अर्थतन्त्रले बिस्तारै लय पक्रिदैछ, शेयर बजारमा पनि सुधार आउँछः अर्थमन्त्री

Advertisement

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् । 

चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’

Advertisement

‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भने, ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । शेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ ।’

‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भने, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे । उनले भने, ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो ।’

मन्त्री डा. महतले भने, ‘नकरात्मक माहोल ज्यादा छ, यो नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिन्छ । गालीका भाषा बिक्छन् । सकारात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन् ।’

‘यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ, समय चाहिन्छ र निरन्तर काम गरिराख्नुपर्छ । आजको भोलि नतिजा आउँदैन’ मन्त्री डा. महतले भने, ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ, गर्न कठिन छ । त्यसकारण सकारात्मक कुरा बिकाउन गाह्रो छ ।’

Advertisement

Advertisement