फ्युचर बोनस प्रोभिजनिङमा कडाई गरिने

बैंकले निक्षेपको ब्याजदर घटाउँदैमा बीमा कम्पनीले बोनस दर घटाउन पाउँदैनन्ः पौडेल

Advertisement

काठमाडौं । बैंकहरुमा निक्षेपको ब्याजदर घट्बढ हुँदा त्यसको असर बीमा क्षेत्रमा देखिने गर्छ । पछिल्लो समय बैंकहरुबाट ब्याज आम्दानी कम हुन थालेसँगै त्यसको धक्का बीमा कम्पनीहरुको बोनस दरमा पर्ने अवस्था आएको नेपाल बीमा प्राधिकरणले स्वीकार गरेको छ । 

कर्पोरेट नेपालसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘बोनस दर कुनै पनि बेलामा बढ्न पनि सक्छ । कुनै बेलामा घटन पनि सक्छ । तर, हामीले बीमा कम्पनीहरुलाई बीमितलाई मर्का पर्ने गरी बोनस दर नघटाउनु भनेर निर्देशन दिइसकेका छौं । बोनस दर यस्तो चिज हो जसको आधारमा मात्रै बीमामा नागरिकलाई लोभ्याउन मिल्दैन भने अत्याधिक रुपमा बोनस घटाएर बीमितहरुलाई मार पनि पार्न मिल्दैन ।’

Advertisement

उनले अहिले बैंकको ब्याजदर विगतको तुलनामा घटेको र सोही कारण बीमा कम्पनीहरुको आम्दानीमा समेत असर पर्ने अवस्था आएको बताए । बीमा कम्पनीहरुको संकलित प्रिमियम रकमको करिब ८० प्रतिशत बैंकहरुको मुद्दती निक्षेप (एफडी)मा रहेको भन्दै पौडेलले आर्थिक मन्दीलाई मात्रै देखाएर बोनस घटाउने तिरभन्दा पनि सकेसम्म फ्युचर बोनस प्रोभिजनिङमार्फत सही समायोजन गर्नतर्फ लाग्नुपर्ने बताए ।
 
अहिले पनि बीमा कम्पनीहरुले अधिकतम् बोनस दर देखाएर बीमा गराउने तथा बीमा गराएपछि बीमितले पाउने बोनस दरमा भने फेरबदल आउने गरेको देखिन्छ । प्रवक्ता पौडेलले थपे, ‘बोनस भनेको मन लागे बढाउने वा घटाउने कुरा होइन् । तर, बोनसलाई प्रभाव पर्ने गरि बीमा कम्पनीहरुले अन्य क्रियाकलाप गर्न मिल्दैन् । नगर्नु भन्ने हाम्रो भनाई छ । त्यही भएर त न्यूनतम् दरबाट बोनस कहिल्यै तल नजाओस भनेर यत्रो फ्युचर बोनस प्रोभिजनङ लागू गरेको हो ।’

उनले अहिलेको अवस्थामा बीमा कम्पनीहरुको लगानीको आधारमा नै बोनस दर तय गर्नसक्ने बताए । पौडेलले बजारको उतारचढावले बोनस दर घटबढ हुने भए पनि बीमा कम्पनीहरुले आफ्नो लगानीलाई हेर्नुपर्ने बताए । उनले पूराना तथा ठूला बीमा कम्पनीहरुको बोनस नै यसपालि घट्ने सम्भावना देखिएको र त्यसको कारण फ्युचर बोनस प्रोभिजनिङ नभई बीमा कम्पनीहरुले गरेको लगानी र उनीहरुको आम्दानीमा पनि मुख्य रुपमा भर पर्ने बताए । 

पौडेले भने, ‘ब्याजदर केही हदसम्म घट्ला तर ब्याजदर पूरै डाउन त हुन्न नि । बीमाको बोनस पनि घटबढ भए पनि स्वाट्टै तल आउनु भएन् । बजार बिग्रिने किसिमले चाहिँ तल नआओस् भन्ने हाम्रो पनि चासोको विषय हो ।’

यता, अधिकांश जीवन बीमा कम्पनीका अभिकर्ताहरु भने बीमितलाई सर्वाधिक बोनस दरको आधारमा मार्केटिङ गरिरहेका छन् भने बीमितले पनि जुनसुकै बीमा गरे पनि मोटो रकम बोनस पाउने आशा गर्दै आएका छन् ।

Advertisement