त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ बोर्डिङ  कक्षमा न कुर्सी, न क्यान्टिन, पर्यटकलाई सास्ती

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुको बिचली भएको छ ।  लुक्लाको मौसम खराबीका कारण उडान नहुँदा ती पर्यटकहरु विमानस्थलमा लामो समय प्रतिक्षा गर्नुपरे पनि बस्ने कुर्सी नहुँदा थप सास्ती भोग्नुपरेको हो । 

लुक्ला विमानस्थलबाट सगरमाथा आधार शिविर र आइसल्याण्ड पिक आरोहणका लागि आफ्नो ग्राहकलाई लिएर विमानस्थल पुगे पनि बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुले निकै असहज महशुस गरेको र त्यस आफूले समेत नमज्जा लागेको ट्रेकिङ गाइड रामकाजी तिवारीले बताए । उनले यो अवस्था मुलुकको लागि पनि राम्रो नभएको भन्दै यसले विदेशी पर्यटकमा नराम्रो प्रभाव पर्ने बताए ।  

Advertisement

तिवारीले भने, ‘विमानस्थलमा बोडिङ गर्नुअघि अगाडीको ठाउँमा बस्ने ठाउँ नै छैन् । यात्रुहरुलाई बस्ने ठाउँ भइदिए स्वदेशी विदेशी यात्रुहरुलाई सहज हुन्थ्यो । हिजो (सोमबार) लुक्लाको सबै उडान डिले भयो । भएपछि डेढ–दुई सय यात्रुहरु पखाइमा थिए । तर त्यहाँ बस्ने ठाउँ थिएन । ठाउँ नहुँदा कोही पर्यटक बुइमै पनि बस्यो । कोही उभ्भिएर बस्यो ।’ 

बोडिङ लिएर प्रवेश गरेपछि भित्र बस्ने ठाउँ भए पनि बाहिर नहुँदा यात्रुहरुले आन्तरिक टर्मिनलमा सास्ती खेप्नुपर्ने बाध्यता छ । त्यस्तो बस्ने ठाउँको व्यवस्था गर्न कन्जुस्याइँ गरेकोमा आफूलाई आश्चर्य लागेको बताउँदै तिवारीले आफूसँग आएका पर्यटक बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्म उभ्भिएर प्रतिक्षा गर्नुपरेको बताए । 

उनले थपे, ‘बस्ने ठाउँ त छैन छैन् । खाना खानलाई क्यान्टिन पनि छैन् । यसरी विदेशी पर्यटकहरुलाई असहज भए कसरी नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन् ?
अहिले सिजन सुरु भएसँगै लुक्ला विमानस्थलबाट सगरमाथा आधार शिविर, गोक्योलगायत विभिन्न गन्तव्यमा जाने पर्यटकहरुको चहलपहल धेरै छ । पर्यटकहरु राम्रो संख्यामा आएका छन् । तर देशको अवस्था यस्तो छ ।’ 

Advertisement

Advertisement