ईः र काठमाडौं महानगरबीच चार बुँदे सहमति, के के छन् सहमतिमा ?

Advertisement

काठमाडौं । फुटपाथ व्यवसायीको पक्षमा उभ्भिएर धर्ना दिँदै आएका ईः र काठमाडौं महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ । विगत नौ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर धर्ना दिएका ईःसँगलाई आफ्नो धर्ना टुंग्याउन महानगरले सम्झौता गरिदिएको हो । 
 
बुधबार अपराह्न ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच भएको वार्तापछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार, फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले पहल गर्ने फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने ईःले आफ्नो धर्ना टुंग्याउने जस्ता सहमति भएको छ ।

‘अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थल उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थाको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव’ दिने गरी अध्ययन समिति बनाउने कुरा पनि भएको छ । 

Advertisement

समितिमा महानगरपालिकाले तोकेका ३ जना, अभियानकर्ता ईः का तर्फबाट दुई प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एक–एक जना प्रतिनिधि रहने छन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार अपराह्न मात्रै ७ बुँदे स्ट्याटस लेख्दै ईः ले उठाएका माग पूरा गर्ने अधिकार आफूसँग नभएको बताउँदै ईःलाई प्रयोजन गर्ने काम नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले गरेको संकेत गरेका थिए । 

सहमति पत्रमा काठमाडौं महानगरबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन र मेयरका सचिवालयका धिरज जोशी र अभियानकर्ताका तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् । सहमति जुटेपछि बुधबार राति साढे ९ बजे ईः ले धर्ना स्थगित भएको घोषणा गरे ।

undefined

Advertisement

Advertisement