बीमांकका लागि हत्या हुन थालेसँगै झस्किए कम्पनीहरु, ‘स्विटाविलिटि टेस्ट’ गर्छौंः प्राधिकरण

Advertisement

काठमाडौं । पछिल्लो समय फेरि बीमा गरेवापत पाइने अन्तिम लाभ (बीमांक) हात पार्नका लागि हत्यासम्मका अपराधिक क्रियाकलाप बढ्न थालेपछि जीवन बीमा कम्पनीहरु झस्किएका छन् । 

जीवन बीमक संघले यस विषयमा चिन्ता व्यक्त गरेको छ । यता नेपाल बीमा प्राधिकरणले भने यस्ता आपराधिक गतिविधि कम गर्न दण्डसजाय बढाउने जवाफ दिएको छ । 

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले भने, ‘बीमामा फेरि अपराध बढ्नु दुःखदायी कुरा हो । बीमा मानिसको जीवनको असल साथी हो । तर जनचेतनाको कमी र आपराधिक मानसिकताले बीमाको दुरुपयोग बढेको हुनसक्छ ।’ 

बीमामा ‘स्विटाविलिटि टेस्ट’ हुने र त्यसले कुन बीमा कस्को लागि उपयुक्त हुन्छ ? भन्ने कुरा पत्ता लाग्ने बताउँदै उनले यस्तो परीक्षणतर्फ सबैको ध्यान जान जरुरी रहेको खाँचो औंल्याए । पौडेलले बीमाको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि बीमा कम्पनीहरुले आवश्यकताको सिद्धान्तका आधारमा नै बीमा गर्ने भएकाले नेपालमा पनि बीमा गर्दा गराउँदा बीमितको आवश्यकतालाई केन्द्रमा राखेर बीमा गराउनुपर्ने बताए । 

उनले अपराधीलाई कडा कारबाही गर्ने र गलत गर्दा दण्डित हुनुपर्छ भन्ने सन्देश पनि जाने माहौल सम्बन्धित निकायहरुले बनाउन जरुरी रहेको बताए । अध्यक्ष पौडेलले बीमा गरिब र धनी दुवैको साथी भएकाले यसको परिभाषामा कुनै त्रुटी नरहेको तर बीमालाई नियतबस अपराधिक मनसाय भएका केही व्यक्तिले बदनाम गराउने गरेको गुनासो गरे । 

प्राधिकरका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुको चिन्ता जायज भएको बताए । उनले उनले भने, ‘बीमामा अपराधिक कुरा फेरि जोडिन थालेको पछिल्लो समय हामीले पनि देखेका छौं । पैसाकै लागि आफ्नै एकाघर परिवारको हत्या होस् वा कसैको हत्या होस्, दण्डनीय कुरा हो । त्यो रोकिनुपर्छ ।’ 

बीमा रकम हात पार्न हुने जुनसुकै अपराधमा बीमा क्षेत्रबाट भएका गडबढी वा कमजोरी हो भने प्राधिकरणले हेर्नृे बताउँदै उनले अपराधलाई प्रहरीले हेर्ने प्रावधान रहेको बताए । बीमा गर्दा गराउँदा अभिकर्तादेखि सीईओसम्मले धेरै कुरामा ध्यान पुर्याउनुपर्ने अवस्था रहेको पौडेलको भनाई छ । 

उनले थपे, ‘दण्डसजायको कुरा पनि बेला बेला उठ्ने गर्छ । बीमामा जालसाँजी गरेमा ठूलै दण्डको व्यवस्था गर्नुपर्छ । बीमितको वास्तविक अवस्था ‘स्विटाविलिटि टेस्ट’ पनि गर्न जरुरी छ । अब त्यो टेस्ट गर्ने कुरालाई पनि कडाईका साथ लागू गर्नुपर्छ भन्ने प्राधिकरणको सोच छ ।’ पौडेलले बीमामा जोडिएका अपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने विषयमा चाँडै नै प्राधिकरणले सबै सरोकारवालसँग रायसुझाव लिने र छलफल गर्ने बताए । 

बीमांक रकमका लागि रौतहटमा बाल बीमा गरेका एक बालिकाको हत्या, हेटौंडामा दम्पत्ति बीमा गरिएकोमा आफ्नै घरकी बुहारी सुस्मिताको हत्या, जीवन बीमा गरेका साजन विकको हत्यालगायत घटनाले जीवन बीमा कम्पनीहरु झस्किएका हुन् । 

Advertisement

Advertisement