्रसंग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ ? यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ? थिएन । सरकारले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गरिराखेको छ । अपराधी जेलमा बस्नु पर्दैन । प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ । प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ । एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ । दवाव दिएर चलायो भने फिर्ता लिन्छ । राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्वीकार्नु हुन्छ । अब यो स्थितिमा अब राज्यको यो ग्रयाजुएशन, विकास, गरिवी निवारणलगायतका कुराहरुमा राज्यको ध्यानै छैन ।’

Advertisement

Advertisement