नेताको सवारीको नाममा जनतालाई सास्ती दिनुभन्दा दमकलमा हिँड्नुस्ः हरिवंश आचार्य

Advertisement

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नेताहरुले जनतालाई सास्ती दिनेकुरा अन्त्य हुनुपर्ने बताएका छन् । 

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहमा उनले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै सवारीलाई ठूलो दर्जा दिइएको बताए । 

Advertisement

सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान आचार्यले सल्लाह दिए । उनले भने, ‘कहिले काहीँ यस्तो लाग्छ कि अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ । हाम्रो देशमा ठूला ठूला मान्छेहरुले सवारी रे । सवारी पहिला पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो । तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ । त्यसलाई त्यति ठूलो दर्जा दिइएको छ कि कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ, बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ । भित्रभित्रै रिस उठ्छ । सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा । यसलाई पनि करेक्शन गर्नुपर्छ । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ ।’

आचार्यले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने बताए । उनले राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भएपनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको बताए । आचार्यले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘हामीले ट्राफिक नियमको यति धेरै उल्लंघन गर्छौं र सबैभन्दा नेपालका धेरै रिसाउनुपर्ने पेशा भनेकै ट्राफिक प्रहरी होला । छिनछिनमा सिठी बजाइरहेको छ, उता पनि एउटाले नियम उल्लंघन गर्छ, उता पनि उल्लंघन छ । सबैसँग रिसाउनुपर्ने र टेन्सनमा आउनुपर्ने पेशाहरुप्रति हामीले गौरव गर्नुपर्छ । हामीले उहाँहरुको मनोबल उठाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेछ । काठमाडौं उपत्यकाको सडक भनेको पहिला पाँच वटा हात्ती हिँड्न भनेर बनाएको रे जुद्ध शमशेरले । अहिले दिनको १४ लाख भेकल गुडाउनुपरेको छ । वास्तवमा भन्ने हो भने बाटो नै छैन । काठमाडौंमा आजको १० वर्षपछिको स्थिति के होला ? भयावह स्थिति हुनसक्छ । मान्छेले सबैभन्दा ठूलो प्रगति ग¥यो भने उन्नति गरे भने सुन्दर घर र गाडी किन्ने कल्पना हुन्छ । त्यो दिनहुँ दिन बढ्दै जान्छ । घट्ने सम्भावना छैन । सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख पाउँदैनन् । ट्राफिक जामको त्यत्ति नै ठूलो समस्या विभिन्न देशका शहरमा छन् तर त्यहाँ सबैभन्दा ठूलो आधार भनेको सार्वजनिक यातायात हो । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्छ । तर हाम्रो देशमा सार्वजनिक यातायातमा सरकारको लगानी भनेको एउटा सर्वजनिक बसमा छ । त्यो पनि अर्ध सरकारी हो । त्यो बाहेक यातायातको साधनमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हाम्रो देशमा ट्राफिक स्टेप नै छैन, गाडी रोक्ने ठाउँ नै छैन ।

Advertisement

Advertisement