अब नेपाल विकसित देश बन्छ !

Advertisement

कुमार दाहाल
विश्वका सबैभन्दा मूर्ख मतदाता नेपालमा छन् जसले देश लिलाम गर्ने भ्रष्टाचार घुसपैठ गर्ने नेतालाई  भोट दिन्छन् । – युरोपियन टाइम्स

प्रजातन्त्रको अर्को नाम मूर्ख जनतालाई शासन गर्ने प्रणाली हो । जनता मूर्ख भएनन् भने प्रजातन्त्रको अस्तित्व समाप्त हुन्छ । हामीलाई गरिवी, असमानता, बेरोजगारमाथिको राजनीतिले मूर्ख बनायो । विकसित देशहरुलाई समानता, मानवता र स्वतंत्रताको पक्षपाती राजनीतिले मूर्ख बनायो। आखिरमा संसारका जनता समान हुन् । कोही पनि सज्जन देखिँदैनन् । सज्जनले गर्ने विषय राजनीति नै होइन् । त्यही राजनीति हो, जसले अनेक वाद र  सिद्धान्तमा जनतामाथि शासन गर्छ । ती सबै शासनहरुलाई जनमुखी वा प्रजातान्त्रिक मानिन्छ । अब प्रजातन्त्रको युग सकिएको छ । मान्छे व्यक्तिगत स्वतन्त्रताको चरम उत्कर्षमा छ । चाहे त्यो गरिब देशको होस् वा धनी देशको किन नहोस्। 

Advertisement

आयातित प्रजातन्त्रको राजनीतिले हामी जनता मूर्ख भएका हौं । तर त्योभन्दा पटमूर्ख ती नेताहरु हुन् जसले राजनीतिको नाममा जनताहरुलाई मूर्ख बनाए र बनाउँदैछन् । संसारका मान्छेलाई थाहा छ नेपाली सज्जन छन् । इमान्दार छन् । जो नेपालबाट  घुमेर फर्केका छन्, उनीहरु नेपालीपन बिर्सन सक्दैनन् । राजनीति र नेताकै कारण नेपालमा गरिबी छ भन्ने कुरा लगभग संसारको राजनीतिक नेतृत्व र  जानकार राख्ने  शुभेच्छुकलाई थाहा छ ।   नेपाली जनता मूर्ख छैनन्, यसमाथि शासन गर्ने नेतृत्वको प्रवृत्ति खराब छ भन्ने थाहा पाउने  एकपटक नेपाल आउन चाहन्छन्। अहिले रामारोशनमा पर्यटकको घुइँचो लागेको छ । हजारौं चिनियाँ पर्यटकहरु नेपाल हेर्न उत्सुक छन् ।आउँदैछन् । यो नेपालको राजनीतिले गरेको उत्साह होइन् । त्यसैले अब नेपालको रुप फेरिने निश्चित छ ।

पर्यटन क्षेत्रमा ठूलो उत्साह सम्भावना बढेको छ । अब नेपालजस्ता सोझो र अविकसित देशहरुमा प्रकृति र प्राकृतिक मनोरञ्जनकालागि थुप्रै पर्यटक नेपाल आउँछन् । व्यक्तिगत स्वतन्त्रताको चरम उत्कर्षको विकृतिले विकसित देशलाई लगभग निलिसकेको छ ।अब नेपाल जस्ता देशहरूको  पर्यटन सम्भावना उच्च छ । यसमा कुनै नेता, स्वदेशी, विदेशी कर्मचारीहरुको, हात  छैन। उनीहरुलाई लाग्ला हाम्रो प्रयासले यो भएको हो । तर यो भ्रम हो । यो सम्भावना बढ्नुमा विदेशमा रहेका  नेपालीहरूको उच्च राष्ट्रियता ,नेपालप्रतिको सकरात्मक धारणा, चिन्तन र नेपाल भित्रका केही गरौं भन्नेहरुको उत्साह हो ।  क्रिकेट खेलले नेपाललाई विश्वमै चिनाउँदै छ।  यस क्षेत्रमा राजनीति र नीति उत्प्रेरक र सहज छैन । किनकि यहाँभित्र पनि राजनीति पेशा गर्नेहरूको ठूलो प्रभाव  छ । नेपाली जनताको मेहनत ,इमान्दारिता, सोझोपन र बिर्सिएका गाउँघरहरुले नै अब देशको रुप फेर्ने छन् । यो निश्चित छ ।

हाम्रो राजनीतिलाई व्यंग्यमा हेर्ने संसारमा थुप्रै छन्।  नेताहरुलाई मन नपराए पनि हाम्रा युवाहरु देशलाई  माया गर्छन्। तर उनीहरू बिदेसिन बाध्य छन्। चीनमा १९औं एसियाली खेलकुदमा ४०००० अंग्रेजी बोल्ने स्वयंसेवी खटाएको छ । उनीहरु क्याम्ब्रिज, हार्वर्ड जस्ता विश्वविद्यालयबाट पढेर फर्केका छन् । सरकारले पढ्न पठाउँछ। फर्केर आफ्नै देशमा सेवा गर्छन् । उनीहरूको अनुहारमा देशप्रतिको माया हाम्रा विदेशमा रहेका युवाहरूको जस्तै छ। हाम्रा युवाहरु देशभित्रको भ्रष्टाचार, कमिसनतन्त्र,  खराब राजनीति, बेरोजगारी देखेर  वाक्क छन् । अहिले जताततै यो विषयमा खुलेर पारदर्शी चर्चा हुँदैछ। ठूला भनाउँदाहरु जनतामा गनाइसकेका छन् । अकर्मण्य प्रशासकहरुको मूल्यांकन नजिकैबाट जनताले गरेकै छन् । अब बिस्तारै हामी परिवर्तनतिर जाँदैछौं । युवाहरु  विदेशबाट सचेतना, कर्म गर्ने जाँगर र प्रविधि लिएर फर्कँदैछन् । यो हाम्रो देशको मात्र समस्या होइन ।गरिबीबाट उठेका इण्डोनेसिया, भियतनाम, दक्षिण कोरिया जस्ता देशहरुमा पनि यही अवस्थाबाट देश माथि उठेको हो । त्यसैले अब हाम्रो देश अविकसितबाट विकसिततिर जानै निश्चित छ ।
 
राष्ट्रिय एकताको प्रतिक राष्ट्रियता हो । जबसम्म राष्ट्रियतालाई राष्ट्रिय एकता मान्ने नेता जन्मिँदैन, स्वदेशी र बिदेशी चलखेल यहाँ भैरहन्छ । यसैमा रमाउने राजनीति र नेतृत्वले नेपाललाई विकसित बन्न दिँदैनन् । हामीले  पूराना राजनीति र नेतृत्वलाई विश्वास गर्न छोडिसक्यौं । नयाँ नेतृत्वको भरोसा अबको अन्तर्राष्ट्रिय राजनीतिमा गर्न पनि गाह्रो छ ।तर देश विकसित हुने निश्चित छ । दुईवटा ठूला महाशक्ति र बजारको बीचमा हाम्रो देश विकसित नहुने सम्भावना नै छैन । यो समयको माग भइसकेको छ । तर यो विकास विश्वका जनताले मन पराएको सोझोपन नेपालीपनमा रहन्छ कि रहँदैन ? यो ठूलो चिन्ताको विषय हो ।

लेखकको फेसबुकबाट साभार ।

Advertisement