पर्यटक आगमन कोरोना महामारीअघि कै स्थिति नजिक, तर पर्यटन व्यवसायी छैनन् खुशी

Advertisement

काठमाडौं । नेपालको पर्यटक आगमन कोरोना महामारीअघिको बर्षकै स्थिति नजिक पुगेको छ । सन् २०२३ को पहिलो छ महिनामा छ लाख ९२ हजार २७२ जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । 

यो तथ्यांक सन् २०१९ को तुलनामा ९८.२८ प्रतिशत भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । गएको सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन् । कोरोना महामारी पर्यटक आगमनमा भारी गिरावट भए पनि यो बर्ष भने रिकभरी हुँदै गएको बोर्डको तथ्यांकबाट देखिन्छ । 

Advertisement

गएको सेप्टेम्बर महिनामा भारतबाट २८ हजार ६९४, अमेरिकाबाट सात हजार ३६४, चीनबाट आठ हजार १७४, बङ्गलादेशबाट तीन हजार ७१६, बेलायतबाट तीन हजार ६४०, श्रीलंकाबाट तीन हजार ११, अष्ट्रेलियाबाट तीन हजार ६८५, दक्षिण कोरियाबाट दुई हजार १८, जर्मनीबाट दुई हजार ८५२, इजरायलबाट एक हजार ७३४ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

पर्यटक आगमनमा सुधार हुँदै गए पनि पर्यटन क्षेत्रमा भने उत्साह देखिन्न । धेरै पर्यटन व्यवसायीहरु पलायनको मनस्थितिमा देखिन्छन् । उनीहरुले सडक पूर्वाधार र हवाई सुरक्षाको भरपर्दो व्यवस्था सरकारले गर्न नसक्दा नेपाल आएका पर्यटकसमेत घुम्न नसक्ने अवस्था रहेको बताउँदै पछिल्लो समयमा पर्यटन क्षेत्रमा व्यवसायीहरुको खर्बौं लगानी भएअनुसार पर्यटक आगमन हुननसक्दा लगानी जोखिममा परेको बताउने गरेका छन् । 

अहिले पर्यटक धेरै आउने सिजन भए पनि पर्यटकीय क्षेत्र सौराहा, पोखरा, लुम्बिनीमा खासै पर्यटकको चहलपहल देखिन्न ।  

Advertisement

Advertisement