निजी क्षेत्रको हिमालय एयरलाइन्स १८ अर्ब घाटामा, सरकारको नीति मुख्य कारक

Advertisement

काठमाडौं । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय उड्डयन सेवा हिमालय एयरलाइन्स १८ अर्ब घाटामा गएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको यो एयरलाइन्स नेपालको अनुदार नीति र अन्य परिस्थितिका कारण १८ अर्ब घाटा व्यहोर्नुपरेको कम्पनी उच्च स्रोतले बतायो ।

सन् २०१४ देखि सञ्चालनमा रहेको हिमालय एयरलाइन्सले विशेषगरी हवाई इन्धनमा रहेको चर्को मूल्य घाटाको कारण भएको बताएको छ । अरु मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य झण्डै दोब्बर नै बढी रहेको र अन्य सञ्चालन खर्च र शुल्कहरु पनि बढी हुँदा आफूहरुको घाटा बढ्दै गएको कम्पनीको भनाई छ । 

Advertisement

बीचमा कोरोना महामारीका कारण व्यवसायमा केही असर परेको थियो । यद्यपि चीनको समेत लगानी रहेकोले प्रतिष्ठाका लागि उडान कायम राख्दै सेवा प्रवाहमा कुनै कमी हुन नदिई स्तरीय सेवा प्रदान गर्दै आएको कम्पनी स्रोतको भनाई छ । नेपालमा लगानी गरेर व्यवसाय गर्दा अर्बौं घाटा भए पनि नेपालको सरकार र सम्वन्धित निकायले अहिलेसम्म कुनै बोलाएर के समस्या छ ? के सहयोग गर्नुपर्छ ? भनेर नसोधेको कम्पनीको गुनासो छ । 

पर्यटक आगमन खासै बढ्न नसक्दा लेवर मार्केटबाहेक अन्य गन्तव्यहरुमा उडान विस्तार गर्न खासै नसकेको हिमालय एयरलाइन्सले नयाँ दिल्ली उडानका लागि निकै पहल गरे पनि चिनियाँ लगानी भएकाले कारण अहिलेसम्म इण्डियाको उड्डयन निकायले अहिलेसम्म अनुमति दिएको छैन् । कम्पनीले अहिले चार वटा जहाज ( तीन एयरबस ३२०–२१४ र एउटा एयरबस ३१९–११५) रहेका छन् ) हरुमार्फत विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । 

हिमालयन एयरलाइन्समा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी र नेपाली साझेदारका रूपमा यती वल्र्ड इन्भेस्टमेन्ट प्रा.लि.को लगानी रहेको छ । उसले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देश– संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । 

Advertisement

Advertisement