आर्थिक मन्दीको चरम असर बियर, चुरोट, मदिरा उद्योगमा: माग घटेपछि उत्पादन पनि बन्द

Advertisement

काठमाडौं। आर्थिक मन्दीको चरम असर सुर्तीजन्य वस्तु, मदिरा र बियर उद्योगमा देखिएको छ । बजारमा माग नै घटेपछि कतिपय उद्योगहरुले उत्पादन गर्न छाडेका छन् ।

आन्तरिक राजश्व विभागले गरेको अध्ययनमा अधिकांश उद्योगहरु माग घटेको कारण देखाउँदै बन्द गरिएका छन् । मदिरा, वियर र सुर्तिको बजार खस्किएपछि सरकारले अन्तःशुल्क शीर्षकमा प्राप्त गर्ने राजश्वमा समेत भारी गिरावट भएको छ । 

Advertisement

गएको भदौमा अन्तःशुल्क शीर्षकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतको गिरावट देखिएको छ । एकै पटक धेरै गिरावट देखिएपछि विभागले कर असुली घट्नुको कारण खोजी सुरु गरेको थियो । 

गतवर्ष दशैं भदौमा परेको र यो वर्ष कार्तिकमा परेको कारण राजश्वमा असर देखिएको हुनसक्ने विभागमा अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख टंकप्रसाद पाण्डेयले बताए । उनले कर्पोरेट नेपालसँग भने, ‘गत वर्षको भदौको तुलनामा चालु वर्षको भदौमा अन्तःशुल्क निकै कम असुल भएको छ । राजश्व घट्नुको कारण अझै अनुसन्धान गरिरहेका छौं ।’

विभागले गरेको अध्ययनमा अधिकांश यस्ता उद्योगहरुले व्यापार नै खस्किएको बताएका छन् । पाण्डेयले थपे, ‘अधिकांश उद्योगको व्यापार घटेको छ । धेरै उद्योगले माग घटेको कारण उद्योग नै बन्द गरेको पनि पाइयो । यो पटक दशैं कार्तिकमा परेकोले पनि कम राजश्व उठेको हुनसक्छ ।’

विभागको तथ्यांक अनुसार सुर्तिजन्य पदार्थमा गत बर्ष भदौमा दुई अर्ब ८३ करोड राजश्व संकलन भएकोमा अहिले भदौमा दुई अर्ब चार करोड मात्रै संकलन भएको छ । यो गत बर्षको तुलनामा २८ प्रतिशतले कम हो । यस्तै मदिरा शीर्षकमा गत बर्ष एक अर्ब ९० करोड राजश्व उठेकोमा अहिले एक अर्ब सात करोड मात्रै असुल भएको छ । यो गत वर्षको तुलनामा ४३.६८ प्रतिशतले कम हो । पछिल्लो समय मदिराको बजार स्ट्रोङ वियरले खोसिरहेको छ । 

यसैगरी, वियरको अन्तःशुल्क स्टिकर बिक्रीबाट गत बर्ष तीन अर्ब १९ करोड राजश्व उठेकोमा अहिले भदौमा एक अर्ब ९३ अर्ब मात्रै संकलन भएको छ । यो गत बर्षको तुलनामा ३९.५० प्रतिशतले कम हो ।

उत्पादन क्षेत्रमा १.२० प्रतिशतले कमी आएको छ । यो शीर्षकमा गत बर्ष भदौमा एक अर्ब ६७ करोड राजश्व असुल भएकोमा अहिले भदौमा एक अर्ब ६५ करोड संकलन भएको छ । गतवर्षको भदौमा अन्तःशुल्क नौ अर्ब ५९ करोड संकलन भएको थियो । अहिलेको भदौमा छ अर्ब ६९ करोड संकलन भएको छ । सरकारले मदिरा चुरोट र सुर्तिजन्य उत्पादनमा एकोहोरो कर बढाउँदा समग्र वस्तुको खपत चक्रमै असर गरेको छ । 

Advertisement

Advertisement