प्राधिकरणले ‘टेक–ओभर’को तयारी गरेसँगै बीमा संस्थानका प्रशासकको जागिर पनि धरापमा

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको जोखिमभार बढेसँगै नियामक नेपाल बीमा प्राधिकरणले ‘टेक–ओभर’ (नियन्त्रण)को तयारी गरेपछि संस्थानका प्रशासक कविप्रसाद पाठकको जागिर पनि धरापमा परेको छ । 

संस्थानको सम्पत्तिभन्दा दायित्व बढेर आर्थिक अवस्था नाजुक भएकाले संस्थानलाई ‘टेक–ओभर’ गर्न लागिएको प्राधिकरणको भनाई छ । प्राधिकरणले संस्थानको व्यवस्थापन नियन्त्रणमा लिएर सुधारका कार्यक्रमहरु अघि बढाउने तयारी गरेसँगै पाठकको जागिर पनि जोखिममा परेको हो । उनले संस्थानको लामो समयदेखिको लेखापरीक्षण सम्पन्न गर्नेदेखि संस्थान सुधारका लागि खासै राम्रो काम गर्न नसके पनि दोहोर्याएर राजनीतिक नियुक्ति लिन सफल भएका थिए । 

Advertisement

संस्थानको सम्पत्तिभन्दा दायित्व बढेर सुरक्षण सन्तुलन गुमाउने अवस्था आएको, बोनस दर १०–१२ भन्दा दिननसक्ने अवस्थामा समेत ६० दिइरहेको, जग्गा तथा भवनसमेत आफ्नो हुन नसकेको, कर्मचारीलाई तलब भत्ता दिननसक्ने अवस्था आएको, पुँजी वृद्धि गर्ननसकेको, कुन बैंकमा आफ्नो कति पैसा छ ? भन्ने कुरा समेत यकिन नभएको, बेरुजु र अनियमितता निकै धेरै रहेको, व्यवसाय निकै सुस्त रहेको जस्ता कारण संस्थानलाई ‘टेक–ओभर’ गर्न लागेको प्राधिकरण स्रोतको भनाई छ । 
 
प्राधिकरणका एक निर्देशकले कर्पोरेट नेपाललाई दिएको जानकारीअनुसार बीमा संस्थानको अवस्था निकै भयावह बनेको अवस्थामा प्राधिकरणले लिइसकेपछि संस्थानका प्रशासक रहने भन्ने कुरा रहँदैन् । उनले भने, ‘राष्ट्रिय बीमा संस्थानको अवस्था त निकै क्रोनिक बनिसकेको छ । यस्तो अवस्थामा उचित कदम चालिएन्, सुधारका लागि उचित रणनीति लिइएन भने संस्थान के होला ? संस्थान सुधारका लागि कदम चाल्दा एक जना व्यक्तिको जागिर जोगाइदिने भन्ने कुरा हुँदैन् । अर्थ मन्त्रालयले पनि एकजना व्यक्तिलाई तलब खुलाएर राख भन्दैन भन्ने लाग्छ । आफूले पनि मन्त्रालयमा तलब खुलाएर राख्ला भन्ने लाग्दैन् ।’ 

प्राधिकरणले नियन्त्रणमा लिइसकेपछि नयाँ टिमबाट संस्थानको सञ्चालन र व्यवस्थापन हुने बताउँदै स्रोतले बैंक धरासायी हुँदा नेपाल राष्ट्र बैंकले नियन्त्रण गरेजस्तै बीमा कम्पनी धरासायी हुँदा प्राधिकरणले नियन्त्रण लिने हो भन्यो । संस्थान सुधारको कदममा अर्थ मन्त्रालय बाधक नभई सहजकर्ता नै हुने उनको विश्वास छ । प्राधिकरणले संस्थानलाई ‘टेक–ओभर’ गर्न लागेको समाचारपछि संस्थानका कर्मचारीहरुमा अन्योल र चिन्ता बढेर गएको छ । यस्तोमा कर्मचारीहरुको जागिर नजाने तर जनशक्ति व्यवस्थापन पुर्नसंरचना भने हुने प्राधिकरणले जनाएको छ । स्रोतको भनाई छ, ‘संस्थान खारेज हुन लागेको होइन्, ‘टेक–ओभर’ गरेर सुधार गर्न लागेको हो । संस्थानको आर्थिक अवस्थामा सुधार गरेर यसलाई बलियो बनाउने हो । यसमा सबैको सहयोग चाहिन्छ ।’ 

Advertisement