बैंकको चर्को ब्याज तिर्न नसक्दा पोखराका करिब एक सय होटल बन्द हुने स्थितिमा

Advertisement

काठमाडौं । कोरोना महामारीको मारबाट माथि उठ्न नपाउँदै पोखराका होटलहरुमा अहिले आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ । 

स्थानीय होटल व्यवसायीका अनुसार व्यवसाय हुन नसकेको बेला बैंकको चर्को ब्याजदरका कारण धेरै होटलहरु बन्द हुने अवस्थामा पुगेको छ । पोखरामा लामो समयदेखि होटल संचालन गर्दै आएका एक होटल व्यवसायीले पोखरामा अहिले सिजन सुरु भए पनि पर्यटकहरुको आगमन र चहलपहल निकै कम रहेका र व्यवसाय गर्न निकै गाह्रो भएको बताए । 

Advertisement

होटल व्यवसायी अशोक तुलाचनले भने, ‘यो महिनाभित्र बैंकको ब्याज तिर्न नसके करिब एक सय वटा होटलहरु बन्द हुने स्थितिमा छन् । त्यसले गर्दा अहिले पोखरामा होटलको रुमहरु पनि थोरै मूल्यमा दिनुपर्ने अवस्था आएको छ । सस्तो मूल्यमा दिन प्रतिस्पर्धा भइरहेको छ । पोखरामा होटलहरु अहिले एक्दम समस्यामा छ बैंकको किस्ता तिर्न नसकेर ।’

पोखरामा अहिले भारतीय पर्यटकहरु केही देखिए पनि अरु पर्यटक निकै कम रहेको बताए । तुलाचनले सिजनको बेलामा पर्यटकहरुको चहलपहल राम्रो भएको भए होटल व्यवसायीलाई बैंकको ऋण तिर्न समस्या हुने थिएन् भन्दै थपे, ‘पोखरामा न पर्यटक छ । न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । त्यही विमानस्थल बन्ने भएपछि पोखरामा होटल र अरु पर्यटन व्यवसायमा निजी क्षेत्रको ठूलो लगानी भयो । अहिले परिणाम सोचेजस्तो नहुँदा त्यो लगानी जोखिममा परेको छ । त्यसमाथि बैंकको ब्याजदर निकै चर्को भएपछि हामीले कसरी व्यवसाय गर्ने ?’ 

होटल संघ नेपाल (हान)का पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदीले सञ्चालन खर्च धान्न नसक्दा धेरै पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए । 

उनले भने, ‘हरेक तीन–तीन महिनामा बैंकको क्लोजिङ हुन्छ । असर मसान्तको किस्ता बल्ल तिरियो । असोज मसान्तको तिर्नसक्ने अवस्थामा व्यवसाही छैनन् । पैंतिस प्रतिशत होटल व्यवसायीले व्यवसाय छोडिसकेको अवस्था छ । अझै पनि सरकारले केही नीति ल्याएन भने धेरै व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था छ ।’ 

सुवेदीले अहिलेको मुख्य सिजनमा पर्यटकको ७०–८० प्रतिशत बुकिङ आउनुपर्नेमा जम्मा १५–२० प्रतिशत आएको सुनाए । पर्यटक सुनसान नै नरहेको बताउँदै उनले भारतीय र तेस्रो मुलुकका पर्यटक अलिअलि देखिने बताए ।  

सुवेदीले काठमाडौं आएका पर्यटक पनि सडकको अवस्था राम्रो नहुँदा पोखरा आउन नसकेको बताए । जहाजबाट पोखरा आउन पनि गाह्रो मानेको जस्तो देखिने र स्थलमार्गबाट आउन बाटो राम्रो नहुँदा अपेक्षाभन्दा निकै कम पर्यटक पोखरा पुग्ने गरेका छन् । सुवेदीले भने, ‘अन्तर्राष्ट्रय उडानहरु भइदिए पर्यटकहरु भित्रिने थियो । अहिले विमानस्थल मात्र भयो । उडान भएन् । त्यस कुरामा सरकार मुकदर्शक छ ।’ 

Advertisement

Advertisement