जलहरी प्रकरणमा अख्तियारले मुद्दा चलाए पशुपति मन्दिरभित्र आत्महत्या गर्ने सदस्य सचिवको घोषणा

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलन थापाले जलहरी प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाए पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने सार्वजनिकरुपमा घोषणा गरेका छन् ।

पशुपतिनाथ मन्दिर भित्र जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाउने निर्णय गरेपछि थापाले मन्दिरभित्रै आत्महत्या गर्ने चेतावनी दिएका हुन्। यसअघि संसदीय समितिको कार्यक्रममा रुँदै उनले जलहरी प्रकरणमा कुनै भ्रष्टाचार नगरेको भन्दै आफ्नो सामाजिक प्रतिष्ठामा आँच पुगेको बताएका थिए । 

Advertisement

उनले न्याय नपाए मन्दिर परिसरभित्रै आत्महत्या गर्ने लिखित घोषणा गरेका छन् । साथै, थापाले आत्महत्या गर्नुपर्ने अवस्था आए त्यसमा जिम्मेवारको नामावली पनि सार्वजनिक गर्ने बताएका छन् । 

श्रीमानको उक्त घोषणापछि थापाकी श्रीमती सुमित्रा थापाले राष्ट्रिय मानव अधिकार आयोगमा श्रीमानको ज्यान जोखिममा परेको भन्दै बचाइदिन आग्रहसहितको निवेदन दिएकी छन् ।

निवेदनमा उनले भनेकी छन्, ‘मेरो परिवारको ज्यान सुरक्षा गरी मानव अधिकारको रक्षा गरी पाऊँ । श्रीमानले कुनै गल्ती नगरे पनि अख्तियारले मुद्दा चलाउने धम्की दिएर सामाजिक मर्यादामा आँच पुर्याउन खोजेको छ । श्रीमानले आत्महत्या गर्ने कुरा गर्न थालेकाले जिउज्यानको सुरक्षा मागेकी हुँ ।’

जलहरीमा अख्तियारले १० असार २०८० मा जोख्ने र सुनको शुद्धता परीक्षण गर्दा राष्ट्र बैंकबाट खरिद गरिएअनुसारको तौल र शुद्धता पुगेको तर हाल बयान लिँदाका प्रश्नमा सुन हराएकाले किन कारबाही नगर्ने भन्दै मानसिक रुपमा तनाव दिन थालेको सदस्यसचिव थापाको आरोप छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले पशुपतिमा सुनको जलहरी राख्ने भन्दै रकम विनियोजन गरिएपछि कोषले समेत रकम थप गरेर जलहरी राखिएको थियो । महालेखापरीक्षकको कार्यालयले जलहरीमा भ्रष्टाचार भएको औंल्याएपछि अख्तियारसहितको टोलीले जलहरी निकालेर जोख्ने काम गरेको थियो । त्यसरी जोख्दा तौलमा सामान्य फरक देखिएको भनिए पनि अहिले अख्तियारले भ्रष्टाचार भएको दावीसहित मुद्दा चलाउने निर्णय गर्नु अर्थपूर्ण देखिन्छ । 

Advertisement

Advertisement